महिलाको शत्रु महिला नै हुँदो रै’छ हजुर!

Spread the love

– सिन्धु गौतम पोखरेल

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको एक भव्य कार्यक्रममा सहभागी हुने मौका मिल्यो।

कार्यक्रमको आयोजना एउटा चारतले भवनभित्र गरिएको थियो जहाँ फराकिलो सभाहल थियो। हलको चारैतर्फ नियालें। सेता कपडाले बेरिएका टेबल, कुर्सी, टेबलमाथि फूलदानीमा सजाइएका सुन्दर फूलहरू सबै टेबलमा मिनिरल वाटरका बोतल, सफा सुन्दर कार्पेट। झट्ट हेर्दा कुनै पार्टी प्यालेसमा हुन लागेको भोजको आभास हुन्थ्यो।

करिब ३०-४० जना महिलाहरूको सहभागिता हुँदो हो त्यहाँ।

‘आज एक्काइसौं शताब्दीमा आइपुग्दा पनि हाम्रो समाजमा व्याप्त रहेको पितृसत्तात्मक,संरचना र सोचले गर्दा महिलाहरूपछि पर्नुपरेको, हरेक क्षेत्रमा विभेद हुनेगरेकोले आफ्नो अधिकारको लागि हामी आफैं एकजुट भएर अघि बढ्नुपर्ने बेला भएकोले सबै क्षेत्रका महिलाहरूको प्रतिनिधित्व हुनेगरी यो कार्यक्रम आयोजना गरिएको हो’, कार्यक्रमकी उद्घोषिकाले प्रस्ट्याइन्।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

उनले त्यसो भनिरहँदा हलमा तालीको गडगडाहट थियो।

उनले भनेजस्तै विभिन्न सरकारी, गैरसरकारी संघसंस्था,पेशा, व्यवसायमा आबद्ध महिला प्रतिनिधिहरूको उपस्थिति रहेछ परिचयात्मक कार्यक्रमको शिलशिलामा थाहा भयो।

घरमा श्रीमान् श्रीमती दुवै कामकाजी भए पनि घरको सबै काम महिलाले मात्र गर्नुपरेको, पहिरनको विषयलाई लिएर अनावश्यक टिप्पणी सुन्नुपरेको, काम विशेषले राति घर फर्किन ढिलो भए परिवारले अनेक शंका अविश्वास गरी अनेक प्रश्न गर्ने गरेको, सामाजिक सञ्जालमा महिलाको बारेमा गरिएका नकारात्मक टिप्पणी आदिका गुनासादेखि लिएर तल्लो तहदेखि माथिल्लो तहसम्म महिला भएकै कारणले राज्यले गरेको विभेद, आदि इत्यादि मुद्दामा छलफल चलिरहेको थियो।

छलफलकै क्रममा राज्यको माथिल्लो निकायमा पुगेका महिला प्रतिनिधि पनि दलगत र व्यक्तिगत स्वार्थमा फसेको र महिला हकहितको बारेमा खासै चासो नदिएको भन्ने समूह र सामाजिक क्षेत्रमा काम गर्ने महिला पनि पैसामुखी भएको, महिलाका वास्तविक समस्या समाधान कम र प्रचारवादी बढी भएको भन्दै एकअर्कामा प्रत्यक्ष, परोक्ष रूपमा आरोप-प्रत्यारोप अनि बहस पनि चल्न थाल्यो।

सभाहलमा यस्तो बहस चलिरहँदा मलाई भने करिब एक वर्ष पहिले एउटा गाउँमा भेटिएकी महिलाको सम्झना आयो।

झट्ट हेर्दा अन्दाजी ४० काटेकी जस्तो लाग्ने, पिँठ्यूमा घाँसको भारी, भारीमाथि अन्दाजी एक डेढ वर्षको बच्चा, अर्को हातले टुकटुक हिँड्दै गरेको बच्चाको औंला समाएर सहारा दिँदै आइरहेकी महिलाले चौतारीमा भारी बिसाएर आफ्नो बच्चालाई दूध चुसाउन लागिन्।

उनीसँग केहीबेर कुराकानी गर्न मन लागे पनि उनले भने पटक्कै चासो देखाइनन्। निकैबेर बोल्न आनाकानी गरे पनि पछि उनले आफ्नोबारे बताएकी थिइन्।

उनको नाम जुनेली रहेछ। तर अहिलेसम्म उनलाई कसैले पनि यो नामले बोलाएका छैनन् रे। माइतीगाउँको नाम डाँडागाउँ भएकोले घरतिरका मान्छेले उनलाई डाँडागाउँले भनेर बोलाउँछन्। उनका श्रीमान कहिले लाहुरमा काम गर्न जाने भएकाले लाउरेनी पनि भन्दा रहेछन्।

उनी जन्मनासाथ आमा बितेकीले जन्मजातै टुहुरी। माइतमा सबैले आमा टोक्ने (अलच्छिनी) भन्थे। घरगाउँमा यी तीखो वचन बल्दा उनलाई असह्य पीडा हुन्थ्यो।

पीडा पोख्दै उनले भनिन्, ‘मलाई त सबै ठाउँमा अरूलेभन्दा महिलाले नै धेरै पीडा दिएकोले म त महिला पीडित हजुर। घरमा नि बजै (हजुरआमा)ले यो अलच्छिनी भनेर धेरै नै टोकसी रहन्थिन्। एक वर्षकी हुँदा बाले अर्की आमा ल्याए। सानीआमाले पनि कहिले माया गरिनन्। १२ वर्ष पुगेपछि त मेरो नि बिहे भैहाल्यो। बिहे गरेर गएको घराँ नि कहिले सुख पाइनँ।’

उनी घरकी माहिली बुहारी। माइतीको आर्थिक अवस्था कमजोर भएकोले सासू, जेठानी,नन्द, आमाजु सबैले हेप्थे रे।

‘अनि छोराछोरी कति छन्, श्रीमान कहाँ के गर्नुहुन्छ?’, मैले सोधें।

‘छोरा त म अभागीको भाग्यमा लेखेको रै’नछ कि हजुर। छोरी चार वटी जन्मेका दुई जना हैजाले मरिगए। बाँकी यिनै दुई जना। श्रीमान् त के गर्ने भनम् खै कहिलेकाहीँ कमाइ गर्न बम्बै जान्छन्। कहिले यतै डुली बस्छन्। छोरो नपाएकी भनेर टोकसी रहन्छिन् सासू पनि। अहिले नि दुईजिउकी छु।’

‘फेरि अर्को?’ मैले यति बोल्न नपाउँदै लजाउँदै उनले भनिन्, ‘हो नि हजुर चार महिना लाग्दैछ। मैले यसपालि नि छोरो नपाए त सौता हाल्ने धम्की दिइरहन्छन् यिनीहरूका बाउ पनि। घराँ बसेर यसो कामधन्दा नसघाए पनि ठीकै छ बरु, जेनतेन घरव्यवहार धानेकै छु यसपालि नि छोरो भएन भने सौता हाल्छन् कि भन्ने सुर्ता लागेको छ मलाई त।’

‘आजभोलिको जमानामा पनि छोराछोरी भन्नुहुन्न दिदी फेरि छोरो नपाउनु तपाईंको दोष पनि त होइन। तपाईंका श्रीमानले अर्को बिहे गरे त बहुविवाहको कानुन लाग्छ नि’ भनेर सम्झाउन खोज्दा मेरो अर्ति उपदेश बीचैमा काटेर प्रतिक्रिया दिइहालिन्, ‘यहाँ त यस्ता कानुन कुन्नि के जाति अधिकार भन्ने कुरा कसले सुन्छर हजुर। यस्तो नियम कानुनका कुरा गर्न त सहरबाट बेलाबेला कति आइरहन्छन् कति। हजुरले ऐले भनेजस्तै भन्छन्, सोध्छन के-के लेख्छन्, फोटो खिच्छन् जान्छन्। उनीहरूका कुरा सुन्दा गैराघरे मनकली घरकी न घाटकी भई बिचरी!’

‘हँ कसरी?, आश्चर्य मान्दै मैले सोधें।

‘मनकलीका श्रीमानले दारु खाएर उसलाई पिट्दा रहेछन्। ती मान्छे यस्तो हिंसा गरे प्रहरीमा उजुरी गर्नू भनेर उक्साएछन्। मनकलीले प्रहरीमा उजुरी त दिइन् तर घरायसी झगडा भनेर मिलापत्रमा छोडिहाल्यो। पछि मनकलीमाथि रिस पोखेर सौता हाले। अहिले उसको र दुई छोराछोरीको बिचल्ली छ। फेरि अहिले त रोगले पनि पेलेको छ।’

‘कस्तो रोग?’

‘उही त हो हामी आइमाईको, आङ(पाठेघर) खस्ने रोग। सुत्केरीमा राम्ररी सुसार नपाएर ठूलो भारी बोकेर यस्तो भको रे भन्छन्। भारी नबोकी खान कल्लाई पो पुग्छ र यहाँ। यस्तो रोग त कतिको छ कतिको यहाँ, भन्न नि सरम लाग्ने हामी आइमाईको रोग त।’

‘रोग लागेपछि लाजसरम मान्नु भएन नि बरु उपचार पो गर्नुपर्छ त’, मैले उनको गुनासोलाई बीचैमा रोकेर सम्झाएँ।

‘सरम नमानेर के गर्ने, आफ्नै श्रीमानले त फोहोरी भनेर परपर तर्किन खोज्छन्,’ उनले भन्दै गइन्,‘हामी महिलाले मात्र हरेक दु:ख झेल्नु पर्ने। कति सुत्केरी हुन नसकेर मरेका छन्, कोही रोगले पिल्सिएर बसेका छन्। तै कोहीकोही भाग्यमानीका त लोग्ने अलि दयालु हुन्छन् आफ्नी जहानको मर्म बुझ्छन् तर सबै त्यस्ता कहाँ हुन्छन र!

यसो कहिलेकाहीँ सोच्छु हामी महिलाको शत्रु महिला नै हुने किन होला? यसो भएसी त लोग्ने मान्छेले त झन् हेप्ने बाटो भैहल्दो रैछ। अब घरमा बुढी छ भन्ने थाहा हुँदाहुँदै अरुमाथि सौता बन्न आउने पनि महिला, महिलालाई हेप्ने नि महिला हुनत हामी अनपढ भएर यस्तो भएको हो कि! सहरमा धेरै पढेका ठूला-ठूला महिला त त्यस्ता किन हुँदा हुन्, जानी जानी अरुमाथि सौता किन बन्दा हुन् र है हजुर?’

उसले त्यसो भनिरहँदा मेरो मन मस्तिष्कमा विवाहित पुरूष भनेर जानी जानीकन पनि महिलामाथि सौता बनेका मन्त्री, सांसद, कलाकार, आदि-आदि समाजका पथप्रदर्शक महिलाहरूको तस्बिर झल्झली नाचिरह्यो। तर पनि मैले उनलाई निराश पार्न चाहिनँ।

यसरी उनले आफ्नो कथाव्यथा पोख्दै गर्दा उनकी सानी छोरीले पनि आफ्नो भोक शान्त पारिछ सायद र त मसँग आँखा जुधाउँदै अनि आफ्नी आमाको फरियाको सप्कोमा लुकामारी खेल्न थाली।

‘ओहो! हजुरसँग कुरा गर्दागर्दै अबेर भएको ख्यालै गरिनछु। अब त जान्छु है। फेरी सासूबजैले छोरासँग कुरा लाएर भुइँचालो नै आउने हो कि’ भन्दै हतार-हतार गर्दै घाँसको भारी बोकेर घरतिर लागिन्।

त्यही सम्झनामा हराइरहेकी रहेछु म पनि, आधा घन्टाको लागि चिया/नास्ता खाने विश्राम भनेर सबैजना कुर्सीबाट उठ्दा पो झसंग भएँ।

त्यो कार्यक्रममा के कस्ता छलफल भए निचोड के निस्के त्यो त त्यति पत्तो पाइनँ तर मनमा भने खुल्दुली लागिरह्यो। महिलाको रोग भनेर समाजको डर, लाजले आफ्नो रोग नै लुकाएर बस्न विवश, छोरा नपाए सौता बेहोर्नुपर्ने डरले रातदिन छटपटाएका, आफ्नै भाग्यलाई धिक्कार्दै घरेलु हिंसा सहन बाध्य जुनेली जस्ता ग्रामीण महिलाका वास्तविक समस्या समाधान गर्न के आजको यो गोष्ठी प्रभावकारी होला? – सेतोपाटीबाट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *