पोर्तुगलमा सकृय सबै पत्रकारहरुद्वारा एनआरएनएलाई बेलैमा सच्चिन आग्रह : द्वन्द्व नबढाउन चेतावनी

Spread the love

नमस्ते नेपाली डट कम, लिस्बन । गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेले पोर्तुगलका लागि राष्ट्रिय समाचार समिति (रासस) प्रतिनिधि भगवान गिरीद्वारा सम्प्रेषित समाचारप्रति अनावश्यक टिप्पणी गर्दै हतारोमा प्रेस विज्ञप्ति निकालेकोमा पोर्तुगलका विभिन्न नेपाली मिडियामा संलग्न पत्रकारहरुले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । एनआरएनएका कुनै पनि पदाधिकारीसँग परामर्श र छलफल नै नगरी गैरेले निकालेको विज्ञप्तिमा सडकमा नेपाली वास बस्ने गरेको कुरा पनि स्वीकारेको उल्लेख छ ।

‘पोर्तुगलमा केही नेपाली आजभोलि पनि सडकमा वास बसिरहेका र उनीहरुको अवस्था नाजुक रहेको समाचारका सम्बन्धमा गैरेले विज्ञप्ति जारी गर्न उपयुक्त थिएन । मुख्यतः सम्पूर्ण समाचार पढ्दै नपढी अनलाइन पत्रकारिताको जमानामा विभिन्न मिडियाहरुमा आ-आफ्नै ढंगले शीर्षक राखी समाचार प्रकाशित र प्रशारित हुँदा कतिपय सन्दर्भमा नकारात्मक बुझाइ रहेको पाइन्छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘यथार्थमा समाचारको गुदी कुरा पोर्चुगलमा केही समयदेखि बढ्दै गएको कुलत, कुसंगतले युवाहरुमा यसका नकारात्मक प्रभाव परेको यथार्थता हो । कतिपय यस्तै कुलत र डिप्रेशन समेतले घरपरिवार र जिम्मेवारीबाट विचलित भइ सडकमै बस्ने, सडकमै खाने गरेको सत्यता सबैले देखेकै कुरा हो । समुदायका यस्ता समस्याहरु देखा परिरहेका छन् र यिनलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विकल्प र सुझावसहितको समाचारले सकारात्मक परिवर्तनको प्रयास गरेको हाम्रो ठहर छ ।’

‘यो समाचारपश्चात यस्ता समस्यालगायत सबै खालका विकृति र विसङ्गतिविरुद्ध निरन्तर कलम चलाउनुपर्ने आवश्यकता झनै बढेको छ । एनआरएनए सबैको संस्था हो भन्ने कुराको ख्यालै नगरी संस्थाको लेटरप्याडको दुरुपयोग गर्दै सत्य समाचारमाथि गरिएको हचुवा खन्डन र प्रहार महङ्गो सावित हुने निश्चित छ । एनआरएनए पोर्तुगल बेलैमा नसच्चिए पत्रकार र एनआरएनएबीच द्वन्द्व बढ्ने देखिन्छ ।’ विज्ञप्तिमार्फत नमस्तेनेपाली डट कमका सम्पादक योगेन्द्रमिलन छन्त्याल, वर्ल्ड नेपाली डट कमका सम्पादक राजकुमार थापा, भ्वाइस अफ नेपाल डट टिभीका सह सम्पादक सुरेश जोशी, खसोखास डट कमका पोर्तुगल सम्पादक हरिकृष्ण पन्थी, पोल्यान्ड नेपाल डट कमका सम्पादक कलश खरेल, रासस पोर्तुगल प्रतिनिधि भगवान गिरी र नेपाल पत्रकार महासंघ प्रस्तावित पोर्तुगल शाखाका प्रवक्ता पेम्बागेलु शेर्पाले चेतावनी दिएका छन् ।

पोर्तुगलमा रहेका सम्पूर्ण संघ संस्थाका पदाधिकारीहरु, व्यापारी, वुद्धिजीवी र दिदीबहिनी तथा दाजुभाइहरुलाई न्यायिक पक्ष र समाजका विकृति एवं विसङ्गतिविरुद्ध आवाज बुलन्द गर्नका लागि विज्ञप्तिमार्फत आव्हान गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *