गैरे काँग्रेस हाइकमान्डका नेता हुन् कि एनआरएनएका अध्यक्ष ?

Spread the love

योगेन्द्रमिलन छन्त्याल, लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरे एउटा काँग्रेसनिकट खुङ्खार कार्यकर्ताहरुको छलफलमा सहभागी भएको कुरा थाहा भएको छ । उनी एनआरएनएको अधिवेशनताका राजनीतिको जुत्ता खोलेर संस्थामा छिर्ने बाचा गरेका थिए । तर उनी यस्तै गुटबन्दी र राजनीतिक छलफलमा सहभागी हुने गरेका कुराहरुले विवादमा मुछिरहन्छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

पछिल्लो पटक उनी काँग्रेस जनसंपर्क विभागले आयोजना गरेको हाइकमान्डहरुको प्रशिक्षणमा सहभागी भएको पाइएको छ । प्रशिक्षणमा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री प्रकाशशरण महत, जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, देउवापत्नी आरजु देउवालगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा गैरेको सहभागितासँगै उनी भित्र भित्र राजनीतिमा सकृय भएको प्रमाणित भएको छ । विधानअनुसार एनआरएनएमा रहँदा राजनीतिक संलग्नता हुन नहुने कुरा उल्लेख छ । गैरेकाबारे यो प्रावधान आकर्षण हुन्छ वा उनलाई छुट हुन्छ यो एनआरएनएले जान्ने कुरा रह्यो । तर गैरे काँग्रेस हुन् कि एनआरएनएका अध्यक्ष हुन् जवाफ भने दिनुपर्ने छ ।

के गैरे एनआरएनए पोर्तुगलको अध्यक्ष छोडेर राजनीति गर्ने हिम्मत गर्न सक्छन् होला ? नत्रता यहाँका संघ संस्थाका अगुवाहरुले उनको नैतिकतामाथि प्रश्न उठाउने निश्चित छ ।

प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष गोविन्द पौडेलले गैरेको यो प्रव्रिति गलत भएको दावी गरेका छन् । पौडेलले एनआरएनएमा रहँदा राजनीति गर्न नहुने उल्लेख गर्दै हिम्मत भए एनआरएनए छोडेर राजनीति गर्न चुनौति पनि दिएका छन् ।

एनआरएनएको विधानले संस्थाको कुनै पनि पदमा आसिन व्यक्तिले निश्चित राजनीतिक दल, जातिय र धार्मिक संघ संस्थाहरुमा रहन नपाइने भनेर स्पष्ट भनेको छ तर एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरे केही दिन अगाडि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दिइएको अनलाइन प्रशिक्षण बैठकमा काङ्ग्रेस कार्यकर्ताको रुपमा सहभागी भएर एनआरएनए विधानको पूर्ण रुपमा अवमूल्यन गरेका छन् । नेपाली समाज पोर्तुगलका अध्यक्ष सोम शेर्पाले भनेका छन्, ‘अहिलेको तिलक गैरे नेतृत्वको एनआरएनए सबैको साझा संस्था नभएर काङ्ग्रेसको एनआरएन हो भन्ने पुष्टि भएको छ ।’

गैरेको राजनीति मोह देखेर नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलका महासचिव प्रदीप अधिकारीले उदेक र अचम्मको मानेका छन् । अधिकारीको प्रश्न छ : ‘एनआरएनए कुनै वैचारिक वा राजनैतिक संगठनसंग आवद्ध हुँदैन भनेर विचारलाई नै किनारा लगाउने र संगठन बिग्रनुमा राजनैतिक संगठनको हात भन्ने तर अध्यक्ष नै लुसुक्क नेपाली कांग्रेसका सभापति उपस्थित कार्यक्रममा बहस छलफल तथा प्रशिक्षण लिन जाने । जनसम्पर्क समिति पोर्तुगलमा जिम्मेवार व्यक्ति हुँदा हुँदै तपाँईको ऊपस्थिती सांगठनिक आवश्यकता कि तपाईको अवसर लिने योजना हो ? अब उप्रान्त एनआरएनए सदस्यलाई राजनैतिक बहसमा सहभागिता दिने कि उही खोक्रो विधानको विधि पढाईरहने हो ?’

एनआरएनए विशुद्ध सामाजिक संस्था हो भन्दै कुर्लने तर आफ्नै बोलीविपरित गैरेले संस्थाको नियम, पदीय मर्यादा र अनुशासनविपरित एउटा दलको प्रशिक्षणमा सहभागी भइ पदीय उन्मादको पराकाष्ठा प्रदर्शन गरेका छन् । नेपाली एकता समाजका अध्यक्ष गोम सुवेदीले गैरेको यो गतिविधि अत्यन्तै गैरजिम्मेवार, पदीय दुरुपयोग र मनोमानी भएको ठहर गरेका छन् ।

महामारीमा पनि मुकदर्शक बन्यो एनआरएनए पोर्तुगल

कोरोना महामारीका बेला आपतविपत वा समस्यामा परेका नेपालीलाई सहयोग गर्न भनेर पोर्तुगलमा छलफल चल्यो । अलिक समय लगाएरै भए पनि लिस्बनका लागि अवैतनिक वाणिज्यदूतावासको संयोजकत्वमा कोरोना राहत तथा जनचेतना समिति गठन भयो ।

कामलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन समितिले सचिवालय समिति पनि बनाएको छ । त्यस्तै आठवटा उपसमितिहरु पनि गठन भएका छन् । सबैले आ आफ्नो क्षमता अनुसार काम गरेका छन् । सबै उपसमितिको प्रतिवेदन सार्वजनिक हुने नै छ ।

समितिको कोषमा गैरेले एनआरएनएको कोषबाट सक्दो धेरै रकम राख्ने प्रतिवद्धता पनि जाहेर गरेका थिए । एक सुको पनि राहत कोषमा नराख्ने गैरेको बोली उधारो खेर गएको छ । अचम्मैको कुरो के छ भने राहत तथा जनचेतना समितिमा उनले एनआरएनको मात्रै नाम लिने गरेका छन् । विश्व नै महामारीको त्रास र सङ्कटमा फसेको समयमा समेत एनआरएनएको कोषको सदुपयोग नगर्दा एनआरएनएप्रति आक्रोश चुलिदै गएको छ ।

समिति बन्नु अघि गैरे एनआरएनएले चार किलोग्राम चामल, एक किलोग्राम दाल, एक लिटर तेल, एक प्याकेट स्पाघेटी, २४० ग्राम नून (लगभग ६ युरोको) राहत प्याकेज बाँडेर आलोचित बनेको थियो । एनआरएनए पोर्तुगलले राहत वितरण गर्न जारी गरेको जानकारी सूचनामा ‘गोपनियतालाई ध्यानमा राखी सहयोग प्राप्त गर्नुहुने महानुभावहरुको नामावली सावर्जनिक नगरिने जानकारी पनि गराउन चाहन्छौं’ भनिएको छ । तर उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा दर्जनौ युवायुवतिको फोटो सार्वजनिक गरिदिएका छन् । पन्ध्रौ लाख दलाललाई बुझाएर आएका युवायुवतिको फोटो आफन्त र साथीभाइले देखेमा के भन्छन् होला ?

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *