वडाध्यक्षले बाँडे कुहिएको चामल, उनकै घरमा फिर्ता

Spread the love

नन्दबहादुर रोकाया, मुगु : मुगुको सोरु गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अकवर शाहीले राहत भन्दै बाँडेको कुहिएको चामल स्थानीयले उनकै घरमा फर्काइदिएका छन्‌। कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउनका बेला दैनिक ज्यालामजदुरी गर्नेहरूलाई परेको समस्या टार्न भन्दै सोरु गाउँपालिकाले राहत वितरण गरेको थियो।

राहतमा बाँडेको चामल कुहिएर किरा परेको भेटिएपछि स्थानीयले सो राहत वडाध्यक्ष शाहीकै घरमा फर्काइदिएका हुन्‌ । सो वडाले २३४ घर परिवार, दुईजना स्वास्थ्यकर्मी, दुई बोरा तीर्थसैन गौचनमा, तीन जना पूर्ण अपाङ्ग र ५८ जना जेष्ठ नागरिकलाई गरि नेपाल खाद्यान्न संस्थानबाट खरिद गरिएको भनिएका ३० केजीका २५० बोरा चामल वितरण गरेको थियो।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

वितरण गरिएकामध्ये १० बोरा चामल शाहीले नै फिर्ता पाएका छन्‌। गुजारा टार्नै सकस भोगिरहेका केही स्थानीयले भने सोही कुहिएको चामल पकाएर खाइरहेका छन्‌। तर भात निकै अमिलो स्वादको भएको स्थानीयले बताएका छन्‌। कुहिएको र किरा लागेको चामलको लेवलिङ्ग स्टिकरमा भर्ति गरेको मिति २०७५ माघ १ गते र फागुन १ गते उल्लेख छ। तर उपभोग्य मितिबारे केही उल्लेख गरिएको छैन।

वितरण गरेकोमध्ये केही चामल बोरामै कुहिएको र धेरै जनाको भागमा परेको चामलमा घुन नामक किरा भेटिएको छ। वडाले राहत भन्दै वितरण गरेको चामल कुहिएको भेटिएपछि जिल्ला समन्वय समितीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा १० बोरा चामल निकै कुहिएको र अन्य स्थानीयलाई वितरण गरिएको चामलमा पनि घुन भेटिएको पाइएको जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी भिमराज सेजुवालले जानकारी दिए।

वडाध्यक्ष शाहीले गमगढीस्थित नेपाल खाद्य संस्थानको डिपोबाटै ल्याएको चामल २३४ घरपरिवारलाई वितरण गरेको बताएका छन्‌। वितरण गरिएकोमध्ये २५० बोरा चामल संस्थानबाट खरिद गरिएको उनले बताए। सोरु गाँउपालिका वडा नम्बर ११ वडामा राहत बाँड्न भन्दै सदरमुकामबाट १९० बोरा र कालै डिपोबाट ठेकादारले सीधै ६० बोरा चामल वितरण गरेको थियो।

जिल्ला समन्वय समितिले अनुगमन गर्दा चामल कुहिएको पाइएपछि खाद्य संस्थान वतिरण गरिएका चामल फिर्ता लिने र नयाँ सफा चामल दिने जनाएको छ। अनुगमनका क्रममा सो वडाले कुहिएको चामल वितरण गरिएको भेटिएकाले यसबारे छानबीन गर्न मुगुका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक टोली गठन गरिएको छ। टोलीले प्रतिवेदन बुझाएपछि कुहिएको चामल वितरणमा संलग्नहरूमाथि कारबाही हुने प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताएका छन्‌। – थाहाखबर

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *