करिनाको परिवारलाई सहयोग जुट्दै, बहिनी र आमाको निशुल्क उपचार हुने

Spread the love

४ मङि्सर, धादिङ : आमा प्यारालाइसिसले थलिएको अवस्थामा बाबाले आत्महत्या गरेपछि बिचल्लीमा परेका नीलकण्ठ नगरपालिका १२ आँगेटारीस्थित करिना थापामगरको परिवारलाई सहयोग जुट्न थालेको छ । प्यारालाइसिसले थलिएकी करिनाकी आमा लक्ष्मी थापा मगर र शरीरको जताततै बाक्लो रौँसहित पिठ्युँमा मासुको डल्ला भएकी बहिनी सोमकुमारी पनि उपचार हुने भएको छ ।

काठमाडौंको धुम्वाराहीस्थित हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले सम्भव भएसम्मका सबै उपचार निशुल्क गरिदिने अस्पतालका अध्यक्ष आर एस भण्डारीले टेलिफोनमा बताए ।

आत्महत्या गरेको करिनाको बाबाको भर्खरै काजक्रिया सकिएकाले घरको व्यवस्थापन मिलाएर जतिसक्दो चाँडो उपचारको लागि पठाइने नीलकण्ठ नगरपालिका १२ का अध्यक्ष बाबुराम लंसालले बताएका छन् ।

साँकोषस्थित साँकोष उच्च माविमा ७ कक्षामा अध्ययनरत करिनाको १२ कक्षासम्म पढ्दा लाग्ने शैक्षिक सामाग्री, लत्तापकडा सहितको सबै खर्च धादिङवेशीमा विभिन्न पेशा व्यवसायमा रहेका युवाको समूह ‘डायमण्ड इन्भेष्टमेन्ट ग्रुप’ ले बेहोरिदिने भएको छ ।

सोही ग्रुपले प्रवद्र्धन गरेको स्वर्णीय बहुउद्येश्यीय सहकारीमा करिनाले १२ कक्षा पास गरेपछि रोजगारीको ग्यारेन्टी सहित पढाइ खर्च बेहोर्नका लागि साँकोष उच्च माविसँग लिखित सम्झौता नै गरिदिएको छ ।

त्यस्तै करिनाकी बहिनी सोमकुमारीको उपचारपछि र भाइ काजीका लागि उनीहरुले पढ्न चाहने सम्मको उच्च शिक्षा अध्ययनमा लाग्ने सबैखाले खर्च, बालबालिकाको शिक्षा, दिक्षा र सुरक्षाका लागि काम गरिरहेको संस्था नेपाल युथ फाउण्डेशनले बेहोर्ने सस्थाका कार्यक्रम व्यवस्थापक राजन पण्डितले प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै तीनवटै बालबालिकाको पढाइको खर्चस्वरुप पोखराका ८६ वर्षीय वृद्ध दिनबन्धु कोइरालाले पनि मासिक ५ हजार बालबालिकाको खातामा दिने प्रतिवद्धता जनाएका छन् । आमाको प्यारालाइसिस भएको र बाबाले आत्महत्या गरेपछि बालबालिकाको विचल्ली भएको समाचार सार्वजनिक भएपछि छिमेकी विद्यालयमा अध्ययनरत बालबालिकाले खाजा खर्च कटाएर नगद जम्मा गरी साँकोष उच्च मावि पुगेर हस्तान्तरण गरेका छन् ।

नीलकण्ठ माविबाट ३५ हजार ६ सय १०, पन्चकन्या माविबाट ११ हजार ८ सय ८०, पण्डितचौर आधारभुत विद्यालयबाट १० हजार ५, करिना अध्ययनरत विद्यालयकै जुनियर रेडक्रस सर्कलबाट १४ हजार १ सय ५, गणेश हिमाल क्याम्पसबाट २० हजार ७ सय ३५, मनरुपी माविबाट ८ हजार ७ सय ३०, धादिङ वोर्डिङ तेक्वान्दो विद्यार्थी बाट ४ हजार २ सय ७०, किवो बोर्डिङ स्कुलले १२ हजार ७ सय ७५, जुनियर रेडक्रस गोष्ठीबाट ६ हजार ५ सय ३०, पशुपति मावि ८ हजार ४ सय ७५, बालमन्दिर मावि बाट ११ हजार ४ सय ३०, सुनगाभा एकेडेमीबाट ५ हजार १ सय ५० र कुण्डला माविबाट १ हजार ६ सय रुपैया बालबालिकाहरुले साथीको सहयोग स्वरुप विद्यालयलाइ हस्तान्तरण गरेका छन् ।

त्यस्तै सिद्धलेक गाउँपालिका कार्यलयले नगद ५० हजार, आवाज अभियान नेपालले १५ हजार र परोपकारी युवा समाजको ११ हजार सहयोग गरेका छन् । समाचार सार्वजनिक भएपछि बालबालिकाको शिक्षा दिक्षा घरब्यवहारमामा सहयोगको लागि विभिन्न सामाजिक सस्थाहरु र ब्यक्तिहरुले चासो देखाएकाले भविष्यमा बालबालिकाको उच्च शिक्षा र घरब्यवहारमा खर्च गर्ने गरि विद्यालयको तर्फबाट शिक्षक राम लामिछाने, बालबालिकाका काका बलबहादुर थापा मगर र विद्यालय ब्यवस्थापन समितिका सदस्य टिका मगरको संरक्षकत्वमा राष्ट्रिय बाणिज्य बैंक धादिङवेशीमा १०३००२०२८८१० नम्वरको खाता संचालन गरिएको छ ।

त्यस्तै वडा कार्यलयको पहलमा वडा अध्यक्ष बाबुराम लंसाल र काका इन्द्र बहादुर थापा मगर संरक्षक रहने गरि तिनवटै बालबालिकाको नाममा सानिमा बैंक धादिङवेशी शाखामा ००४०११०८००००३८८ नम्वरको खाता संचालन गरिएको छ ।

करिनाको घर भुकम्पको अनुदान पाउने सुचीमा रहेपनि पहिलो किस्ता लिएर अहिलेसम्म बनेको छैन । उनीहरु अहिले टहरामा बस्दै आएका छन् । विभिन्न सस्थासंग समन्वय गरेर उनीहरुको पक्की घर पनि बनाइदिने वडा अध्यक्ष बाबुराम लंसालले बताए । – अन्नपूर्ण

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *