मदिरा सेवनबाट ११ को ज्यान गएपछि गाउँ नै शोकमा, दुई जना पक्राउ

Spread the love

काठमाडाैं : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा घरेलु रक्सी पिउँदा दुई सातामा ११ जनाको ज्यान गएको छ । तीमध्ये आठको बिहीबार र शुक्रबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल, इन्द्रजित महरा, ब्रह्मदेव यादव, गुदर महरा, रामनारायण महरा र नीरश यादव छन् । धनुषाकै रूपैठ घर भई रमदैयास्थित ससुरालीमा बस्दै आएका राजु महराको पनि मृत्यु भएको छ । शत्रुधन मण्डलको शुक्रबार साँझ जनकपुरको सिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

दुई साताअघि रमदैयासँगै जोडिएको मुसहर बस्तीमा मदिरा सेवनबाटै भुनटुन सदा, दसै सदा र विजय महराको मृत्यु भएको थियो । सबैको सुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर ज्यान गएको स्थानीयले बताएका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

मदिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन् । ईश्वरको सिटी अस्पतालमै उपचार भइरहेको छ । अन्यको पनि जिल्लाका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

गाउँकै पसलमा प्राप्त घरेलु मदिरा सेवन गर्दा उनीहरूको मृत्यु भएको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पु नायकले पनि उनीहरूले होलीमा अत्यधिक सेवन गर्दा ज्यान गएको बताए । ‘उनीहरूले कुन मदिरा खाएको हो पुष्टि गर्न अनुसन्धान थालेका छौँ, स्थानीय केही पसलबाट मदिरा बरामद पनि गरेका छौँ,’ इन्स्पेक्टर नायकले भने, ‘बरामद मदिरा विषालु हो–होइन जाँच गर्न पठाएका छौँ ।’ प्रहरीले अवैध घरेलु मदिरा बेचेको आरोपमा स्थानीय रामनन्द साह र तारापट्टी भनिने छठियादेवी चौधरीलाई पक्राउसमेत गरेको छ । धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्की उनीहरूको मृत्युको कारणबारे अनुसन्धान सुरु भएको बताउँछन् ।

गाउँ नै विक्षिप्त

मदिराले निम्त्याएको क्षतिले रमदैया गाउँ विक्षिप्त छ । ७० वर्षीया सिलोचनादेवी मण्डलले दुई छोरा गुमाएकी छिन् । मृतक शत्रुधन र रामविलास उनका छोरा हुन् । अर्का छोरा भरत अस्पतालको आइसियूमा छन् ।

‘म बुढी बरु जिउँदै छु, तर छोराहरू मलाई छाडेर गए,’ सम्हालिन नसकेकी सिलोचनाले भनिन् । तीन भाइले छिमेकी शम्भु चौधरीको पसलबाट घरेलु मदिरा ल्याएर खाएका थिए । घटनालगत्तै शम्भु फरार छन् ।

रामविलास १० दिनअघि मात्रै मलेसियाबाट घर फर्केका थिए । तीन छोरी र एक छोरा रहेका रामविलासको घरको आर्थिक अवस्था दयनीय छ । ‘कमाउने उहाँ मात्रै हुनुहुन्थ्यो, उहाँले छाडेर गएपछि दुनियाँ नै अन्धकार भयो,’ श्रीमती फुलोदेवीले भनिन्, ‘२० लाखभन्दा बढी ऋण छ । अब कसरी तिर्ने ? छोरीहरूको विवाह कसरी गर्ने?’

घरेलु मदिराले ज्यान जाने ४५ वर्षीय ब्रह्मदेव यादव गत शुक्रबार मात्रै दिल्लीबाट फर्किएका थिए । दिल्लीमा उनी एक चाइनिज कम्पनीमा काम गर्थे । कोरोना त्रासका कारण कम्पनी तत्कालका लागि बन्द भएपछि उनी घर फर्केका थिए । भाइसँग बसेर बुधबार मदिरा पिएका उनको बिहीबार दिउँसो मृत्यु भएको हो ।

‘सुरुमा टाउको र पेट दुख्यो भन्नुभयो, गाउँकै पसलबाट पेनकिलर ट्याब्लेट ल्याएर दिएँ, त्यो खाएपछि केही आराम भयो भन्नुभयो,’ श्रीमती धनलुटनले भनिन्, ‘केही समयपछि त आँखा देख्नै छाडेको, पेट डम्म फुलेको भन्नुभयो । अस्पताल जाँदै गर्दा बाटैमै ज्यान गयो ।’

मृतकका एक छोरा र चार छोरी छन् । ६ वर्षीय छोरा अमृतले अहिले बाबुको किरिया गरिरहेका छन् । आँसु झार्दै धनलुटनले भनिन्, ‘एउटी छोरीको त विवाह भइसकेको छ, अरू सबै सानै छन्, बस्ने घर र एक कट्ठा खेत पनि महाजनको नाउँमा छ ।’

शुक्रबार ज्यान गुमाएका २५ वर्षीय इन्द्रजित महराले घरमै सानो किराना पसल चलाएर घरपरिवार पाल्दै आएका थिए । अन्य मृतक रामविलास महरा र राजु महरासँगै बसेर उनले घरेलु मदिरा पिएका थिए । उपचारका लागि धरान लैजाँदै गर्दा उनको बाटैमा ज्यान गएको हो ।

डेढ वर्षअघि अञ्जु महरासँग विवाह गरेका इन्द्रजितको ६ महिनाकी छोरी छिन् । घरमा कमाउने इन्द्रजित मात्रै थिए । श्रीमान्को मृत्युमा अञ्जु पटक–पटक मुर्छित हुन्छिन् । सान्त्वना दिन पुग्ने सबैलाई उनको प्रश्न हुन्छ, ‘म अब कसको सहारामा बाँच्ने ? मेरो दुनियाँ कसरी चल्छ ?’ सान्त्वना दिनेहरू जवाफविहीन मुन्टो निहु¥याउँछन् । इन्द्रजितकै घरको अवस्था रामविलास, राजु र गदरी महराको घरमा छ । उनीहरू सबै छिमेकी हुन् । अधिकांश मृतक मजदुरी गरेर गुजारा चलाउने गरिब परिवारका सदस्य छन् ।

देवी रिसाएर घटना भएको अन्धविश्वास

रक्सीले गाउँमा भटाभट ज्यान लियो । मृतक र घाइतेका परिवार शोकमा छन् । अन्य गाउँले त्रासमा । उनीहरूलाई लागिरहेको छ, यो सब दैवी शक्तिले भयो । यही अन्धविश्वासका कारण उनीहरू घरमा ताल्चा मारेर भाग्न थालेका छन् ।

समाजवादी पार्टीकी स्थानीय नेतृ एवं पूर्वसांसद उर्मिला यादवले भनिन्, ‘यहाँ आउँदा मलाई पनि गाउँका केही मान्छेले रोके । महारानी (देवी) रिसाएर घटना भएको हो, नजानुस् भने । गाउँमा बसे आफ्नो परिवारका सदस्यसमेत मर्ने भन्दै घर छाडेर भागेका छन् ।’

एक महिलाले आफूमाथि महारानी सवार भएको भन्दै काम्न थालेपछि स्थानीय झन् त्रसित भएका छन् । स्थानीयले शुक्रबार गाउँको डिहबार थानमा सलामीसमेत दिएका छन् । सबै घरबाट कम्तीमा एक–एकजना भेला भएर देवीको सामूहिक पूजा गरेका छन् । दुई महिनाअघि क्षीरेश्वरनाथ नगरपालिका–१० चोरवा गाउँमा महारानी (देवी) आएकोमा स्थानीय महरा समुदायले अपमान गर्दा रिसाएर अहिलेको घटना भएको कतिपय स्थानीयको भ्रम छ ।

होलीअघि क्षीरेश्वरनाथ नगरपालिका–१ को मुसहर बस्तीमा मदिरा सेवनबाटै भुनटुन सदा र विजय सदाको मृत्यु भएको थियो । तर, अधिकांश स्थानीय मुसहर समुदायले घरेलु मदिरा सेवन गर्ने भएकाले घटना बाहिर ल्याउन चाहेनन् । उनीहरूले पनि देवी र डिहबार थान रिसाएर घटना भएको निष्कर्ष निकाले । स्थानीयको अन्धविश्वासलाई महोत्तरी जगरियाका एक धामीले थप मलजल गरेका छन् । आफूलाई ५० हजार दिए मुसहर बस्तीलाई तन्त्रमन्त्रले बाँध्ने र आइन्दा यस्तो मानवीय क्षति नहुने बताइरहेका छन् । एउटा बोका, आठ परेवा, सवा पसेरी लड्डु र फूल–अक्षता पनि माग गरेका छन् ।

अहिले मुसहर समुदाय धामीका लागि पैसा जोडजाममा लागेको छ । प्रत्येक घरबाट चन्दा उठाउन थालिएको छ । स्थानीय चन्देश्वर सदाले भने, ‘यहाँ ८० भन्दा बढी मुसहरका घर छन्, सबैबाट तत्काल पाँच सयका दरले चन्दा संकलन गरिरहेका छौँ, पैसा जम्मा भएपछि एक–दुई दिनमै पूजापाठ गराउँछौँ ।’

स्थानीयमा अन्धविश्वासले वास गर्दा स्थानीय जनप्रतिनिधिलाई कुनै चासो छैन । मृत्यु र भ्रम दुवैमा जनप्रतिनिधिले चासो दिएका छैनन् । अहिलेसम्म आफूहरूको समस्या बुझ्न मेयर र वडाध्यक्ष नआएको स्थानीयले बताए । नयाँ पत्रिकामा खबर छ ।

मदिरा सेवनबाट ६ जनाको मृत्यु भएपछि गाउँ नै शोकमा, दुई जना पक्राउ

जनकपुरधाम, घरेलु मदिरा सेवनबाट ६ जनाको मृत्यु भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२, रमद‌ैया गाउँमा मदिरा उत्पादन तथा बिक्रीवितरण गर्ने एक महिला र एक पुरुष छन्। दुवै जनालाई प्रहरीले शुक्रबार दिउँसो घरबाटै पक्राउ गरेको हो।

‘मदिरा बिक्रीवितरण गर्ने गरेको आशंकाको आधारमा दुवै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौं’, ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले भने, ‘घटनामा अन्यको पनि संलग्नता हुन सक्ने हाम्रो आशंका छ।’

प्रहरीले दुवैजनाको नाम खुलाएको छैन। स्थानीयका अनुसार गाउँमै मदिरा उत्पादन गर्ने रामानन्द साह र तारापट्टी बाली भन्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको हो।

होलीको अवसरमा अत्यधिक घरेलु मदिरा सेवन गर्दा रमदैयाका ६ जनाको ज्यान गएको छ भने ३ जना सिकिस्त भएका छन्। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विभाद मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा, राजु महरा र विजय सदा छन्।

एउटै बस्तीकै ६ जनाको मदिरा सेवनबाट मृत्युु भएपछि सिंगो रमदैया गाउँ नै शोकमा डुबेको छ। स्थानीयबासीले मदिरा उत्पादन तथा बिक्रीवितरण गर्नेमाथि कडा कारबाहीको माग समेत गरेका छन्।

प्रहरीले अवैध घरेलु मदिरा नष्ट र बिक्रिवितरण निषेध अभियान चलाउने गरेको पनि उत्पादन र बिक्रीवितरण भने रोकिएको छैन। प्रहरीले रक्सी व्यवसायीसँग महिनावारी उठाएर उल्टै संरक्षण दिनेगरेका कारण गाउँ–गाउँमा मदिरा उत्पादन भइरहेको सर्वसाधारणको गुनासो छ।

घटनापश्चात् पक्राउ परेका दुवै जनालाई प्रहरीले एक वर्षअघि पनि पक्राउ गरेर छाडेको थियो। ईलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरका तत्कालीन प्रहरी निरीक्षक अमिर दाहालले उनीहश्रलाई पक्राउ गरेका थिए।

त्यतिबेला क्षिरेश्वरनाथ नगरपालिका– २ का वडाध्यक्ष श्याम यादवले मदिरा उत्पादन तथा बिक्रीवितरण नगर्ने सर्तमा दुवैलाई छुटाएका थिए। तर, वडाध्यक्षकै संरक्षणमा उनीहरुले आफ्नो व्यवसाय जारी राखेको स्थानीयहरुको भनाइ छ।

प्रहरी निरीक्षक दाहालको बम विस्फोटमा परि मंसिरमा मृत्युु भएपछि झनै मदिरा बिक्रीवितरण गर्नेको मनोबल बढेको थियो।

१० महिनाअघि मात्र धनुषाकै एकै गाउँका ६ जनाको अवैध घरेलु मदिरा सेवनबाट ज्यान गएको थियो। १३ र १४ असार २०७५ मा धनुषाको कमला नगरपालिका ५ का ६ जना स्थानीयको विषाक्त घरेलु मदिराबाट मृत्यु भएको थियो ।

४० वर्षका रामनाथ पासवान, ५० वर्षका रामचन्द्र पासवान, ३६ वर्षका मणि पासवान, ४५ वर्षका सावीर अन्सारी, राजवीर महतो र गंगा पासवानको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *