‘वामदेव कार्ड’ को छिनोफानो आज

Spread the love

काठमाडौं : उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्री बनाउने प्रधानमन्त्री केपी ओलीको प्रस्तावमाथि ठोस छलफल गर्न नेकपा सचिवालयको बैठक शनिबार बस्दैछ। अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालले गौतमलाई प्रधानमन्त्री बनाउने आफ्नो प्रस्ताव कार्यान्वयनको योजना शनिबारको बैठकमा प्रस्तुत गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन्।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

पार्टीभित्रको आन्तरिक द्वन्द्व साम्य पार्न प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो वरियताको प्रधानमन्त्री बनाउने प्रस्ताव बुधबार सचिवालय बैठकमा गरेका थिए। नेता नेपालले तेस्रो वरियताको अध्यक्ष आफूले स्वीकार नगर्ने बताइसकेका छन्। तर, वामदेवलाई प्रधानमन्त्री बनाउन आफूले राजीनामा दिएर बाटो खोल्न नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको नेपाल निकट स्थायी समिति सदस्य बेदुराम भूसालले जानकारी दिए।

राजनीतिक दल सम्बन्धी अध्यादेश विवादसँगै सत्तासीन नेकपाभित्र पनि विवाद बढेको थियोे। अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतमलगायतले प्रधानमन्त्री र पार्टी अध्यक्ष छोडन दबाब दिएपछि प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने सरप्राइज प्रस्ताव गरेका थिए। तर, ओलीको प्रस्तावले दाहाल र नेपाल भने सन्तुष्ट छैनन्।

गौतमलाई प्रधानमन्त्री बनाउने भए ओलीलाई राजीनामा दिएर बाटो खोल्न नेपाल र दाहालले सुझाव दिए पनि प्रधानमन्त्री भने सकारात्मक नदेखिएको नेताहरू बताउँछन्।

‘संसद्मा नभएको व्यक्तिलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नु नै गलत थियो,’ स्थायी समिति सदस्य भुसाल भन्छन्, ‘आफैंले गरेको प्रस्ताव कार्यान्वयनका लागि प्रधानमन्त्रीले योजना पेश गर्नुहुने विश्वास छ।’ वामदेव कार्ड निकासका लागि हो वा रणनीतिक मात्र हो भन्ने कुरा शनिबारको बैठकबाट स्पस्ट हुने नेताहरू बताउँछन्। नेता नेपालले सरकार र पार्टी दुवै सञ्चालनमा ओली असफल भएको भन्दै दुईमध्ये एक पद छोडनुपर्ने आफ्नो अडान कायमै रहेको जानकारी ओलीलाई दिइसकेका छन्।

पार्टीभित्रको आन्तरिक द्वन्द्व र आफ्ना प्रस्तावबारे प्रधानमन्त्री ओलीले बिहीबार अर्का अध्यक्ष दाहालसँग बालुवाटारमा कुराकानी गरेका छन्। त्यस क्रममा दाहालले वामदेवलाई प्रधानमन्त्री बनाउने भए पहिले राजीनामा दिन ओलीलाई सुझाव दिएको दाहालको सचिवालयले जनाएको छ। दाहालले सचिवालय बैठकमा राजीनामाको घोषणा गरि वामदेवलाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला राख्न प्रधानमन्त्रीसँग आग्रह गरेको उनी निकट स्थायी समिति सदस्यले बताए।

यता दोस्रो तहका नेताहरू पनि पार्टीभित्रको आन्तरिक राजनीति व्यवस्थापन र सहमतिका लागि दौडधूपमा छन्। भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा लगायतका नेताहरू पनि शीर्ष नेताहरू भेट्दै सहमतिका प्रयासमा क्रियाशील छन्। राजाीनामा दिएर निकासका लागि प्रधानमन्त्री ओली तयार नभए सचिवालय बैठकमा स्थायी समिति बैठकको माग राख्ने तयारीमा दाहाल र नेपाललगायतका नेताहरू रहेको स्रोतले बतायो।

वामदेवको रुची राष्ट्रियसभामै

प्रधानमन्त्री ओलीले भावी प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि उत्साहित नेता वामदेव गौतमले संविधान संशोधनको विधि र प्रक्रियाबारे छलफल प्रारम्भ गरेका छन्। प्रतिनिधिसभामा निर्वाचित हुनुभन्दा राष्ट्रियसभामा जाने र त्यहीँबाट प्रधानमन्त्री बन्ने संवैधानिक उपायका लागि गौतमले संविधानविद्हरूको राय र सुझाव संकलन गर्ने गरिरहेको निकट नेताहरू बताउँछन्।

यसअघि वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा अनौपचारिक रुपमा गठन गरिएको भनिएको कार्यदलले काम नथाल्दै गौतमले संविधान संशोधनको ड्राफ्ट तयार पारिसकेको नेताहरू बताउँथे। पछि नेपाल संयोजकत्वको कार्यदलको वैधानिकता र गठन प्रक्रियामै विवाद भएपछि उक्त कार्यदलले काम नथाल्दै विघटन गरिएको थियो।

बुधबार सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणपछि गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि गौतमले संविधानविद् डा. युवराज संग्रौला लगायतका विज्ञहरूसंग संविधान संशोधनबारे सल्लाह गरिरहेको निकट नेताहरू बताउँछन। निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गराउंनु भन्दा संविधान संशोधन गरेर राष्टियसभाबाटै प्रधानमन्त्री बन्ने दाउमा गौतम रहेको नेताहरू बताउँछन।

नेपाल समूहको भेला कोटेश्वरमा

नेता नेपाल निकट एक दर्जन बढी स्थायी समिति सदस्यहरूले नेता नेपाल र अर्का अध्यक्ष दाहालसँग शुक्रबार छलफल गरेका थिए। आफ्नो निवासमा स्थायी समिति सदस्यहरू पुगेपछि वरिष्ठ नेता नेपालले अर्का अध्यक्ष दाहाललाई पनि बोलाएका थिए। स्थायी समिति सदस्यहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, बेदुराम भूसाल, रघुजी पन्त,घनश्याम भूसाल, गोकर्ण विष्टले बुधबारको सचिवालय बैठकमा भएको के हो भनी नेता नेपाल र दाहालसँग प्रश्न गरेका थिए।

पार्टीभित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न भन्दै प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई भावी प्रधानमन्त्री र नेता नेपाललाई तेस्रो वरियताको अध्यक्ष दिने प्रस्ताव सचिवालयमा गरेका थिए। ‘सचिवालय बैठकमा भएको के हो र ? विषय के–के हुन भनी हामीहरूले जान्न खोज्यांै,’ स्थायी समिति सदस्य रघुजी पन्तले भने, ‘नेताद्वयले त्यसबारे हामीहरूलाई जानकारी गराउनुभयो। हामीहरूले स्थायी समितिको बैठक अविलम्ब बोलाउनेबारे सचिवालयले निर्णय गरोस भनेर आग्रह गरेका छौं।’ नरेन्द्र साउदले अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *