ओलीको भाषण भारतीय मिडियामा भाइरल

Spread the love

२ मङि्सर, काठमाडौं : प्रधानमन्त्री केपी ओलीले कालापानीबाट सेना हटाउन भारतलाई गरेको आग्रहलाई लिएर भारतीय मिडियाले ‘मसला’ बनाएका छन् ।

गत आइतबार प्रधानमन्त्री ओलीले नेपाली भूमि नमिच्न र सीमामा तैनाथ सेना फिर्ता गर्न भारतलाई आग्रह गरेका थिए । काठमाडौंमा युवा संघद्वारा आयोजित कार्यक्रममा उनले शालिन शैलीमा गरेको आग्रहलाई भारतीय मिडियाले ‘रवाफ’को संज्ञा दिएका छन् ।

प्रधानमन्त्री ओलीले अरु देशको एक इन्च पनि भूमि आफूहरुले नमिच्ने र आफ्नो भूमि पनि अरुलाई नदिने अभिव्यक्ति दिएका थिए । यस क्रममा उनले नेपाली भूमिमा तैनाथ विदेशी सेनालाई फिर्ता लैजान आग्रह गरेका हुन् । ओलीको त्यही भाषणलाई लिएर भारतीय मिडियाले अनेक टिप्पणी गरे । बिबिसी हिन्दी लगायत भारतका मूलधारका मिडियाले नै ओलीको भनाइलाई प्राथमिकता साथ समाचार बनाए ।

कतिपयले त ओलीको यो अभिव्यक्तिलाई ‘नेपालका प्रधानमन्त्रीको रवाफ’को संज्ञा समेत दिए । भारतको चर्चित मिडिया आजतकले ‘नेपालका प्रधानमन्त्री ओलीको रवाफ’ भन्दै कालापानीको विषयलाई समाचार बनाएको छ । आजतकले लेखेको छ, ‘कालापानी पर नेपाली पिएमने दिखाए भारतको तेवर : एक इन्च भी जमिन नहीँ देंगे ।’

अमर उजालाले भने ‘नेपाल के प्रधानमंत्री ओली का एलान, काला पानी इलाके से हटाए जाएंगे भारतीय सैनिक’ शीर्षकमा समाचार बनाएको छ । यस्तै ‘भारत से कालापानी विवाद पर नेपाली पीएम ओली बोले : एक इंच भी ज़मीन नहीं मिलेगी’ भन्दै बिबिसी हिन्दीले समाचार लेखेको छ ।

कात्तिक २१ गते मात्रै नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा एक पत्रकारले भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सा र नेपालको प्रदर्शनबारे प्रश्न सोधेका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले भने आफूहरुले नक्सा हेरफेर नगरेको जवाफ दिएका थिए । भारत सरकारले आफ्नो देशको नक्सा सार्वजनिक गरेलगत्तै नेपालका विभिन्न भागमा प्रदर्शन भएको थियो । यद्यपि भारतीय पक्षबाट कुनै चासो देखाइएको थिएन ।

प्रधानमन्त्री ओलीको भाषण आएको भोलिपल्टै भारतीय मिडियामा कालापानीको विषयले स्थान पाएको हो । तर ती मिडियाले कालापानी क्षेत्रलाई ‘नेपाली भूमि’ भनेर समाचारमा उल्लेख भने गरेका छैनन् । – अन्नपूर्ण

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *