१३ देशका ४४ नेपाली पत्रकारहरुका लागि अन्तर्वार्तासम्बन्धी विशेष तालिम सम्पन्न

Spread the love

नमस्ते नेपाली, लिस्बन । विश्वभर विभिन्न १३ देशमा रहेका ४३ पत्रकारहरुका लागि अन्तर्वार्तासम्बन्धी अत्यन्तै लाभदायक तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पोर्तुगल शाखाले आयोजना गरेको ‘अन्तर्वार्ताका लागि आवश्यक टिप्स’ विषयक एकदिने तालिममा सहभागी पत्रकारहरुले तालिम अत्यन्त प्रभावकारी भएको जनाएका हुन् ।

बीबीसी साझा सवालका पूर्व प्रस्तोता एवं तालिमका सहजकर्ता नारायण श्रेष्ठले पत्रकारिताको स्रोत नै अन्तर्वार्ता भएको प्रष्ट्याए । श्रेष्ठले समाजमा छलफल, कुराकानी, वार्ता वा अन्तर्कृया गरेर सत्य तथ्य र विश्वसनीय निष्कर्ष प्रस्तुत गर्नु नै पत्रकारिता भएको बताए । समाजमा प्राप्त हुने अन्तर्वार्ताबाहेककाजस्ता लाग्ने अन्य समाचारका स्रोतहरु पनि अन्तत: अन्तर्वार्ताकै उपज भएको उनको अडान थियो । भैंसी दुहेको जसरी अन्तर्वार्ता दिने मान्छेलाई फकाउदै आफूले चाहेको कुरा लिन जुक्ति लगाउनुपर्ने उपाय सुझाए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

कान्तिपुर टेलिभिजनमा प्रसारण हुने समकोण कार्यक्रमकी प्रस्तोता एवं तालिमका अर्का सहजकर्ता निर्मला शर्माले अन्तर्वार्ता जानुअघि, अन्तर्वार्ता लिदा र सम्पादन गर्दा ध्यान दिनुपर्ने कुराबारे विस्तारमा जानकारी दिएकी थिइन् । विषयवस्तुबारे अध्ययन गर्न, उपकरणको तयारी गर्न, उद्देश्यबारे स्पष्ट हुन र सम्भावित प्रश्नको सूची तयार गर्न पनि शर्माले सुझाव दिइन् ।

एपी वन टेलिभिजनकी समाचारवाचिका, अन्तर्वार्ताकार तथा तालिमका अर्का सहजकर्ता सम थापाले नरम खालका प्रश्नबाट जटिल प्रश्न गर्दै जाने गरेको अनुभव सुनाइन् । पहिरन, बसाइँ अर्थात क्यामेराको कोण, हाउभाउ, विषयवस्तुभन्दा टाढा जान नदिने, आँखा जुधाउनेजस्ता कुराले पनि अन्तर्वार्तामा प्रभाव पार्ने उनको अनुभव रहेको छ ।

तालिमको शुरुवातमा महासंघ केन्द्रका सचिव रेमबहादुर विश्वकर्माले विदेशमा रहेर पनि नेपाली पत्रकारितालाई निरन्तरता दिने साथीहरुलाई यो तालिम उपयोगी हुने शुभेच्छा राखेका थिए । पोर्तुगल शाखाले निरन्तर यस्ता सिर्जनशील र रचनात्मक कार्यक्रमहरुको आयोजना गरिरहेको देख्दा अत्यन्तै खुशी भएको कुरा व्यक्त गर्दै विश्वकर्माले तालिम सफलताको शुभकामना दिएका थिए ।

नेपाल पत्रकार महासंघ कुबेत शाखाका अध्यक्ष हरी कृष्ण न्यौपानेले तालिमबाट धेरै कुरा सिक्ने अवसर मिलेको प्रतिकृया दिएका छन् । पोर्तुगल शाखाका सदस्य भगवान गिरीले पनि तालिम अत्यन्तै प्रभावकारी भएको बताएका छन् ।

कार्यक्रममा पोर्तुगलका १६ जना, नेपालबाट १० जना, कुबेतबाट पाँचजना, स्पेन, बेल्जियम, पोल्यान्डबाट दुई-दुईजना, नेदरल्यान्डस, साइप्रस, जर्मनी, जापान, अमेरिका, फ्रान्स र दक्षिण कोरियाबाट एक-एकजनाको सहभागिता रहेको थियो ।

तालिम जुम एप प्रयोग गरी सञ्चालन गरिएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राखिदिएकोमा महासंघ केन्द्रीय सचिव विश्वकर्मा, सहजीकरण गरिदिएकोमा सहजकर्तात्रय श्रेष्ठ, शर्मा र थापाप्रति आभार प्रकट गर्दै शाखाका संयोजक योगेन्द्रमिलन छन्त्यालले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । तालिमको औपचारिक कार्यक्रमको सञ्चालन शाखाका प्रवक्ता पेम्बागेलु शेर्पाले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *