नेपालले बनाएको सडक भारतले भत्कायो

Spread the love

काठमाडौं । वीरगन्ज–ठोरी हुलाकी सडकखण्डअन्तर्गत पर्साको ठोरीस्थित ठुटेखोलामा निर्माण सम्पन्न भएको ठुटेखोला पुललाई वर्षौंदेखि भारतीय पक्षले सञ्चालनमा अवरोध गर्दै नियन्त्रणमा राख्दै आएको छ ।

करिब तीन वर्षअघि निर्माण सम्पन्न भए पनि भारततर्फ सिँचाइका लागि पानी लैजान बनाइएको कुलोमा अवरोध हुने भएपछि भारतीय पक्षले अवरोध गर्दै आइरहेको हो ।
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पिल्लर रहेको स्थानबाट दशगजा छाडेर करिब ५० मिटरपर नेपाली भूमिमै पुल निर्माण गरिएको छ । तर, वर्षौंदेखि भारतीय पक्षले सो स्थानमा कुलोकै निहुँमा कब्जा जमाउँदै आइरहेको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

सो पुल स्थानीय जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सञ्चालनमा ल्याइएको थियो । सो पुलले ठोरी गाउँपालिकाका वडा नम्बर १ र २ लाई ३ सँग जोड्छ ।

ठोरी गाउँपालिका–२ का वडाध्यक्ष किशोर तामाङले पुल मात्र नभएर पुलभन्दा करिब सय मिटरमाथि रहेको पानीको बाँधसमेत वर्षौंदेखि भारतीय पक्षकै कब्जामा रहेको बताए ।
‘हामीले धेरै लामो विवादपछि बल्लतल्ल पुल बनायौं । अहिले निर्माण सकिएको तीन वर्षपछि पुल सञ्चालन गर्न खोज्दा भारतीय पक्षले आएर बाटो भत्काए । पुल मात्रै होइन, पुलभन्दा सय मिटरमाथि रहेको पानीको बाँधसमेत भारतीय पक्षकै कब्जामा छ,’ ठोरी २ का वडाध्यक्ष तामाङले राजधानीसँग भने ।

उनका अनुसार बिहीबार साँझ भारतबाट हतियारसहित बर्दीमा नेपाली भूमि छिरेका भारतीय सुरक्षाकर्मीले पुल सञ्चालनमा अवरोध गरेका हुन् । उनीहरूले भारतीय नागरिकलाई नै सो सडक भत्काउन ल्याएका थिए ।

तामाङले भने, ‘हामी ठोरीवासी त भारतीयसँग प्रतिकारमा उत्रँदै आएका छौं, तर राज्य पक्षले नै साथ दिएन । हामी उनीहरूसँग प्रतिवाद गर्छाैं । हाम्रो जिल्लाको प्रशासनिक नेतृत्व बोल्दैन ।’

ठोरी–३ का वडाध्यक्ष सूर्य लामाले कुनै हालतमा भारतीय पक्षको दादागिरीलाई ठोरीवासीले नसहने बताए । ‘हाम्रो प्रशासनिक नेतृत्व हाम्रो पक्षमा नहुनु दुःखद छ, वर्षौंदेखि बनाएको पुल हामीले नै सञ्चालन ग¥यौं, उनीहरूको अवरोध आउँदा समेत हाम्रो प्रशासनिक नेतृत्व आउँदैन । योभन्दा दुःखद कुरा के होला ?’ लामाले भने ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की भने सो विषयलाई सामान्य भन्दै पन्छिन खोजे । स्थानीय तहले नै सो विषयमा समन्वयको काम गरिरहेको भन्दै उनी यसबारे बोल्न चाहेनन् ।

‘सामान्य विषय हो, स्थानीय तहमा नै समन्वयको काम भइरहेको छ । समन्वय हुन्छ, भइरहेको छ,’ पर्साका प्रमुख जिल्ला अधिकारी कार्कीले भने ।

तर, वडा–३ का अध्यक्ष लामाले भने प्रमुख जिल्ला अधिकारीबाट कुनै पनि समन्वयको काम अघि नबढेको जनाए । हुलाकी सडकअन्तर्गत पर्ने सो सडकमा पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले पुल सञ्चालनका लागि भारतीय पक्षले प्रयोग गर्दै आइरहेको एउटा कुलो गत बुधबार पुरेको थियो । माथिको आदेश भन्दै भारतीय पक्षले बिहीबार सडक भत्काएर कुलो बनाउन खोजेको थियो ।

ठोरीका स्थानीयले त्यसको प्रतिवाद गरेपछि उनीहरू साँझपख फर्किएका थिए । स्थानीय युवा प्रकाश खनालका अनुसार भारतीयहरू फर्किएपछि भारतीयले भत्काएको सडक नेपाली पक्षले पुनः पुरेको थियो ।

जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुरप्रसाद न्यौपानेका अनुसार तीनवटामध्ये दुइटा कुलोमा कल्भर्ट बनाएर पुल सञ्चालन गर्ने निर्णय स्थानीय जनप्रतिनिधि र अगुवाहरूबीच भएको थियो । गत १४ जेठमा उनीहरूले निर्णय कायान्र्वयन गर्दै एउटा कुलो पुरेर पुल सञ्चालनमा ल्याएका थिए ।

हुलाकी सडकअन्र्तगत पर्ने ठुटेखोलामा अमर एन्ड मृत सञ्जीवनी कम्पनीले ६ करोड ९७ लाख २१ हजार रुपैयाँमा ४ वटा स्पान रहेको १ सय २ मिटर लामो र ७ दशमलव २ मिटर चौडाइको पुल निर्माण गरेको थियो ।

के हो त कुलो विवाद ?

ठुटेखोला पुलको पूर्वतर्फ बग्ने तीनवटा कुलामध्ये दुइटा कुला भारतीय पक्षले वर्षांैदेखि सिँचाइका लागि प्रयोग गर्दै आइरहेको छ । त्यसका लागि भारतीय पक्षले नेपाली भूमिमा बग्ने ठुटेखोलामा अस्थायी बाँध बनाएको छ ।

पुल सञ्चालनमा ल्याउन कि त कुलो पुर्नुपर्ने हुन्छ कि त कल्भर्ट बनाउनुपर्छ । तर, भारतीय पक्षले कुलो पुरेर एप्रोच सडक बनाउन नदिने अडान राख्दै आएको छ । दुवै पक्ष आ–आफ्नो अडानमा रहेकाले पुल सञ्चालनमा आउन सकेको छैन । तर, स्थानीय जनप्रतिनिधिले भने एउटा कुलोमा कल्भर्ट राखेर भारततर्फ पानी लैजान दिने र पुलसमेत सञ्चालन गर्ने गरी सहमति गरेका थिए ।

पुल सञ्चालनमा नआउँदा वर्षायाममा ठोरीका बासिन्दा जोखिम मोलेरै सवारीसाधन चलाउन बाध्य छन् । वर्षायाममा आउने बाढीले जिल्ला सदरमुकाम वीरगन्जसँगको सडक सम्पर्कसमेत टुट्ने गरेको छ । महेश्वर गौतमले राजधानीमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *