किन विश्वका अन्य ठाउँकाभन्दा धेरै बाँच्छन् ओकिनावावासी ?

Spread the love

एजेन्सी : सबै मानिस धेरै वर्ष बाँच्न र सधैं जवान देखिन चाहन्छन् । तर, कसरी ? वैज्ञानिहरू यसैको खोजीमा छन् । त्यसैले विश्वका सबैभन्दा धेरै वृद्ध मानिस बस्ने जापानको ओकिनावामा वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् । पूर्वी चीन सागरमा रहेको यो द्वीपमा एक सय वर्षभन्दा लामो आयु भएका मानिस बाँकी विश्वमा भन्दा धेरै छन् ।

तर, अचम्मको कुरा के भने यहाँका मानिस उमेर ढल्किए पनि निकै जोसिला देखिन्छन् । उनीहरू आफ्नो काम आफैं गर्न सक्छन् । यहाँका एक लाख मानिसमध्ये ६८ जना एक सय वर्षभन्दा बढी उमेरका हुन्छन् । अमेरिकाको तुलनामा यो तीन गुणा बढी हो । जापानको औषत आयु त्यसै पनि धेरै छ, तर ओकिनावाका मानिस अन्य जापानीभन्दा ४० प्रतिशत धेरै बाँच्छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

कारण के हो ?

विश्वभरका वैज्ञानिक लामो समयदेखि यसैको खोजीमा छन् । उनीहरूले कहिले खानाका कारण लामो उमेर रहेको निष्कर्ष निकाल्छन् त कहिले जीवनशैलीलाई मुख्य कारण मान्छन् । तर, पछिल्लो अध्ययन उनीहरूको खानपानमा केन्द्रित भएको छ ।

अध्ययनले ओकिनावाका मानिसले प्रोटिनको तुलनामा कार्बाेहाइडे«ट धेरै खाने गरेको पाइएको छ । उनीहरूले सखरखण्ड धेरै खाने गरेका छन् । उनीहरूले क्यालोरीको मात्रा यहाँबाट प्राप्त गर्छन् ।

सिड्नी विश्वविद्यालयका पोषण तथा लामो उमेरको अध्येता सामान्था सोलोन विएट पनि ओकिनावाका मानिसले प्राटिनभन्दा कार्बाेहाइड्रेटयुक्त खाना खाने गरेको बताउँछिन् । ओकिनावाका मानिसमा कार्बाेहाइड्रेट र प्रोटिनको अनुपात १०ः१ हुन्छ । त्यसो भए के यहाँका मानिस लामो समयसम्म बाँच्नुको रहस्य यही हो त ?

अनुसन्धानकर्ता अहिले नै प्रोटिन छोडेर कार्बाेहाइडे«ट खान भने हतार गर्न नहुने बताउँछन् । उनीहरूले आफ्नो अनुसन्धान भने यसैको नजिक रहेको भने स्वीकार गरेका छन् । कार्बोहाइड्रेटयुक्त खानेकुरा खानाले उमेर बढ्दै जाँदा लाग्ने रोगबाट बच्न सहयोग गर्ने उनीहरूले बताएका छन् ।

ओकिनावाको सेन्डनेरियन स्टडीले यो तथ्य पत्ता लगाएको थियो । ओकिनावाका १ सय ५० द्वीपमा रहेका सय वर्षमाथिका मानिसमा यो अध्ययन गरिएको थियो । अहिलेसम्म एक हजारजनामा अध्ययन गरिएको बताइएको छ ।

त्यहाँको औसत आयु ९७ वर्ष छ । उनीहरू सबै काम आफैं गर्छन् । उमेर बढ्दै जाँदा लाग्ने कैयैं रोग यहाँका मानिसमा देखिएको छैन ।

जेनेटिक असर कति होला ?

केही अनुसन्धानकर्ताले भने लामो उमेरको कारक उनीहरूको जिनलाई पनि मानेका छन् । त्यहाँका मानिस लामो समयसम्म बाँकी विश्वबाट एक्लिएर बसेका थिए । यसले गर्दा उनीहरू जेनेटिक रूपमा विश्वबाट छुट्टिए ।

उनीहरूको शरीरमा एपिओई–४ नामको जिन निकै कम पाइएको छ । यो मुटुको रोगका लागि निकै खतरनाक हुन्छ । यसले अल्जाइमर पनि हुन सक्ने वैज्ञानिक बताउँछन् ।

त्यहाँका मानिसमा एफओएक्सओ–३ नामको जिन पनि पाइएको छ । यसले हाम्रो शरीरको पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसले शरीरको कोषहरूको विकासमा पनि नियन्त्रण गर्ने वैज्ञानिकहरू बताउँछन् । यही जिनका कारण बढ्दो उमेर कम देखाउने विश्वास गरिएको छ । यस्तै, यसले क्यान्सरजस्तो खतरनाक रोगको पनि प्रतिरक्षा गर्छ ।

तर, त्यहाँका वासिन्दाको उमेर जिनका कारणले मात्र पनि लामो भएको मानिँदैन । बहुआयामिक कारणले उनीहरूको उमेर लामो भएको देखिन्छ । जस्तै– धूमपान । त्यहाँका मानिस धूमपान गर्दैनन् । यहाँका मानिसको मुख्य पेसा भनेको माछा मार्नु हो, जसले उनीहरूको कसरत पनि भइरहेको हुन्छ ।

त्यहाँका मानिसको तनाव पनि कम भएको पाइएको छ । मानिस एक–अर्काको नजिक बस्ने भएकाले पनि एक्लोपन महसुस गनु पर्दैन । वैज्ञानिकहरू एक दिन एक्लो हुनु भनेको १५ चुरोट खानु बराबर हुने बताइन्छ । त्यसैले पनि ओकिनावाका मानिसको लामो उमेरको राज खानपानमा नै रहेको बताइएको छ ।

एसियाका अन्य देशमा जस्तो यहाँका मानिस चामल भने खाँदैनन् । उनीहरू सखरखण्ड धेरै खान्छन्, यस्तै हरियो र पहेंलो फलफूल पनि त्यहाँका मानिसको मुख्य भोजन हो ।

त्यहाँका मानिस सुँगुरको मासु र माछा खान्छन् । तर, यसको मात्रा पूरै खानामा भने निकै कम हुन्छ । यसका अतिरिक्त यहाँका मानिस धेरैभन्दा धेरै हरियो सागपात खान्छन् । यसले नै आवश्यक भिटामिन प्राप्त हुन्छ । तर, यसमा क्यालोरी भने कम हुन्छ ।

अध्ययन के भन्छ ?

वैज्ञानिकहरू त्यहाँका मानिसले खाने कम क्यालोरीयुक्त खानामा नै लामो उमेरको राज लुकेको बताउँछन् । सन् १९३० देखि नै वैज्ञानिकहरू भने कम उमेर बनाउनका लागि क्यालोरी कम खान सुझाइरहेका छन् ।

यसलाई प्रमाणित गर्नका लागि वैज्ञानिकहरूले बाँदरमा परीक्षण गरेका थिए । २० वर्षसम्म गरिएको उक्त अध्ययनले ३० प्रतिशत कम क्यालोरी दिँदा मृत्यु दर ६३ प्रतिशत कम भएको थियो । कम क्यालोरी खाएका बाँदरहरू लामो समयसम्म युवा पनि देखिएका थिए र उनीहरूको कपाल पनि युवा अवस्थाको जस्तो थियो ।

मानिसमा भने व्यावहारिक समस्याका कारण यस्तो अध्ययन गर्न नसकिएको वैज्ञानिकहरू बताउँछन् । तर, अमेरिकामा भने पछिल्लो दुई वर्ष यसको अनुसन्धान भएको छ । यसले पनि कम क्यालोरी खाने मानिसलाई मुटुको समस्या कम भएको पाइएको छ ।

क्यालोरी कम खाँदा किन फाइदा हुन्छ भन्ने विषयमा अहिलेसम्म कारण पत्ता नलागेको भए पनि यसले हाम्रो कोषमा अलग्गै संकेत दिने गरेको पाइएको छ । यसले हाम्रो कोषको विकासमा भन्दा पनि पुरानो कोषको मर्मतमा ध्यान दिएको पाइएको छ । कम क्यालोरीले हाम्रो कोषमा विषालु तत्त्व कम गर्ने गरेको पनि पाइएको छ ।

कम प्रोटिनको पनि फाइदा

सामान्था भन्छिन्, ‘ओकिनावाका मानिसजस्तै पपुवा न्यु गिनीका मानिस पनि लामो उमेरसम्म बाँच्छन् । त्यहाँका मानिस पनि कम प्रोटिन र कार्बाेहाइड्रेट बढी खाने गर्छन् ।

कैरेन भन्छन्, ‘उमेर पाको देखिनु भनेको कोषमा प्रोटिनको मात्रा जम्मा हुँदै जानु हो ।’ प्रोटिन जम्मा हुनु भनेको रोग जम्मा गर्नुजस्तै हुने वैज्ञानिकहरू बताउँछन् । कार्बाेहाइड्रेट बढी खाँदा लामो समयसम्म बाँच्ने र युवा देखिने पाएको भए पनि वैज्ञानिकहरूले ओकिनावाको जस्तो आहार गर्न सुझाव भने दिएका छैनन् । वैज्ञानिकहरू ६५ वर्षपछि भने प्रोटिन धेरै खानुपर्ने बताउँछन् ।

यदि हामीले सागपातबाट पाइने प्रोटिन खाएमा हाम्रो खाना अझै धेरै सन्तुलित बनाउने वैज्ञानिक बताउँछन् । त्यसैले पनि ओकिनावाका मानिस धेरै बाँचेका हुन सक्छन् किनकि उनीहरू सागपात र फलफूल धेरै खाने गर्छन् । तर, अहिले पनि लामो उमेरको विषयमा अध्ययन भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *