समाचार प्रकाशन हुनेबित्तिकै पैसा फिर्ता, अर्को काइते विज्ञप्ति कान्ड : ‘गैरेले आफ्नै खुट्टामा बञ्चरो हाने’

Spread the love

योगेन्द्रमिलन छन्त्याल, २७ नोभेम्बर, लिस्बन । नमस्तेनेपालीमा समाचार प्रकाशन भएको २४ घण्टा नबित्दै गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेले पैसा फिर्ता गरेका छन् ।

सातौ अधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिएर तोकिएको समयभित्रै उम्मेदवारी फिर्ता गरेका पेम्बागेलु शेर्पाको ५०० युरो उम्मेदवारी शुल्क गैरेले झन्डै १०० दिनसम्म व्यक्तिगत प्रयोग गरेर मङ्गलबार मात्र फिर्ता गरेका छन् ।

उम्मेदवार शुल्क पनि खाइदियो एनआरएनए पोर्तुगलले : सयौको गुनासो, ‘सदस्यता शुल्क लियो सदस्यता दिएन’ शीर्षकमा मङ्गलबार एक समाचार प्रकाशन भएको थियो ।

पैसा प्राप्त गरेपछि शेर्पाले पैसा एनआरएनएका अध्यक्ष वा कोषाध्यक्षबाट ट्रान्स्फर नभएर अर्कै व्यक्तिको खाताबाट ट्रान्स्फर भएको होला भन्दै संस्थागत व्यवस्थापनबारे प्रश्न उठाएका छन् । ‘तीन महिना प्रयोग गरेर पनि उनले २५ प्रतिशत ह्रास कट्टी गर्दै ३७५ युरो मात्र फिर्ता गरेका छन्’ शेर्पाले नमस्तेनेपालीलाई जानकारी दिए ।

उम्मेदवारी शुल्क फिर्ता पाउनकै लागि पनि समाचार आउनुपर्ने ? नेपाली समाजका प्रमुख सल्लाहकार धन शेर्पाले सामाजिक सञ्जाल फेसबुकमै प्रश्न गरेका छन् ।

संस्था झोलामा, अनावश्यक वक्तव्यबाजीबाहेक केही नगर्ने गैरेको व्यवहारबाट एनआरएनएकै औचित्यतामाथि प्रश्नचिन्ह उठाउनुपर्ने बेला आएको प्रवासी नेपाली एकता मञ्चका डोलराज भण्डारीको ठम्याइ छ ।

काइते विज्ञप्ति कान्ड : ‘गैरेले आफ्नै खुट्टामा बञ्चरो हाने’

गैरेले पोर्तुगलका लागि राष्ट्रिय समाचार प्रतिनिधि भगवान गिरीद्वारा सम्प्रेसित समाचारप्रति अनावश्यक टिप्पणी गरी एनआरएनएको लेटरप्याड दुरुपयोग गर्दै तथाकथित प्रेस विज्ञप्ति निकालेकोमा पोर्तुगलका विभिन्न नेपाली मिडियामा संलग्न पत्रकारहरुले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । अघिल्लै कार्यकालबाट विवादै विवादमा फसेका गैरेले फेरि पत्रकारलाई समाचार लेख्न सिकाएकोमा गम्भीर गल्ती दोहोर्‍याएका छन् । पोर्तुगलमा केही नेपाली आजभोलि पनि सडकमा वास बसिरहेका छन् । एनआरएनएको अध्यक्ष बनेर सामाजिक र संस्थागत अवस्था बुझ्न नसक्ने, राजधानी लिस्बनमा नबसेर व्यक्तिगत काममा लिस्बनबाहिर बस्ने गैरेले चरण चरणमा यस्ता गल्ती दोहोर्‍याउदै आएका छन् ।

उम्मेदवारीको मात्र पैसा फिर्ता सदस्यता नपाएकाको खोइ ?

अधिवेशन पहिले करिब ६० जनाको शुल्क लिएको तर सदस्यता नदिएका गुनासाहरु आएका थिए । यसैगरी अघिल्लो कार्यकालमा कार्यालयमा शुल्कसहित सेवा लिन आएका नयाँ नेपालीहरुलाई एनआरएनएको सदस्यतावापत भन्दै १० युरो असुल गरिएको थियो । करिब १५० जना यस्ता सदस्यता शुल्क बुझाएकाहरुले पनि सदस्यता पाएका छैनन् । तिनीहरुबारे अध्ययन गर्न वा बुझ्न अध्यक्ष गैरेसँग समय छैन ।

‘अझै बैंक खाता नयाँ समितिको हात परेको छैन’

संसारकै नमूना एनआरएनए बनाउने गैरेको भाषण उनकैलागि खिसितिउरीको विषय बन्दै छ । कार्यकाल सम्हालेको १०० दिन पुगुञ्जेल यसअगाडिको समितिबाट बैंक खाता पनि हात परेको छैन । आम्दानी खर्चबारे कार्यसमितिका २७ जना कसैलाई थाहा छैन । गैरेको समितिले बैंक स्टेटमेन्ट पनि हेर्न पाएको छैन । यसको मुख्य कारण बनेका छन् : निवर्तमान महासचिव निराजन सुवेदी । सुवेदी मदेइरामा बस्छन् । खाता सार्नलाई सुवेदी, निवर्तमान अध्यक्ष कुबेर कार्की र निवर्तमान कोषाध्यक्ष कुमार घलानले एकैसाथ समय दिनुपर्ने छ । कार्की र घलानलाई जानकारी दिएर सुवेदी लिस्बन आएमा बैंक खाताको समस्या चाहिं समाधान हुनेछ ।

कुनै कार्यक्रम गर्न पनि सकेको छैन एनआरएनए पोर्तुगलले :

करिब ४१ हजार युरो मौज्दात रहेको आर्थिक प्रतिवेदन पारित गरिए पनि एनआरएनए छिरेकाहरु निवर्तमान अध्यक्ष कार्की, निवर्तमान महासचिव सुवेदी र निवर्तमान कोषाध्यक्ष घलानकै बहानामा कुनै पनि ठोस निर्णय लिन सकेको पनि छैन, काम गर्न सकेको पनि छैन । निर्वाचित भएको नयाँ जोश र उत्साहमा सिर्जनात्मक कार्ययोजना आउँछन् होला, केही भव्य कार्यक्रम घोषणा हुन्छन् होला भन्नु स्वभाविक हो । तर १०० दिनभित्रै ‘खुट्टै हेरेर चाल पाइयो’ उखानसँग ठ्याक्कै मिल्नेगरी गैरेको समिति लगभग अविश्वसनीय बनिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *