‘छोराछोरीले कमाए आफैँ रमाए, बुढाबुढीको व्यथा कसलाई के थाहा ?’

Spread the love

बुढेशकालको सहारा सामाजिक सुरक्षा भत्ता

गुल्मी : मुठ्ठीभरि पैसा । हर्षले खुलेका ओठ । औँलामा थुक लगाउँदै पैसा गन्न व्यस्त इस्मा गाउँपालिका-२ की मनी दमाईं । गाउँमै सामाजिक सुरक्षा भत्ता बुझेपछि निकै खुसी थिइन् । नयाँ पत्रिकाकर्मीले सोधे, ‘बजै थोरै दिएर ? उनी बोलिनन् । तर, तीनपटक गनिन् । पैसा गनेर सकेपछि मैले फेरि सोधेँ, ‘यो पैसा के गर्ने बजै ?’ मनीले जवाफ फर्काइन्, ’औषधिउपचार र खानै ठिक्क हुन्छ बाबु । कमाएर दिने कोही नभएकाले बुढेसकालमा वृद्धाभत्ता नै आफ्नो सहारा भएको छ।’

सामाजिक सुरक्षा भत्ताले कैयन वृद्धवृद्धाको जीविकोपार्जन र सामान्य औषधिपचारमा सहजता प्रदान गरेको छ । कमाइ नहुनेले घर खर्च धानेका छन् । कमाइ हुनेले पनि आफ्नो आवश्यकता पूरा गर्न सामाजिक सुरक्षा भत्ता खर्च गर्छन् । अहिले लकडाउन थपिँदै गएकाले कति विपन्न परिवार समस्यामा परेका छन् । न खाने अन्न न त खर्च गर्ने पैसा । यो अवस्थामा सामाजिक सुरक्षा भत्ताले लक्षित वर्गलाई निकै गुन लगाएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

कुमारी कुँवर ११ वर्षदेखि एकल छन् । श्रीमान् खड्गबहादुर सुन्निने बिमारले बिते । तीन भाइ छोरासहितको परिवार । खानपान र पढाइखर्चले गर्दा कुमारीले कैयन चुनौती खेपिन् । तर, एकल महिला भएकै कारण सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताले ठूलो हिम्मत पलाएको छ । ‘कमाउने घरमुली नभएकै वर्षौं भए, मजदुरी नगरे के खाने,’ उनले भनिन्, ‘चार महिनामा आएको आठ हजारले पनि कति ठूलो काम गर्छ ।’

७० वर्षीया बोमी रेश्मीले पहिलोपटक भत्ता बुझिन् । श्रीमान् हुमबहादुरले भत्ता बुझ्न थालेको दुई वर्ष भयो । अहिले भत्ता बुझ्न दुवैजना सँगै गए । श्रीमान्–श्रीमतीले चार महिनाको १२–१२ हजारका दरले २४ हजार बुझे । हुबहादुरले भर्खरै अल्सरको अप्रेसन गरेका छन् । उनको औषधीमै थुप्रै पैसा आवश्यक पर्छ । त्यसमाथि घरखर्च पनि आफैँले गर्नुपरेकाले बच्ने कुरै थिएन । अहिलेबाट श्रीमतीले पनि भत्ता बुझेकाले केही राहत भएको रेश्मीले बताए । ‘छोरा–छोरीले कमाए आफैँ रमाए बुढाबुढीको व्यथा कसलाई के थाहा,’ उनले भने, ‘भत्ताले गर्दा अरू ऋण खोज्न परेको छैन।’

हस्तिचौरकै ७२ वर्षीय ठानबहादुर सार्कीलाई सामान्य खर्चका लागि कसैको आस गर्नुपर्दैन । चार महिनामा १२ हजार आउँछ । भत्ताले मासु, घिउ र अन्य खान मन लागेको आफैँ किन्ने र कहिलेकाहीँ सामान्य बिरामी परे ऋण खोज्न वा छोराछोरीसँग माग्न नपर्ने उनले बताए । स्थानीय तहका जनप्रतिनिधि घरमै आएर भत्ता वितरण गर्ने गरेका छन् । ‘सुरुमा रातडाँडाबाट भत्ता बुझ्थ्यौँ,’ उनले भने, ‘अहिले घरघरमै आएर दिन थालेकाले धेरै सजिलो भएको छ।’

सोही स्थानका गिरबहादुर र लालमति परियार पनि घरनजिकैबाट भत्ता बुझ्न पाएपछि खुसी छन् । भत्तासहित गाउँमा अरू काम पनि गर्ने भएकाले घर खर्चसँगै सानोसानो ऋण पनि बुझाउन थालिएको गिरबहादुर परियारले बताए । उनले खाद्यान्न र औषधि पसलमै थुप्रै रकम तिर्नुपर्ने भएकाले एकजनाको भत्ता त्यतै ठिक्क हुने बताए ।

इस्मा गाउँपालिकाले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता दुई चरणमा वितरण गरेको इस्मा गाउँपालिकाका सामाजिक सुरक्षा वितरण समितिका संयोजक विमला खत्रीले जानकारी दिइन् ।

कोरोना संक्रमणकै बीचमा पनि सामाजिक सुरक्षा भत्ताले जीविकोपार्जन गरेका विपन्नको अवस्थालाई मध्यनजर गरेर सामाजिक दूरीलाई समेत ख्याल गरी भत्ता वितरण गरिएको खत्रीले बताइन् । ‘सामाजिक सुरक्षा भत्तासँग मानिसका कैयन संवेदना जोडिएका छन्,’ उनले भनिन्, ‘गाउँमै गएर वितरण गर्दा भत्ता पाउने धेरै खुसी छन् ।’

सरकारले ज्येष्ठ नागरिकका लागि मासिक तीन हजार, दलित ज्येष्ठका लागि दुई हजार, एकल तथा विधवाको लागि दुई हजार, दलित बालबालिकाको लागि चार सय, पूर्णअपांगको लागि तीन हजार र अति अपांगको लागि १६ सयको व्यवस्था गरेको इस्मा गाउँपालिकाका सूचना प्रविधि अधिकृत बाबुलाल थापाले जानकारी दिए ।

उनले गाउँपालिकाका ६ वटै वडामा गरेर १२ सय २७ ज्येष्ठ नागरिक, चार सय २९ ज्येष्ठ दलित, ६ सय २७ विधुवा एकल, ४८ पूर्णअपांग, एक सय १७ आंशिक अपांग र तीन सय ८४ जना दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिए । टाेपलाल अर्यालले नागरिकमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *