रुकुम घटनामा थप सातजना पक्राउ, गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय टोलीको अनुसन्धान जारी

Spread the love

रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न थप सातजनालाई बिहीबार पक्राउ गरिएको छ । योसँगै पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।

घटनाको अनुसन्धानका लागि थप सातजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसीले बताए । ‘घटनाको अनुसन्धानका क्रममा थप सातजनाको नाम छोडिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ डिएसपी केसीले भने । बिहीबार पक्राउ पर्नेमा सोती गाउँकै ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन रहेका छन् । उनीहरूलाई गाउँबाटै पक्राउ गरिएको हो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

गैरदलित समुदायकी प्रेमिकालाई भगाएर बिहे गर्न गएका जाजरकोटाका नवराज विकसहित १८ जनालाई १० जेठमा स्थानीय बासिन्दाले कुटपिट गरेका थिए । ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि १८ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार अदालतबाट म्याद पनि थपिएको छ । जिल्ला प्रहरी कार्यालयले ११ दिनको म्याद मागेपछि अदालतले १० दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले बताए ।

मृतकका परिवारले २० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । उनीहरूमध्ये चौरजहारी– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरिएको छ भने दुईजना फरार रहेका छन् । पहिलोपटक थप गरिएको १० दिनको म्याद सकिएपछि घटनाको थप अनुसन्धान आवश्यक रहेकाले दोस्रोपटक म्याद थपका लागि अदालतसमक्ष माग गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी केसीले बताए ।

घटनामा जाजरकोटको भेरी नगरपालिका– ४ रानागाउँका नवराज विकसहित सञ्जु विक, लोकेन्द्र सुनार, गणेश बुढामगर, टीकाराम नेपाली र गोविन्द शाहीको मृत्यु भएको थियो । उनीहरूको शव भेरी नदीमा फेला परेको थियो । पीडित परिवारले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् भने पीडिक पक्षले उनीहरूले भाग्ने क्रममा भेरी नदीमा हाम फालेको दाबी गर्दै आएका छन् ।

यस घटनाका विभिन्न स्तरबाट अनुसन्धान भइरहेको छ । रुकुम पश्चिम र कालिकोट प्रहरीको टोलीसँगै प्रदेश प्रहरीको टोली पनि अनुसन्धान खटिएको छ । त्यस्तै, गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय टोलीले पनि अनुसन्धान गरिरहेको छ । मनीष खड्काले नयाँ पत्रिकामा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *