नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुग्यो

Spread the love

वीरगन्ज : नेपालमा कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ। बाराका ७० वर्षीय वृद्ध कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनी कोरोनाका कारण मृत्यु हुने चौथो व्यक्ति हुन्।

वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भइ अन्त्येष्टि समेत गरिसकिएका वृद्धको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । बारा जिल्ला करैयामाइ गाउँपालिका ७ घर भएका चौधरी थरका ७० वर्षीय ती वृद्धको पीसीआर रिपोर्ट नआउँदै कलेजले शव परिवारको जिम्मा लगाएर पठाइ दिएपछि आफन्तले शवको अन्तिम दाहसंस्कार भने ४ गते नै गरिसकेका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

मृतक वृद्धको पीसीआर रिपोर्ट आउनुभन्दा पहिले नै शव दाहसंस्कार भइसकेका कारण यहाँको स्थानीय प्रशासन र चिकित्सक तनावमा परेका छन् । नारायणी अस्पतालको प्रयोशगालाबाट रिकन्फमरेसनका लागि काठमाडौं पठाइएको स्वाबको रिपोर्ट पनि सोमबार पोजिटिभ आएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताए।

मेडिकल कलेजबाट प्राप्त स्वाब नमूना नारायणी अस्पतालको प्रयोगशालामा २ पटकसम्म परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएपछि रिर्पोट डिस्पोज गरेनौं ,त्यसैले रिकन्फमरेसनका लागि जेठ ७ मा काठमाडौं पठायौं, उपाध्यायले भने, ‘काठमाडौंको ल्याबमा पनि लगातार २ पटकसम्म पोजिटिभ आएपछि मात्रै सोमबार बिहान रिपोर्ट सार्वजनिक गरेका हौं ।’

दम र निमोनियाबाट ग्रसित ७० वर्षीय वृद्धालाई मेडिकल कलेजको आइसीयुमा जेठ २ गते दिउँसो भर्ना गरिएको थियो । आइसीयुमा राख्नुअघि कोरोनाको आशंकामा उनको स्वाब पीसीआर परीक्षणका लागि मेडिकल कलेजले नै नारायणी अस्पतालको प्रयोगशालामा पठाएको थियो ।

तर, स्वाब परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राती वृद्धको मृत्यु भएको थियो । नारायणीको प्रयोगशालमा २ पटकसम्म परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएको भन्दै कन्फरमेसनका लागि नारायणीले उक्त स्वाब जेठ ७ गते काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पठाएको थियो ।

तर काठमाडौंको रिपोर्ट आउन ढिला भएको भन्दै मेडिकल कलेजले जेठ ४ गते राती शव आफन्तको जिम्मा लगाइ दिएको थियो। शव पठाएपछि मेडिकल कलेजले जेठ ९ गते आइसीयु वार्ड फयुमिगेसन गर्नुपर्ने भन्दै ३ दिनसम्म आइसीयुमा नयाँ बिरामी भर्ना नगर्ने सूचना पनि जारी गरेको थियो ।

आइसीयु वार्डमा वृद्धको मृत्यु भएपछि त्यहाँ भर्ना रहेका करिब २० जना बिरामीलाई मेडिकल कलेजले आइसीयुबाट झिकेर कलेजकै अन्य वार्डमा स्थानान्तरण पनि गरेको थियो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले शंकास्पद बिरामीको पीसीआर रिपोर्ट नआउँदै मेडिकल कलेजले हतार हतारमा शव आफन्तको जिम्मा लगाएर चरम लापरवाही गरेको बताए । उनले भने, ‘रिपोर्ट नआउँदै हतारहतार गरेर शव किन आफन्तको जिम्मा लगाइयो, यो घटना किन लुकाइयो यस विषयमा छानबिन गर्नुपर्ने देखियो, त्यसका लागि छलफल भइरहेको छ।’

मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भइ अन्त्येष्टि समेत भइसकेका वृद्धको रिपोर्ट पोजिटिभ आएपछि मेडिकल कलेजलाइ सिल गर्ने तयारी भइरहेको जानकारी उनले दिए । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले रिपोर्ट पोजिटिभ आएको खबर पाएलगत्तै मेडिकल कलेजमा बाहिरबाट मानिसलाई छिर्न नदिन मातहतका प्रहरीलाई निर्देशन दिइसकेको बताइन् ।

नारायणी अस्पतालका मेसु उपाध्यायले स्वाबको रिपोर्ट नआउँदै मृतकको शव अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाउँदा मेडिकल कलेजले अस्पताललाई कुनै जानकारी नदिएको बताए । यसमा सम्बन्धित कलेजको त्रुटी भएको छ, उनले भने, ‘ मृतक वृद्धको उपचारमा संलग्न मेडिकल कलेजका स्वास्थ्यकर्मी र मृतकका परिवारका सदस्य, अन्त्येष्टिमा संलग्न सबैलाई तत्कालै क्वारेन्टाइनमा राख्न भनिसकेको छु, उनीहरुको स्वाब संकलन गरी परीक्षण गर्ने तयारी गरिरहेका छौं।’

यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एकजना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। क्रान्ति शाहले अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *