अनमोल केसीमाथि ठगी गरेको आरोप : प्रहरीमा उजुरी

Spread the love

काठमाडौं। अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगी गरेको आरोपमा केही दिन अगाडि उजुरी परेको हो।

चलचित्र ‘धूपौरे’मा अभिनय गर्न कागजी सहमति गरी पैसा पनि लिइसकेपछि अन्त्यमा चलचित्र नखेलेर ठगी गरेको भन्दै अनमोलविरुद्ध उजुरी परेको हो। चलचित्रका निर्माता रुपेन्द्र खड्गी र जयन श्रेष्ठले केसीविरुद्ध ठगीको उजुरी दिएका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले केसीविरुद्ध जाहेरी परेको बताए। उनले दुवै पक्षलाई सम्पर्क गराउने प्रयास गरेको बताए।

खास विवाद के हो ?

फिलिम्स नेपाल र जयन श्रेष्ठ इन्टरटेन्मेन्ट प्रा.लिद्वारा चलचित्र ‘धुपौरे’ बन्ने तयारी थियो। चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गर्ने भनिएको थियो। चलचित्रका लागि अनमोल केसीसंग कागजी सम्झौता गरियो।

अनमोलसँग ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता भएको थियो। जसमध्ये ५ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको थियो। चलचित्रको लागि जिम तथा अभिनय क्लासका लागि अनमालेलाई थप ३ लाख रुपैयाँसमेत दिइएको निर्माता रुपेश खड्गी बताउँछन्।

तर, चलचित्र फ्लोरमा जान पाएन। सुटिङ सुरु गर्नुको सट्टा अनमोलले कथा मन नपरेको भन्दै चलचित्र छाडेको कुरा बजारमा आयो। निर्माता खड्गीका अनुसार कथा, टिम चित्तबुझ्दो नभए परिवर्तन गरेर चलचित्र निर्माण गरौं भनेर समेत अनमोल र उनका बुवा भुवन केसीसंग पटक–पटक कुरा भएको थियो । तर, अनमोल र भुवनले टार्ने काम मात्र गरेको निर्माता खड्गी बताउँछन्।

उनी भन्छन् ‘सधै टार्ने काम मात्र भएकोले अन्तिममा उजुरी दिन बाध्य भएका हौं।’ उनी चलचित्रको लागि भनेर ३० लाख रुपैयाँ खर्च भइसकेको गुनासो गर्छन्।

अनमोल पछिल्लो समयका चलेका तथा महंगा अभिनेता हुन्। ‘होस्टेल’ चलचित्रबाट अभिनयमा डेब्यू गरेका अनमोलले गाजलु, ड्रिम्स, जेरी, ए मेरो हजुर २ लगायतका हिट चलचित्र दिएका छन्। अनमोलले शुक्रबारदेखि मात्रै ‘ए मेरो हजुर ४’ को छायाँकन सुरु गरेका छन्।

झुलाउने काम भयोः निर्माता रुपेश खड्गी

म ओएसआर डिजिटलमा छु। साम्तेन जी, अनमोलजीहरुले प्रोजेक्ट बनाउनुभएको रहेछ, धुपौरे। आर्थिकको कुरा आयो होला। प्राजेक्ट लिएर मकहाँ आउनुभयो। अनमोलले नै चलचित्र खेल्ने भए हुन्छ काम गरौं भन्ने कुरा भयो। सम्झौता गरेर काम शुरु गर्यौ। अनमोललाई ४० लाखमा कागजी सम्झौता गर्यौं। ५ लाख रुपैयाँ अग्रिम दियौं।

जिमको लागि भनेर डेढ लाख दियौं। अभिनय प्रशिक्षणका लागि डेढ लाख क्यास नै दिएका हौं। अन्य कलाकार तथा टेक्निसियनहरु पनि फाइनल गर्यौ। अडिसन भयो। उहाँहरुले भनेकै टिचरहरुबाट घरमै अभिनय प्रशिक्षणको व्यवस्था गरेका थियौं।

अर्को दिनबाट वर्कशप ज्वाइन गर्ने कुरा भयो। तर अनमोल गायब भए। पछि बाहिर कुरा आयो, स्क्रिप्ट चित्त नबुझेर अनमोलले धुपौरे छाडे।

मैले फलो गर्न थाले। अनमोल त भेट भएनन्। अनमोल नभेटेपछि भुवन दाईसँग कोअर्डिनेट गर्दै गएँ। स्टोरी चित्त बुझ्दैन भने परिवर्तन गरौं भनें। उहाँले टार्ने काम मात्र गर्नुभयो।

उहाँले प्रदीप भारद्वाजको स्क्रिप्ट राम्रो छ भन्नुभयो। ल प्रदीपको स्टोरीमा गरौं भन्यौं। कहिले इण्डियाको डाइरेक्टर आउँछ भन्ने, कहिले हेमराज जीको मनपर्छ भन्ने गर्नुभयो।

तर, कहिल्यै नाई चाँही भन्नुभएन। हामीलाई डिसिजन दिनुपर्यो भन्दा चाँही हुन्छ हुन्छ भन्ने तर डेट नदिने गर्नुभयो। काम गरौं भनेर कोशिस धेरै गरेका हौं।

अनमोल अहिले रुचाईएको कलाकार हो। स्मार्ट छ, उसको आफ्नै स्टारडम छ। चलचित्र उसले आफै एग्रिमेन्ट गरेको हो। यसमा उसले सोँच्नुपर्ने हो, बच्चा त होइन् नी।

स्टोरी परिवर्तन गर्न सक्थ्यौं। हामी पनि चलचित्र बनाएर डुब्नु त छैन नि। राम्रो कथामा बनाउने चाहना हाम्रो पनि हो। म पनि यही चलचित्र क्षेत्रमा लामो समय बिताएको छु। रोजीरोटी नै यसैबाट चल्छ। भरसक मिलौं भन्ने थियो, तर धेरै कोअर्डिनेट गर्दा पनि केही लागेन।

चलचित्र छायांकनमा कहिले जाने डेट नै दिनुभएन। कति कुर्ने भनेर बाध्य भएर केही दिनअगाडि जाहेरी दिएका हौं। नत्र, मंसिरको कुरा अहिले किन जाहेरी दिन्थ्यौं र। जाहेरी दिन जानुअगाडि पनि भुवन दाईलाई भनेका हौं। त्यतिबेला पनि उहाँले भाई अब गर्ने भन्नुभएको थियो। तर, कहिले त ? भन्नुभएन। अनि जाहेरी दियौं। – डिसी नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *