‘बोक्साबोक्सी’ भन्दै सामाजिक बहिष्कार गरेपछि एक दम्पती सुरक्षा खोज्दै सदरमुकाममा

Spread the love

मंसीर ८, दोलखा – जिल्लाको दुर्गम स्याखु गाउँमा सामाजिक बहिष्कारमा परेपछि एक दम्पती सुरक्षा खोज्दै सदरमुकाम चरिकोट आएका छन् । स्याखु टोल सुधार समितिको भेलाले ‘बोक्सा–बोक्सी’ को आरोप लगाउँदै गाउँबाट निकालिदिने, कथित ‘इन्द्रजाल’ किताब उपलब्ध गराउनुपर्ने र ‘झाँक्री’ले बकेकाले दोषी नै हो भनेर अपमान गरेपछि उनीहरू गाउँ छाड्न बाध्य भएका हुन् ।

काठमाडौंबाट जेठा छोरा भाजुराम श्रेष्ठ आएर उद्धार गरी शनिबार चरिकोटको एक होटलको कोठामा राखिएका बिगु गाउँपालिका–५ स्याखुका ५८ वर्षीय रत्नबहादुर श्रेष्ठ र ५७ वर्षीया कृष्णकुमारी श्रेष्ठले भने, ‘गाउँका एक सय १३ जना सहभागी भेलाले दबाब दिएर बोक्साबोक्सी भएको स्विकार्न ल्याप्चे थिच्न लगायो ।’ पाँच पन्नाका तीन एजेन्डामा गरिएको निर्णय र चार घण्टा लामो अडियोसहित उत्तरको सिँगटी प्रहरीचौकीमा उजुरी दिएपछि टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठ पक्राउ परेका छन् । धामीझाँक्री गर्ने र नेतृत्व गर्नेसहित नौ जनाविरुद्ध उजुरी दिइएको पीडितका छोरा भाजुरामले जानकारी दिए । निवेदनका आधारमा सोधपुछ चलिरहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

रत्नबहादुरका १४ वर्षीय कान्छा छोरा सचिनले गोप्य रूपमा रेकर्ड गरेको चार घण्टा लामो अडियोमा ‘मेरो बाउ मार्ने’, ‘मलाई बिरामी बनाउने’ र ‘बस्तुभाउ मार्ने’ तिमीहरू हौ भनेर गाली गरिएको सुनिन्छ । रेकर्डमा पीडित रत्नबहादुरले ‘आमा, छोराहरू कसम मैले हैन’ भनेका छन् । ‘मंसिर १ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म हामीलाई बोक्साबोक्सी भनेर यातना दिइरहे,’ रत्नबहादुरले भने ।

सदरमुकाम चरिकोटबाट करिब ६० किलोमिटर उत्तरमा पर्ने स्याखुका यी दम्पतीलाई समितिले बिहे, भोजलगायत कार्यमा समेत प्रतिबन्ध लगाएको छ । यातनाको पीडाले दुवै जना रुँदा पनि आफूहरूलाई नछाडेको कृष्णमायाले गुनासो गरिन् । सामाजिक बेइज्जतीपछि समितिले गरेको निर्णय नम्बर १ मा लेखिएको छ, ‘यस गाउँ बस्ने रत्नबहादुर श्रेष्ठ आफ्नो मनमानी कुनै ठाउँमा गएर तलमाथि गरेमा हामी एक सय १३ जनाको घरधुरी जिम्मेवार हुनेछैन भनी आजको टोल सुधार समिति र अन्य बुद्धिजीवी अभिभावक बसी निम्न छलफल गरी ल्याप्चे लगाउन लगाएको ।’

यस्तो घटना ‘जघन्य अपराध’सरह भएको वडाअध्यक्ष मधुकर गुरुङले बताए । मानिस पक्रिएर सिँगटी प्रहरीचौकी ल्याएपछि मात्र आफूले घटनाबारे जानकारी पाएको उनको भनाइ छ । ‘रत्नबहादुर दम्पतीमाथि अन्याय भएको पाएँ,’ उनले भने । मंसिर ३ गते गाउँकै नाति पर्नेको बिहेमा समेत वरपरका सबैलाई बोलाइँदासमेत आफूहरूलाई सहभागी हुन नदिइएको रत्नबहादुरले बताए । ‘जोडिएको घरमा भइरहेको नातिको बिहेमा जान नपाएपछि घरभित्रबाट चियाएर हेरिबस्यौं,’ कृष्णकुमारीले भनिन् ।

यसअघि उनीहरूलाई गाउँलेले तीन पटकसम्म यातना दिएको पाइएको छ । लिखित रूपमै बुबाआमालाई गाउँनिकाला गर्न लागेको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको छोरा भाजुरामले बताए तर यसअघि छोराहरू नभएका बेला गाउँ नजिकको लोटुङस्थित प्रहरीचौकीमा लिखित उजुरी दिँदा उल्टै गाली गरेरे फर्काएको कृष्णकुमारीले बताइन् । पीडित दम्पतीका माइला छोरा नर्वे र काइँला छोरा जापानमा छन् । कान्छा छोरा सचिन मात्रै सँगै छन् । आजको कान्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *