‘सारा संसार लगाए ताला, गरिबले के खाला ?’

Spread the love

लकडाउनका कारण राजधानीको पर्यटकीय हब ठमेल सुनसान छ । सधैँजसो पर्यटकले भरिभराउ हुने ठमेलका गल्लीहरू यतिवेला खाली छन् । क्युरियो पसल, रेस्टुरेन्ट, पब, डान्स क्लबहरू पनि सबै बन्द छन् ।

ठमेल नर्सिङ चोकमा सारंगी बोकेर बसिरहेका छन् केशवलाल गन्धर्व । पर्यटकलाई सारंगीको धुन सुनाएर परिवार पाल्ने केशवलालको कमाइ लकडाउनका कारण देशझैँ ठप्प छ । ०२८ सालमा काठमाडौं आएका केशवलालले यसअगाडि यति सास्ती कहिल्यै पनि भोग्नुपरेको थिएन ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

भूकम्प र नाकाबन्दीताका पनि ठमेलमा पर्यटक हुन्थे । सारंग रेटिरहेका केशवलाललाई पर्यटकले धेरथोर पैसा दिन्थे र उनको गुजारा चल्थ्यो । लकडाउनका कारण पर्यटकको आवत–जावत त रोकियो नै सडकमा मान्छे पनि निस्कन प्रतिबन्ध लाग्यो । केशवलालले आफ्नो सारंगी धुन सुनाउन पाएनन् । सारंगी रेटिएपछि मात्र घरमा चुलाे बल्ने उनको चुलाे बल्न छाडेको छ ।

पाँचजनाको परिवारसहित गल्कोपाखामा बस्ने ५९ वर्षीय केशवलालको घरमा खाद्यान्न सकिएको छ । घरमा खाद्यान्न सकिएपछि नै उनी सडकमा आएका हुन् । ‘सारंगी सुन्ने कोही भेटियो भने पैसा दिन्छन् कि भनेर आएको,’ केशवलाल भन्छन् ।

लकडाउनको तेस्रो साता केशवलालको कोठामा खाद्यान्न सकियो । त्यसयता उनी दिनहुँ ठमेल आउँछन्, ‘कोही भेटिन्छ कि’ भन्ने आसमा । ‘घरमा गएर सुनाऊँ भने पनि बन्द छ । गेटमा छिर्न दिँदैनन्,’ केशवलाललाई अप्ठ्यारोमाथि अप्ठ्यारो छ । घरमा चामल लिएर जान नसके पनि केशवलाल कहिलेकाहीँ खाना भने लिएर जान्छन् । विपन्न परिवारलाई खाना बाँडिरहेको ठाउँ खोज्दै केशवलाल खाना माग्न जान्छन् ।

‘कति ठाउँमा त खाना घर लग्न दिन्छन्, कति ठाउँमा त त्यहीँ बसेर खानुपर्छ,’ केशवलाल भन्छन् । आफू खाएर घरमा खाना लग्न नपाउँदा केशवलाल झन् दुःखी हुन्छन् । सारंगी धुन सुनाएर रुवाउने केशवलाल आफैँ रुन्छन्, सारंगीको धुनबिनै ।

हरेक दिन ठमेलबाट रित्तै हात घर फर्किनुपर्दा केशवलाल गहुँगो मन लिएर जान्छन् । ‘घर जाँदा, अलिकति चामल लिएर गए बुढी पनि खुसी हुन्थी कि ?’ केशवलाल भन्छन् ।

बाहिर निस्केर मान्छेको सम्पर्कमा आउँदा कोरोना संक्रमण हुन सक्छ भन्ने थाहा छ केशवलाललाई । तर, ज्ञान र जानकारीले मात्र भोक टर्दैन । ‘डर त कसलाई छैन र ? ज्यानको माया कसलाई छैन र ?’ तर केशवलालका लागि यतिवेला ज्यान भन्दा भोक ठूलो हो ।

सारंगी बजाएरै जीवनको उत्तरार्धमा पुगेका केशवलालले कोरोना कहरको पनि गीत बनाएका छन् । समाजका तमाम अप्ठ्यारा, दुःख, सुखलाई गीतमा उतार्ने केशवलाल भन्छन्, ‘हाम्रो त जीवन यस्तै हो ।’

यति भनेर उनी सारंगी रेट्दै गीत गाउन थाल्छन्–

‘सारा संसार लगाए ताला,

काम छैन, गरिबले के खाला ?’

सागर चन्दले नयाँ पत्रिकामा फिचर लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *