यूकेबाट नेपाल फर्किन चाहने ३९१ को विवरण सरकारलाई पठाइयो

Spread the love

लन्डन । नेपाल फर्किन जरुरी अवस्थामा रहेका बेलायतस्थित झन्डै ४ सय नेपालीको विवरण नेपाल सरकारलाई पठाइएको छ ।

लकडाउनका कारण बेलायतमै रोकिएका र नेपाल फर्किनपर्ने अवस्था रहेको भन्दै लन्डनस्थित नेपाली दूतावासमा नाम दर्ता गरेका ३ सय ९१ जनाको विवरण सोमबार काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।

दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार बेलायतबाट नेपाल फर्किन चाहनेहरुको सूचीमा सबैभन्दा बढी १ सय ५४ जना भिसा सकिएका वा यही महिना सकिन लागेकाहरु छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

त्यस्तै, रोजगारी गुमाएर बिचल्लीमा परेका ९६ जना तथा विधार्थीहरु ५० जना छन् । नेपाल फर्किन खोज्ने विधार्थीमा केही अध्ययन पूरा गरिसकेका तर लकडाउनले रोकिएका छन् भने कतिपय अध्ययन पूरा नहुँदै फर्किन चाहने छन् ।

सूचीमा तालिमको लागि आएका नेपाली सेनाका ५ अधिकृत र परीक्षाका लागि आएका २१ जना डाक्टर पनि छन् ।

त्यसैगरी, अत्यावश्यक कामको लागि नेपाल जानुपर्ने कारण देखाएका बेलायतमै बस्ने विभिन्न ६५ जनाको नाम पनि सूचीमा छ ।

दूतावासले रोजगारी गुमाएर बिचल्लीमा परेका माल्टाका ५ जना र केम्यान आइल्यान्डका ५६ जनाको नाम पनि सरकारलाई पठाइएको जनाएको छ ।

महामारीका बेला विदेशमा अलपत्र नागरिकलाई स्वदेश फर्काउने नेपाल सरकारको नीतिअनुसार लन्डनस्थित दूतावासले नेपाल फर्किन जरूरी हुनेहरुलाई आफ्नो विवरण बुझाउन आव्हान गरेको थियो ।

दूतावासमा विवरण बुझाएका र विभिन्न अवस्थाले प्राथमिकतामा परेकाहरुको नाम सरकारलाई पठाइएको प्रवक्ता आरनले बताए ।

तर सूचीमा हुनेहरुको लागि कहिलेसम्म स्वदेश फर्किने उडान व्यवस्था होला भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको उनी बताउंछन् । यसका लागि नेपाल सरकारकै निर्णय पर्खिनुपर्ने उनको भनाइ छ । – नेपाली लिङ्क

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *