महत्वाकांक्षा र अधैर्यताले पोर्तुगल रहेका केही नेपाली युवकको सडकमा वास

Spread the love

भगवान गिरी, रासस, पोर्तुगल । नेपालीहरुको आकर्षक गन्तव्य युरोप र युरोपको पोर्चुगल पुग्नेहरुको संख्या बढेसंगै समस्यामा पर्नेहरु पनि बढिरहेका छन् । पोर्तुगलमा सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट (रातो पासपोर्ट) का कारण पोर्तुगल आकर्षक गन्तव्य बने पनि धेरै नेपालीको बास भने त्यहाँको सडकमा हुने गरेको छ ।

साहुसँग चर्को ब्याजमा ऋण काढेर युरोप आएका नेपाली जागिरकै लागि दिनरात भौतारिनुपर्ने चुनौतीसंगै नेपालबाट बुनेको सपना पूरा गर्नेहरुको जीवन भने कष्टकर नै छ । पछिल्लो समय समस्यै समस्याका कारण नेपाली युवाको वास पोर्तुगलका मुख्य सडक बन्ने गरेको छ । पोर्तुगलमा ३० हजार नेपाली बसोवास गरिरहेको अनुमान छ ।

तर यसप्रति कसैको चासो भने छैन् । सडक जीवन बिताउने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरेको भनाइ छ ।

उहाँका अनुसार गलत सङ्गत र धैर्य गर्न नसक्दा नेपाली युवाको वास सडकमा पुगेको हो । गलत सङ्गत र धैर्य गर्न नसक्दा नेपाली युवाको वास सडकमा पुगेको हो । ‘साथीभाइ पोर्चुगलमा यथार्थ भन्दा धेरै ठूलो सपना बोकेर आउनुहुन्छ वा महत्वाकांक्षी सपना बुन्नु हुन्छ तर त्यस्तो खालको सोचाइ र सपना रातारात पूरा हुने अवस्था छैन, यहाँ मात्र होइन कहींँ गए पनि त्यस्तो हुँदैन । उहाँ भन्नुहुन्छ, “सडकको वास नेपाली समुदायमा निकै जटिल समस्याको रुपमा देखापरेको छ । यसको समाधान चुनौतीको रुपमा देखा पर्न थालेको छ ।”

किन सुत्छन् सडकमा ?

कामका लागि भन्दै नेपालमा साहु महाजनसँग ऋण लिएर पोर्चुगल छिर्नैहरु काम नपाएर छटपटाउनुपर्ने विकराल समस्या पैदा भएको छ । विकृति, गलत सङ्गत, कुलत, महत्वाकांक्षा र अस्वभाविक सपना टुट्ने र फुट्ने हुँदै जीवन सडकको पेटीमा पुग्ने गरेको जानकारहरु बताउँछन् । पोर्तुगलको व्यस्त सडकमा सडक जीवन बिताइरहेका पोखरा र काठमाडौँका दुई युवाले आफ्नो परिचय नखुलाउने सर्तमा आफ्नो पीडा सुनाउनुभयो ।

“सपना ठूलो थियो । तर सपना देख्दादेख्दै सडकमा आइपुगेको पत्तै भएन्”, उनीहरु भन्छन्, “हामी सम्पन्न परिवारमा हुर्के बढेका । तर आज गलत सङ्गत र कुलतकै कारण सडकछापमा परिणत भयौं ।” सडकमै खाने, सडकमै सुत्ने र सडकमै रमाउने उनीहरु नेपाल फर्किने सोचमा भने छैनन् । घर परिवारबाटसमेत साथ पाउन छाडेका उनीहरुले नेपाल गएर पारिवारिक स्नेह र वातावरणमा सुध्रन्छु भन्ने आशा नरहेको गुनासो गर्छन् । मनोविज्ञानका ज्ञाता पनि परिवारले आफ्ना सन्तानको ख्याल नगर्दा कुलतमा फस्ने बताउँछन् । कुलत, डिप्रेसन अस्वथ्य र बैराग भएर सडक जीवन बिताउने नेपालीलाई उद्धार गर्नुपर्नेमा मनोविज्ञानका जानकार राज क्षेत्रीको भनाइ छ ।

सरोकारवाला उत्तिकै अग्रसर

सडक जीवन बिताइरहेका नेपालीप्रति नेपाली समुदाय र लिस्वनस्थित अवैतानिक वाणिज्यदूतावास निकै गम्भिर बनेको छ । समस्यामा परेका आफ्ना नेपालीलाई सहयोग गर्ने र नेपाल फर्कन चाहनेलाई नेपाल पठाएको तथ्याङ्क पनि वाणिज्यदूतावाससँग छ । कामको सिलसिलामा पोर्तुगल आउनेलाई ठूलो सपना नदेख्न र कूलतमा नफस्न लिस्वनका लागि अवैतानिक वाणिज्यदूत मकरबहादुर हमालको सुझाव छ । उनी समस्याको समाधान र न्यूनीकरण गर्न आफूले यथाशक्य प्रयत्न गरिरेको बताउनुहुन्छ ।

एनआरएनए पोर्तुगल, नेपाली समाज र अवैतनिक वाणिज्यदूतावासको सामूहिक पहलमा सडकमा पुगेका नेपालीलाई उद्धार गर्न सकिन्छ । उनीहरुको अवस्थाबारे परिवारलाई जानकारी गराएर नेपाल फर्काउन वा सुधार केन्द्रमा पठाउन सकिने जानकारहरु बताउँछन् । समस्या समाधानको लागि उनीहरुलाई काउन्सिलिङ गर्ने, हेल्प डेक्स सञ्चालनमा ल्याउने र पोर्तुगलको परोपकारी सङ्घ संस्था सङ्गसमन्वय गरी उद्दार गर्न सकिन्छ ।

रातो पासपोर्ट पाउने र सुविधायुक्त जीवनयापन गर्न पाइने भन्दै दिनप्रतिदिन यो सङ्ख्या बढ्दो छ । विशेषगरी कृषि र रेष्टुरेन्टमा काम पाइने हुनाले नेपालीको आकर्षण पनि बढेको जानकारहरु बताउँछन् । सन् २०१० देखि हालसम्म पोर्चुगलमा २७ जना नेपालीले अकालमा मृत्यु भएको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *