एनआरएनए अध्यक्ष गैरेले विज्ञप्ति निकालेको दुई दिनमै उनकै कम्पनीबाट निकालिएका नेपाली सडकमा भेटिए

Spread the love

नमस्ते नेपाली, लिस्बन । सडकमा नेपाली छन् र छैनन् भन्ने जुहारी चलिरहेको बेला विगत २५ दिनदेखि सडकमा वास बस्दै आएका एकजना नेपाली युवकले नेपाल पठाउन वा समाजमा जिउने वातावरण मिलाइदिन सहयोगको याचना गरेका छन् ।

‘कुलतमा फसेका एक दुईबाहेक कोही नेपाली सडकमा छैनन्’ भन्ने गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेको विज्ञप्ति जारी भएको दुई दिनमै उनकै कम्पनीबाट दिनदहादै कामबाट निकालिएका व्यक्ति सडकबाट हारगुहार गरेका छन् । यद्यपि उनी गैरेको कम्पनीबाट निकालिएको घटना २०१७ जुलाई महिनाको थियो ।

‘आजै एनआरएनए अध्यक्ष गैरेलाई फोन गरेको थिएँ, उहाँले पछि सहयोग गर्छौ भन्नु भयो । सडकमा जिन्दगी बिताउदा कत्ति गाह्रो छ, कहिले हो सहयोग गर्नु हुने ?’ उनले प्रश्न गरे र वास्तविकता बताए ‘त्यसपछि तपाईहरु भेटिनुभयो केही आशा पलाएको छ ।’

नेपालमा श्रीमती अर्कैसँग भागेपछिको तनावमा उनलाई मादक पदार्थ सेवनको लत बसेको छ । १३ वर्षका छोरा र ११ वर्षीया छोरी गाउँमा छन्, युरोपमा लाखौं कमाउने सपना साँचेका उनले बच्चाबच्चीलाई घर खर्च पनि पठाउन नसकेपछि तनावमा छन् । उनले रक्सी पिउने वा इमान्दारीपूर्वक काम गर्न नसके नेपाल फर्कन कुनै गुनासो नगर्ने बाचा गरेका छन् ।

सन २०१५ को मार्चमा पोर्तुगल आइपुगेका उनको अझैसम्म रेजिडेन्स कार्ड हात परेको छैन । उनको गत फेब्रुअरी ५ तारिखका दिन रेजिडेन्सका लागि फिङ्गर भइसकेको छ । सडकको वास हुँदा सबै कागजातसहितको झोला पनि हराएका छन् ।

३८ वर्षीय ती युवकले पोर्तुगलका चारवटा नेपाली कृषि कम्पनीमा काम गरेको कथा बताएका छन् । उनले एक साइबरमा ८०० युरो तिरेर सामाजिक सुरक्षा नम्बर निकालेका थिए । एक नेपाली रेष्टुरेन्टमा काम गरेका उनलाई खाना र बस्नबाहेक पैसा नपाएको गुनासा पनि गरेका छन् ।

‘तस्करहरुले नानाभाँतीका प्रलोभन देखाउछन्, १२-१५ लाख चड्काएर पोर्तुगल छिराउछन् । छिरेकै दिनदेखि अलपत्र हुन शुरु हुन्छ । तर शुरुवाती दिनमा थप ऋण गरेरै भए पनि सडकमा पुग्न जोगिनु बाध्यता हो ।’ व्यवसायी धन शेर्पाले भने, ‘भाषा कमजोर हुने, लिङ्क नहुने र धैर्यता नहुनेहरुले धेरै हन्डर र ठक्कर खानुपर्छ पोर्तुगलमा ।’

योगेन्द्रमिलन छन्त्याल, भगवान गिरीलगायतका पत्रकारहरु र शेर्पाको सहयोगमा आज इमिग्रान्त कार्यालयबाट उनका कागजातको प्रतिलिपि निकालिएको छ । हाललाई पत्रकार र समाजसेवीहरुको सरसल्लाहमा होस्टलमा सुत्न र खानाका लागि व्यवस्था मिलाइएको छ ।

उनको व्यवस्थापनमा लागेका पत्रकार र समाजसेवीहरुले उनलाई कोठा र कामका लागि सहयोग गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अनुरोध गरेका छन् । कामकोठाको व्यवस्थापन नहुञ्जेल खान बस्नका लागि सहयोग गर्न इच्छुकले सम्पर्क गर्न सक्नुहुनेछ ।

अर्का एकजना नेपाली युवकलेसमेत गैरेले विज्ञप्ति जारी गरेको २४ घण्टा बित्न नपाउदै नेपाल फर्काइदिन अनुरोध गरेका थिए । उनलाई नेपाल फर्काउन आवश्यक पहल भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *