नख्खु कारागारभित्र चौकीदार र नाइकेको ठगीधन्दा

Spread the love

मङ्सिर ५, काठमाडौं । बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगी धन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ । नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र नाइकेहरू टासी गुरुङ, भीम बस्नेत, शक्ति प्रजा, सोम तामाङ, आइते तामाङ र प्रकाश कार्कीले पछिल्लो पाँच महिनामा कारागारभित्र र बाहिर गरी ७४ लाखभन्दा धेरै ठगी गरेका हुन् ।

कारागारभित्रै बन्दीसँग ५० लाख १३ हजार र बाहिरका रासनपसलेसँग २३ लाख २१ हजार ठगी गरेका छन् । कार्यालय स्रोतका अनुसार बन्दीहरू दिलबहादुर गुरुङसँग २९ लाख, दिनेश आलेसँग १५ लाख, छुटिङ लामासँग दुई लाख, सुचेन्द्र राईसँग एक लाख ७२ हजार, ओमकार शाहसँग एक लाख, युनुस अन्सारीसँग एक लाख, झिल्के मोक्तानसँग २२ हजार र छिरिङ शेर्पासँग १९ हजार ठगेका हुन् । युनुस नक्कली भारतीय नोट तस्करी मुद्दाका बन्दी हुन् ।

‘मेरो श्रीमान्ले कारागारभित्रै पसल चलाउनुहुन्थ्यो, त्यहाँबाट चौकीदार सन्तोष गुरुङले तीन लाखभन्दा धेरैको सामान उधारो लगेको छ । उसले अरू १२ लाख नगद सापटी लगेको छ । मैले घरबाटै लगेर दिएकी हुँ,’ पीडित दिनेश आलेकी श्रीमती पवित्राले भनिन्, ‘पैसा फिर्ता माग्दा उसले मेरो श्रीमान्लाई कारागार नै सरुवा गरिदियो । अरू कैदीबन्दी पनि ठगिएका छन् ।’

कारागारबाहिर भने कैदीबन्दीलाई नियमित रासन खुवाउने पसले ठगिएका छन् । भैँसेपाटीस्थित स्वयम्भू खाद्य भण्डारका सञ्चालक अनिल खड्काको १८ लाख ४६ हजार ६ सय ४० रुपैयाँ र कालिमाटी तरकारी बजारका तरकारी व्यापारी अमीरराज खड्काको चार लाख ७५ हजार रुपैयाँ ठगी भएको छ । ‘मेरो पसलबाट सन्तोष गुरुङले उधारोमा तीन महिनासम्म रासन लग्यो । १८ लाखभन्दा बढी उठाउन बाँकी छ । धेरै ताकेता गरिसकेँ, तर अहिलेसम्म दिएको छैन,’ व्यापारी खड्काले भने ।

कारागारभित्रको आन्तरिक प्रशासन चलाउन जेल प्रशासनले कैदीहरूबाटै चौकीदार, नाइके र भाइनाइके बनाउने नियम छ । अन्य कैदीबन्दीको खाना, खाजादेखि खेलकुदसम्मको व्यवस्थापनको जिम्मा उनीहरूले नै पाएका हुन्छन् । तर, नख्खुमा उनीहरूबाट अन्य कैदी र व्यापारी ठगिँदा जेल प्रशासन भने उल्टै गल्ती ढाकछोप गर्न उद्यत छ । नख्खु सुधारगृह कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले कारागारका चौकीदार र नाइकेले कसैलाई नठगेको बताए । ‘यहाँका चौकीदार र नाइकेलाई म चिन्छु । समय भए म तपाईंलाई पनि चिनाइदिउँला । थोरबहुत भयो होला, तर उनीहरूले यस्तो ठगी गर्दैनन्,’ पौडेलले भने, ‘उनीहरूविरुद्ध कसैले ठूलो षड्यन्त्र गरिरहेको छ ।’

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनाली भन्छन्–नख्खुका चौकीदार र नाइकेबारे गुनासा आएका छन्
नख्खु कारागारका चौकीदार र नाइकेबारे गुनासा आएका छन् । चौकीदार सन्तोष गुरुङको सन्दर्भमा हामीले नख्खु नै गएर बुझ्यौँ । तर, भरपर्दो प्रमाण नभेटिएकाले कारबाही प्रक्रिया अघि बढेन । ठगीका सम्बन्धमा भरपर्दो प्रमण भेटिए कारबाही हुन्छ, ढुक्क हुनुस् ।

डेटिङमा चौकीदार

चौकीदार पनि कैदीबन्दी नै हुन् । कारागारभित्र कैद भुक्तान गरिरहेको व्यक्ति बाहिर निस्किन मिल्दैन । कामले निस्किनै परे पनि सुरक्षाकर्मीको कडा निगरानी हुन्छ । तर, नख्खु कारागारका चौकीदार सन्तोष गुरुङ कारागारबाट सजिलै निस्किएर डेटिङसमेत गएको तस्बिर प्राप्त भएको छ । तर, उनको हर्कतबारे सुरक्षाकर्मी र जेलर अनभिज्ञता जनाउँछन् ।

नख्खु सुधारगृह कार्यालयका प्रमुख सुरेन्द्र पौडेल भने गर्लफ्रेन्डसँग गुरुङले खिचेको फोटोमा पनि षड्यन्त्र भएको दाबी गर्छन् । ‘कस्तो फोटो हो ? कहाँको फोटो हो ? त्यसबारे मलाई थाहा भएन । यदि हो भने पनि त्यसमा षड्यन्त्र छ । समीरमानसिंह बस्नेत चिन्नुहुन्छ नि ? यसमा पक्कै उनीहरूकै हात हुनुपर्छ,’ पौडेलले भने । – नयाँ पत्रिका

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *