सुनसान छ नर्वेको राजधानी, ठप्प छन् सबै गतिविधि

Spread the love

ओस्लो : हाल युरोपमा कोरोना भाइरस भनिने कोभिड १९ किटाणुको प्रकोप उच्च देखिएको छ। यो प्रकोपको असर स्क्यान्डेभियाली देश नर्वेमा पनि द्रुत गतिमा फैलिरहेको छ। हालसम्म (मार्च १७) ३ जनाको मृत्यु भइसकेको छ भने १३ सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ। यहाँ रहेका नेपाली कोभिड १९ बाट ग्रसित भएको पाइएको छैन।

म गत ३ दिनदेखि नर्वेको राजधानी ओस्लोस्थित आफ्नै कोठामा बसिरहेको छु। म बसेको कोठा विद्यार्थी आवास गृह भएको हुनाले विश्वविद्यालय र आवास गृहले तारन्तार कोरोना र पठनपाठन सम्बन्धित सन्देश पठाइरहेको छ। यी सन्देशहरुमा कोरोनाबाट बच्न के के सावधानी अपनाउने र घरमै बसेर कसरी पढाइ सञ्चालन गर्ने भन्नेबारे जानकारी दिने गरिएको छ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

म यहाँका सञ्चारमाध्यम, साथीभाइ र सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबारे खबर थाहा पाइरहेको छु। अनुमान गरेभन्दा छिटो र धेरै कोरोना भाइरसको सङक्रमित बिरामी बढेपछि नर्वे सरकारले ज्यादै छिट्छिटो कदम चालिरहेको छ। गत ५ दिनमा विद्यालय, विश्वविद्यालय र साना नानीहरु पढाइने डे केयर बन्द गरिएको छ भने धेरै मानिस जम्मा हुने सभासमारोह, सिनेमाघर, भेटघाट, रात्रि ‘क्लब’हरुमा प्रतिबन्ध लगाइएको छ।

फेब्रुअरी २७ पछि अन्य मुलुकबाट नर्वे भित्रिएका जो कोहीलाई पनि ‘सेल्फ क्वारेन्टिन’ भनिने घरमै १४ दिन बस्नु पर्ने निर्देशन जारी गरिएको छ।

विश्वविद्यालयले आफ्ना विद्यार्थी स्वास्थकर्मीहरुलाई अस्पतालमा खटाएको छ। सरकारले अध्यागमनतर्फ विभिन्न नयाँ नियम जारी गरेको छ। मानिसको आवतजावत नियन्त्रणका लागि सीमा तथा नाकाहरुमा कडिकडाउ गरिएको छ। मैले के अनुभव गरिरहेको छु भने यहाँका नागरिक र संघसस्थाहरुले यी नयाँ नियमको अनुशासित भएर पालना गरिराखेका छन्।

धेरै रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारलाई जागिरबाट हटाएका छन्। यससँगै मानिसहरुमा चिन्ता बढेको छ। गत शुक्रबार र शनिबार सरहमा खाद्यान्न, औषधि पसल र अन्य अत्यावश्यक सामाग्री पाइने पसलहरुमा मानिसको भिड बढेको थियो। सबैतिर भने यस्तो छैन। केही अत्यावश्यक भनिएका सामानहरु भने केही पसलमा सक्किइसकेका छन् भने अभाव नै भने भइसकेको छैन।

फास्टफुड पसल बेकरी, बर्गर किङ आदि जस्ता पसलहरुमा भने सरकारको निर्देशन अनुसार ग्राहकलाई १/१ मिटरको दुरीमा राखेर खानेकुरा बेचिरहेको देख्न पाइन्छ। यो प्रकोपको अवधि ज्यादै पो लम्बिने हो कि भनेर मानिसहरु चिन्तित देखिएका छन् र विभिन्न अनुमान पनि गरिरहेका छन्। यससँगै नर्वेकी प्रधानमन्त्री यर्ना सोलवर्गले गत आइतबार व्यापार र कामदारहरुको सुरक्षार्थ १०० ‘बिलियन’ डलरको राहत योजना घोषणा गरेकी छन्।

व्यापार र कामदारको सुरक्षाका लागि यो रकम खर्च गरिने र थप योजनाको गृहकार्य सरकारले गरिरहेको उनले एक पत्रकार सम्मेलनका क्रममा भनेकी छिन्। एकैपटक धेरै काम गर्न सरकारलाई भ्याइनभ्याई भएको र कामको गति सरकारले बढाइरहेको पनि जानकारी सोही सम्मेलन मार्फत अवगत गराएकी छन्। रेष्टुरेन्ट, भोजनालय र रक्सी खाने भट्टी (पब तथा बार) मा विशेष सावधानी अपनाएर पसल खोल्न सरकारले निर्देशन जारी गरेको छ। अधिकांश यस्ता पसल बन्द छन्। सम्भव भएसम्म कार्यालयको काम घरमै बसेर गर्न भनिएको छ।

अत्यावश्यक कामबाहेक घर बाहिर सकभर ननिस्कन पनि सुझाव दिइएको छ। मुख्य सडकमा सवारी साधनको चाप निकै घटेको छ। विगत १, २ दिनदेखि सहर सुनसान प्रायः देखिन्छ। तर सार्वजनिक सवारी साधन रेल, बस, ‘ट्राम’, भुमिगत ‘मेट्रो’ तथा अन्य सवारी साधान नियमित चलिरहेका छन्। यिनमा यात्रुको सङ्ख्या भने नगण्य देखिन्छन् । उषाकिरण रेग्मीले देश सञ्चारमा समाचार लेखेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *