कोरोना जाँच्ने ल्याबकी ‘हाकिम’ डा. रुना झा : ज्यान गए पनि नाइँ भन्न पाइन्न !

Spread the love

जनकपुरधाम : संसारभर नोबेल कोरोना भाइरसको सन्त्रास छ । विश्व स्वास्थ्य संगठनले महामारी नै घोषणा गरिसकेको छ । कोरोना संक्रमणका कारण विभिन्न देशका लागि ४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने हजारौं व्यक्ति संक्रमित भएर उपचार गराइरहेका छन् ।

त्रास यतिसम्म छ कि सामान्यतया स्वास्थ्यकर्मी पनि संक्रमित व्यक्तिको उपचार गर्न त्यति सहजै तयार हुन सक्ने हिम्मत गर्दैनन् । चीनमा कोरोनाकै कारण स्वास्थ्यकर्मीको निधन समेत भएको खबर सार्वजनिक भएको थियो ।

कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर स्वास्थ्यकर्मीले प्रयोगशाला (ल्याब) मा ती व्यक्तिबाट संकलित नमूना परीक्षण गर्नुपर्छ । ल्याब परीक्षण विना कोरोना भाइरसबारे यकिन हुँदैन ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

हाल नेपालमा कोरोना भाइरस भए/नभएको यकिन गर्ने एक मात्र स्थान छ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं । त्यो ल्याबको नेतृत्वमा छिन्, महिला चिकित्सक डा. रुना झा ।

चीनको वुहान प्रान्तबाट उद्धार गरिएका १७५ जना नेपालीसहित अन्य व्यक्तिको स्वास्थ्य नमूना परीक्षण झाकै नेतृत्वको ल्याबमा भइरहेको छ । ल्याबमा भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीसहित फागुन २९ गतेसम्म ४५० जना व्यक्तिको कोरोना भाइरस सम्बन्धी परीक्षण गरेको छ ।

परीक्षण गरिएका ४५० जनाको नमूनामध्ये १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ती व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका छन् । उपचारपछि ती व्यक्तिको नमूना पुनः २ पटक परीक्षण गर्दा ‘नेगेटिभ’ देखिएको थियो ।

कोरोनाको त्रासबीच डा. झा नेतृत्वको ल्याबले निरन्तर काम गरिरहेको छ । धनुषाको हंशपुर नगरपालिकाको बघचौरा गाउँका धनञ्जय झाकी छोरी हुन् डा. रुना झा । पाकिस्तानबाट एमबीबीएस र नेपालकै इन्स्टिच्यूट अफ मेडिसिनबाट प्याथोलोजीमा एमडी गरेकी उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लामो समय प्राध्यापन गरिन् ।

साढे ४ वर्षअघि स्वास्थ्य मन्त्रालयमा निजामती सेवाको परीक्षा उत्तीर्ण गरेर ११ औं तहमा नियुक्त भएकी थिइन् उनी । विगत १० महिनादेखि उनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक पदमा कार्यरत रहेर संस्थाको ‘हाकिम’को भूमिका सम्हालिरहेकी छन् ।

कोरोना भाइरसको त्रास संसारभर फैलिरहेका बेला उनले ल्याबको नेतृत्व कसरी सम्हालिरहेकी छन् ? डा. रुना झासँग गरिएको कुराकानी उनकै शब्दमा –

चीनको कोरोना प्रभावित क्षेत्र वुहानबाट नेपाली नागरिकलाई उद्धार गरेर भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा राख्न नेपाल सरकारले व्यवस्थापन गरेको थियो । हामी त्यसका लागि तयार भइसकेका थियौं । नेपाली चीनबाट कहिले आउँछन् भन्ने कुरा गोप्य राखिएको थियो ।

नेपाल आएको २४ घण्टा भित्रमा सबै जनाको परीक्षणका लागि नमूना संकलन गर्नुपर्ने राष्ट्रिय जिम्मेवारी हाम्रो काँधमा आएको थियो । त्यसका लागि मैले आफ्नै नेतृत्वमा १० जनाको टीम तयार गरेको थिएँ । भित्रभित्रै सबै जनामा डर भएपनि पेशाप्रतिको प्रतिबद्धता र जिम्मेवारीका कारण कसैले पनि नगर्ने वा नजाने भनेर भनेनन् । १८ देखि १९ वर्षकी जुनियर स्वास्थ्यकर्मी महिला कर्मचारीदेखि सिनियर चिकित्सकसम्मले एक पटक पनि इन्कार गरेनन् । हामीले सबै जनालाई त्यसै हिसाबले मोटिभेट नै गरेका थियौं ।

फागुन ४ गते १७५ जना नेपालीलाई उद्धार गरेर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । उनीहरू आउनुअघि नै मैले आफ्नो टीमलाई लिएर एक पटक क्वारेन्टाइन पुगेर स्थलगत निरीक्षण गरेको थिएँ । त्यहाँ नेपाली सेनाको चिकित्सक टीमको सहयोगमा नमूना संकलनका लागि ४ वटा स्टल बनाउन लगाएकी थिएँ ।

सबै जनाको नमूना संकलन गर्न समय लाग्न सक्ने हुनाले ४ वटा स्टल बनाएका थियौं । कमसेकम समयमा नमूना संकलन गर्नु थियो । किनभने हामीले लागाउने पोशाक ‘पर्सनल प्रोटेक्सन इक्विपमेन्ट’ लामो समय लगाउन सक्दैनौं । छोटो समयमै पोशाक फेर्नुपर्ने हुन्छ ।

भोलिपल्ट बिहानै हामीलाई क्वारेन्टाइन जानु थियो । हामी दशैं जनामा एक किसिमको भय थियो । किनभने कोरोना भाइरस उत्पत्ति भएको इपिसेन्टर चीनको वुहान शहरबाट उनीहरू आएका थिए । उनीहरू नेपाल आउनु अघिसम्म वुहानमा हजारौं मानिसहरू संक्रमित भइसकेका थिए । त्यसैले क्वारेन्टाइनमा राखिएका व्यक्तिमा पनि त्यो संक्रमण हुन सक्ने आशंका भने छँदै थियो । त्यसैले नमूना संकलन गर्ने बेला कुनै पनि सामान्य लापरवाही भए हामीमा पनि संक्रमण हुन सक्ने खतरा थियो तर मैले टोलीको नेतृत्व गरिरहेकी कारण आफूलाई उत्साहित बनाउँदै सबैलाई उत्प्रेरित गरेका थियौं ।

सबै जना प्रतिबद्ध भएर खुशी–खुशी जान तयार भएका थियौं । हामी क्वारेन्टाइनमा जाँदैछौं भन्नेबारे हामी कसैले पनि घरपरिवारका सदस्यलाई जानकारी गराएका थिएनौं । अन्य अवस्थामा पनि गराउँदैनौं । किनभने त्यो हाम्रो नियमित काम हो । विभिन्न संक्रमणको परीक्षण गर्ने बेला समेत हामीले त्यति सावधानी अपनाउने गरेका हुन्छौं ।

क्वारेन्टाइनका लागि हामी सबै तयार भएर गाडीमा बस्यौं । १७५ जना भएपनि २०० जनाका लागि सामग्री लिएर गएका थियौं । कन्टेनर खराब भए वा केही समस्या भए थप कन्टेनर आवश्यक पर्ने भएका कारण त्यति संख्यामा बन्दोबस्ती गरेर गएका थियौं । आर्मीको कन्ट्रोल रुममा पुगेर हामीले माइकिङ गरेर तपाईंहरूको नमूना संकलन गर्न आएका हौं, सहयोग गर्नुहोला भनेर भनेका थियौं । आत्तिनुपर्ने कुरा छैन, नमूना संकलन गरेर त्यसको परीक्षण गर्ने भनेका थियौं । तपाईंहरूको मुखको र्‍याल (थ्रोट स्वाब) र नाकको र्‍याल (नेजल स्वाब) लिनेछौं भनेर माइकिङ गरेर काउन्सिलिङ गरेका थियौं । ४ वटा ल्याब कक्ष बनाइएको छ । सबै जना पालैपालो आ–आफ्नो नमूना दिन सहयोग गर्नुहोला भनेर भनेका थियौं ।

हाम्रो टोलीका २–२ जना सदस्य ४ वटा टीममा विभाजित भयौं । १ जना भने सबै टोलीलाई सुपरीवेक्षण गर्नका लागि बस्नुभयो । सबै जनाको मुखभित्र हात समेत पसाएर थ्रोट स्वाब लियौं । आमनेसामने बस्ने मान्छे डराइरहेको अवस्थामा हामीहरू उहाँहरूको ठीक सामुन्ने मात्रै बसेनौं, उहाँहरूको मुखभित्र हात पसाएर स्वाब निकालेका थियौं ।

आफ्नै हातले नमूना झिकेर ‘भाइरल ट्रान्सपोर्ट मिडिया’ कन्टेनरमा ती नमूना राख्यौं । नमूना संकलन गरेर राख्दा पनि हामीले धेरै नै सावधानी अपनाएका थियौं । कन्टेनरमा लिक्विड र नमूना राखेका थियौं । ३ तहमा ‘ट्रिपल प्याकेजिङ लेयर’ले नमूनालाई बेरेका थियौं । ४ डिग्री सेन्टिग्रेड तापक्रममा मेन्टेन गर्नुका साथै स्वाब लिकेज नहोस् भनेर ३ तहमा बेरेका थियौं । चुहावट भएपनि त्यसै कन्टेनरभित्र रहोस् भन्ने सावधानी अपनाएका थियौं ।

क्वारेन्टाइनमा १ जना व्यक्तिको नमूना संकलनमा करीब १० मिनेट जतिको समय लागेको थियो । ४ घण्टा जतिमा हामीले नमूना संकलन गरेका थियौं । परीक्षण प्रतिवेदन आउन ३ दिनभन्दा पनि बढी समय लाग्छ तर हामीले राति ११ बजेसम्म लगातार काम गरेर ३ दिनभित्रै परिणाम दिएका थियौं । नमूना संकलनका लागि १० जना थियौं तर त्यसको परीक्षण गर्नका लागि कोरोना सम्बन्धी तालिम प्राप्त दक्ष तथा विज्ञ छुट्टै ६ जनाको विशेष टीम बनाएका छौं । संकलित नमूनालाई रियल टाइम ‘पोलिमिरेट चेन्ज रियक्सन’ (पीसीआर) मशिनमा राखेर परीक्षण गर्छौं ।

दिनरात कम गरेर हामीले त्यो परीक्षण गरिरहेका छौं । हलसम्म कुनै पनि व्यक्तिमा संक्रमण फेला परेको छैन । पहिलो पटक परीक्षण गरिएको व्यक्तिमा कोरोना भाइरसको पोजिटिभ संक्रमण फेला परेको थियो तर त्यो व्यक्तिको फेरि पनि २ पटक परीक्षण गर्दा नेगेटिभ आएको थियो । पछि त्यो नमूनालाई हङकङ पनि पठायौं । त्यहाँ पनि नेगेटिभ नै आयो । हाम्रो परीक्षण प्रतिवेदनलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता मात्र प्रदान गरेको छैन, पूरा विश्वास र भरोसा गर्छ ।

देशभरका प्रादेशिक अस्पताल तथा अन्य उच्चस्तरीय अस्पतालका प्रयोगशालाका स्वास्थ्यकर्मीलाई नमूना संकलन गर्नका लागि काठमाडौंमा बोलाएर हामीले अभिमुखीकरण गरेका छौं । त्यसैअनुसार शंकालु भनिएका व्यक्तिको नमूना संकलन गरेर यहाँ पठाउने गरिएको छ ।

नेपालमा अहिले कुनै पनि व्यक्ति संक्रमित नभएका कारण त्यति चिन्ता लिनुपर्ने आवश्यक छैन तर सतर्कता भने जरुरी छ । गलत समाचार र गलत भ्रममा नपरेर अस्पतालमा उपचार गराउनु जरुरी छ ।

प्रयोगशालमा ८० जना जनशक्ति छन् । यदि नेपालमा भोलि महामारी नै फैलियो भने पनि परीक्षण गर्नका हामीसँग पर्याप्त जनशक्ति छ । अन्य कुराको नेपाल सरकारले व्यवस्थापन गर्न सक्यो भने हामीले पनि परीक्षणका लागि त्यसको व्यवस्थापन गर्न पूरापूर तयारी अवस्थामा नै छौं ।

चीनमा उपचारमा संलग्न कतिपय चिकित्सक पनि संक्रमित भएर ज्यान गुमाएका छन् । त्यस्तो अवस्थामा नेपालका चिकित्सक पनि प्रभावित हुनसक्ने अवस्थामा ज्यानको समेत पर्वाह नगरेर देश र जनताको सेवाका लागि प्रतिबद्ध छौं ।

हामीले यसअघि पनि जोखिमपूर्ण इन्फ्लुएन्जासहित विभिन्न संक्रमण फैलिने रोगको परीक्षण गर्दै आएका कारण हामी त्यसका लागि अभ्यस्त र तयारी अवस्थामा नै बस्छौं । जसरी सेनाले बोर्डरमा गएर आफ्नो ज्यान पर्वाह नगरेर युद्धमा जान्छन् – कि मार्छन् वा मर्छन्, त्यस्तै हो, हाम्रो पेशा । हामी पनि सर्ने रोगको लागि नमूना संकलनदेखि परीक्षण गर्दा हामीमा पनि सर्ने र हाम्रो समेत मृत्यु हुन सक्ने सम्भावनालाई समेत नजरअन्दाज गरेर पेशाप्रति प्रतिबद्ध छौं । चाहे हाम्रो नै ज्यान किन नजाओस्, हामीले नाइँ भनेर भन्न पाउने छुट हुँदैन । अजय अनुरागीले लोकान्तरमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *