‘सामाजिक अगुवा र पत्रकारहरुले तिललाई पहाड बनाउने कोशिश गरे’ : वरिष्ठ उपाध्यक्ष थापा

Spread the love

योगेन्द्रमिलन छन्त्याल, लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले परिषदकै सदस्य सवीन (प्रवीण) धितालमाथि हातपात गरेको कुरालाई सामान्य घटना भएको दावी गरेका छन् । साओ तेओतोनिओमा आयोजित एक साँस्कृतिक कार्यक्रममा शुभकामना मन्तव्य दिदै उनले पोर्तुगलका समाजका अगुवा र पत्रकारहरुले तिललाई पहाड बनाउने कोशिश गरेको आरोप लगाएका छन् ।

घटनाको यथार्थ नबुझेरै सामाजिक सञ्जालमा भाइरल बनाउने काम नितान्त गलत भएको जिकिर गर्दै उनले यसको घोर विरोध गर्दछु भने । तर थापाले ‘घरभित्रको घटनालाई घरमै मिलाउने कोशिश गर्ने’ जानकारी पनि दिएका छन् । थापाले घटनाबारे यसरी बोलेका थिए ।

एउटा कुरा मैले भन्नै पर्ने हुन्छ यहाँहरुलाई । सामाजिक सञ्जालमा एकल भाइरल भएको कुरा छ । एउटा एनआरएनमा स्वयं मेरै एउटा व्यक्तिगत यो पत्रकार र कुनै एनआरएनबीचको नभएर एउटा घरायसी कुरा एउटा सामान्य घटना हो । यसलाई सामाजिक अभिनेताहरु र पत्रकार मित्रहरुले तिललाई पहाड बनाउने कोशिश गर्नुभएको छ । त्यो नितान्त गलत हो । त्यो के भन्न चाहन्छु भने यो कुनै पनि घटनाको यथार्थ नभैकन यसलाई सामाजिक सञ्जालमा भाइरल बनाउने काम गर्नुभाको छ । यसको म घोर विरोध गर्दछु र चाँडोभन्दा चाँडो हामी घरभित्रको घटनालाई घरमै मिलाउने कोशिश गर्नेछौ । यहाँलाई यही जानकारी गराउन चाहन्छु ।

एनआरएनए मौन, विज्ञप्तिमा घटनाको भ्रर्त्सना

गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगल भने घटना भएको पाँचौ दिनसम्म मौन छ । अध्यक्ष गैरे घटनाबारे केही बोलेका छैनन् ।

यस अघि धितालमाथि गरिएको कुटपीटको घोर आपत्ति प्रकट गर्दै कडा शब्दमा निन्दा गरिएको छ । प्रवासी नेपाली एकता मञ्चका सचिव डोलराज भन्डारी र नेपाली समाजका अध्यक्ष सोम शेर्पाद्वारा जारी गरिएको विज्ञप्तिमा घटनाबारे अतिरञ्जित ढङ्गले सामान्यीकरण गर्न खोज्नु र त्यस अतिरञ्जित कुरालाई जनसम्पर्क समिति जस्तो जिम्मेवार संस्थाकै जिम्मेवार व्यक्तिहरुले नै पक्षपोषण गर्नु गम्भीर विषय भएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा मान्छेलाई भौतिक आक्रमण गरेर सबैको साझा संस्था मानिएको गैरआवासीय नेपाली संघ पोर्तुगलप्रति आम जनमानसमा वितृष्णा जगाउने र संस्थाको गरिमालाई गिराउन त्यस्तो कार्य गर्ने व्यक्तिलाई अविलम्ब बर्खास्त गर्न जोडदार माग गरिएको छ । उनीहरुले एनआरएनए पोर्तुगल र केन्द्रलाई ‘अन्यथा गैरआवासीय नेपाली संघ पोर्तुगल सबैको साझा मानिएको गरिमामय संस्था होइन भन्ने कुरा बुझ्न बाध्य हुने’ चेतावनी पनि दिएका छन् ।

घटना निन्दनीय र भ्रर्त्सनीय भएको भन्दै नेपाल पत्रकार महासंघ युरोप शाखा, नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगल र चितवन समाज पोर्तुगलले थापाको बर्खास्तीको माग गरेका छन् ।

घटनाबारे प्रवीणको अपील :

नमस्कार !

म सबिन धिताल ( प्रविन ), एक संचारकर्मी र हाल एनआरएनए पोर्तुगलको २०१९-२१ कार्यसमिति सदस्य ।

९ फेब्रुअरी, २०२० को दिन लिस्बनको काइसोद्रेस्थित ” टाइमआउट स्टुडियो ” मा सम्पन्न भएको ” राजेश पायल राई म्युजिकल कन्सर्ट ” मा समाचार संकलन गर्न गएको बेलामा म माथि एनआरएनए पोर्तुगलका बरिष्ठ उपाध्यक्ष ( हाल कार्यवाहक अध्यक्ष ) ले मसँग कुरा गर्नुछ भनेर कार्यक्रमस्थलमै हातपात र कुटपिट गरी घाइते बनाएका छन्। कुटपिटबाट मेरो टाउको, र काँधमा चोट लागेको छ र घाउ भएको छ। घटनास्थलमा मैले संघका भूपू अध्यक्ष तथा नेपाल सरकारका पर्यटनदुत रमेश कुमार गुरुङ ज्युलाई जानकारी गराएको थिएँ ।

म भोइस अफ नेपाल टिभी र नेप्लिज जर्नालिष्ट क्लबसंग आबद्ध छु। फ्रीलान्सर फोटोग्राफरको रुपमा लेन्सआर्ट संग आबद्ध छु। संघका बारेमा समाचार लेख्ने समुहका साथिहरुसंगको सम्बन्ध र समाचारको बिषयलाई लिएर ममाथि सांघातिक आक्रमण भएको हो। आक्रमण गर्दा घटनाको खबर समाचारमा आएमा वा बाहिर निस्किएमा हात नै काटेर अपाङ्ग बनाईदिने र ज्यान मारेर बरु जेल बस्नेसम्मको धम्कि समेत दिएका थिए। मैले बचाऊ भन्दै गुहार मागेपछि उनी त्यहाँबाट गए । मलाई चोट लागेकोले म घटनापश्चात अस्पतालमा उपचारको लागि गए र उपचार गरेर बिहान ५ बजेतिर मात्रै घर पुगे।

घटना घटेको २४ घण्टासम्म मैले कुरेर बसे, तर पनि सरोकारवाला निकायबाट खासै चासो भएन। स्वयं संघका साथीहरु मौन छन्। घटनाको बारेमा जानकारी भएर पनि अध्यक्ष मौन छन्। नेपालीहरुको सामुहिक संस्था भनिएको एनआरएनए का पदाधिकारीबाटै नेपाली कुटिन्छन र यहाँ संघसंस्थाहरु मौन भईदिन्छन्। कुनै दिन यस्तै घटनामा कसैको मृत्यु भयो भने यहाँका संघसंस्थाहरु र तिनका प्रतिनिधिहरुले श्रद्दान्जली दिन आउदा त्यसको औचित्य के होला ? अलिकति लज्जा बोध होला कि नहोला ? के एनआरएनए यस्तै गुण्डागर्दी गर्ने संस्था हो ? पोर्चुगलका नेपालीहरुले एनआरएनए बाट आशा गर्ने यस्तै कार्य हो ? हामी कस्तो संस्कार बिकास गर्दैछौ पोर्चुगलमा ? हाम्रा भावी सन्ततिले सिक्ने होलान् ?

एनआरएन मा बसेर यस्तो किसिमको घृणित र उद्धण्ड कार्य गर्ने छुट कसैलाई पनि छैन र हुनुहुदैन। म एक पटक फेरी पोर्तुगलमा रहेका सम्पूर्ण संघसंस्थाहरु , सरोकारवाला निकायहरु र नेपाली कन्सुलेट यो घटना र बिषयमा गम्भीर भईदिन हुन अनुरोध गर्दछु।

सबिन धिताल ( प्रविन )

लिस्बन, पोर्चुगल, ००:५६, ११ फेब्रुअरी २०२० ।

घटनाबारे थापाको प्रेस विज्ञप्ति

आदरणीय पोर्तुगल निवासी दिदीबहिनी, दाजुभाइ र साथीहरू,

नमस्कार र जय एआरएन भन्न चाहन्छु !

गत फेब्रुअरी ९ तारिख आइतबार हाम्रो एनआरएन पोर्तुगलको बैठक थियो, वरिष्ठ उपाध्यक्ष र अहिले अध्यक्षको अनुपस्थितमा कार्यवाहक अध्यक्षको नाताले मैले कार्यसमितिको बैठक बोलाएको थिए, कुराकानी र छलफल भयो, समाजकालागि केही कार्यक्रम गरौं भन्ने मैले प्रस्ताव गरे, कार्यसमिति सदस्य सविन धितालले मलाई बारम्बार विभिन्न आक्षेप लगाएर कुरा गर्नुभयो, उहाँ भनेको कुरामा मैले केही नबोली सहेर नेपालका राष्ट्रिय कलाकार राजेशपायल राई आउँदा उहाँको कार्यक्रमलाई सम्मान जनाउन र एनआरएनएनको तर्फबाट सहयोग पुर्याउन म कार्यक्रम गएर सक्दो सहयोग गरें, हाम्रो कार्यसमिति सदस्य धितालजी पनि त्यहाँ पुग्नु भएको रहेछ, त्यहाँ पुगेर पनि कार्यसमिति भित्रको छलफलको कुरा उठाएर उहाँले मलाई अतिथि बसिरहेको बेला सार्वजनिक गाली बेजेजेती गर्ने काम गर्नु भयो । यो कार्यसमिति भित्रको कुरा हो छुट्टै बसेर कुरा गरौं, सार्वजनिक ठाउँमा कुरा नगरौं मैले भन्दा उहाँले मलाई, म फलानो मिडियाको मान्छे हो, सबै छाप्छु भन्नूभयो, मैले भने होइन, यो हाम्रो कार्यसमिति भित्रको कुरा हामी मिलेर कुरा कुराकानी गरौं भन्दा उहाँले म मिडियामा जान्छु भन्नू भयो तर म सबै पत्रकार साथीहरू भन्न चाहन्छु, त्यो उहाँले देखाएको घाउ उहाँको पिलो आएको ठाउँ रहेछ, त्यो कुनै घाउ चोट होइन भनेर डाक्टरले भनेको रहेछन्, एनआरएनए र पत्रकार वीचको बिषयमा कुनै असझदारी झैझगडाको कुरा होइन, त्यो हुँदै होइन ।

एनआरएनए पोर्तुगल, पोर्तुगल र युरोपभरिका सबै पत्रकार साथीहरूसंग एक्यवद्ध भएर सहकार्यका साथ अगाडि बढ्न चाहन्छ र वास्तविक पत्रकारिता गर्ने साथीहरूलाई हामी एनआरएनए पोर्तुगल सधैं सम्मान गर्दछौं । समाजमा सधैं झैंझगडा लगाउने, एकाअर्कालाई उत्तेजित बनाउने काम जो कसैले गर्न हुँदैन भन्ने मेरो कुरा हो, एनआरएनए पोर्तुगल र पोर्तुगलका सबै पत्रकार साथीहरूहरु संगै बसेर, मिलेर हामी हाम्रो घरयासी समस्या समधान गर्छौ र गर्नेछौं भन्ने एनआरएनए पोर्चुगल सबै पत्रकार साथीहरूलाई बिश्वस्त तुल्याउन चाहन्छौं ।

धन्यवाद !

भिमसेन थापा

वरिष्ठ उपाध्यक्ष ( हाल कार्यवाहक अध्यक्ष )

एनआरएनए पोर्तुगल ।

२१:५२, ११ फेब्रुअरी २०२० ।

चितवन समाज पोर्तुगलको वक्तव्य

गैरआवासीय नेपाली संघ ( एनआरएनए ) , राष्ट्रिय समन्वय परिषद पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाद्वारा आप्नै कार्यसमितिका एक अर्का सदस्य , पोर्तुगलका परिचित पत्रकार एवं चितवन समाजका सक्रिय सदस्य सविन धिताल ( प्रविण ) माथि कुटपीट घाइते बनाएको घट्ना अत्यन्त खेदजनक , निन्दनीय र भ्रर्त्सनीय छ । घाइते हुनुभएका प्रविणको शिध्र स्वास्थ्यलाभको कामना गर्दै , एस्ता प्रकारका गुन्डागर्दी र अराजक क्रियाकलापहरूलाइ कुनै प्रकारको छुट नदिइ यसवाट नेपाली समाज पोर्तुगललाइ मुक्त वनाउन खेल्नुपर्ने सवै भूमीका खेल्न चितवन समाज पोतुगल सम्बन्धित सबैसँग जोडदार माग समेत गर्दछ ।

तुलसीराम थपलिया

अध्यक्ष, चितवन समाज पोर्तुगल परिवार !

१३:२४, ११ फेब्रुअरी २०२० ।

नेपाली जनप्रगतिशिल मोर्चा पोर्तुगलको प्रेस विज्ञप्ति !

मिति ०९ । ०२ । २०२० आईतबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद , पोर्तुगलका बरिष्ठ उपाध्यक्ष तथा वर्तमान कार्यवाहक अध्यक्ष भिमसेन थापाले संघकै कार्यसमितिका सदस्य तथा संचारकर्मी सविन धिताल ( प्रविण ) माथी गरेको सांघातिक आक्रमण प्रति हाम्रो संगठन नेपाली जनप्रगतिशील मोर्चा , पोर्तुगल घोर भ्रर्त्सना गर्दछ । हाम्रो संगठनले समाजमा भएका हरेक समस्याको समाधान आपसी छलफल र सौहार्दपूर्ण वातावरणमा हल गर्ने कुरामा पूर्ण विश्वास राख्दछ । कुनै पनि सामाजिक संस्थाको नेतृत्वमा रहेका व्यक्ति नै गैरकानुनी तथा उदण्ड कृयाकलापमा संलग्न भेटिएकाले नीजलाई तत्काल कारवाही अगाडी बढाउन हाम्रो संगठन सम्बन्धित संस्थालाई जोडदार आव्हान गर्दछ ।

पूर्ण बहादुर विश्वकर्मा

००:०७, १२ फेब्रुअरी २०२० ।

नेपाल पत्रकार महासंघ युरोप शाखाको प्रेस विज्ञप्ति

पोर्तुगलमा कृयाशील पत्रकार तथा गैरआवासीय नेपाली संघ पोर्तुगलका सदस्य समेत रहेका सबिन ( प्रबिन ) धितालमाथि संघकै कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले हिजो सांघातिक आक्रमण गरी घाईत बनाएकोप्रति सर्वप्रथम गहिरो दु:ख व्यक्त गर्दै पत्रकार धितालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । साथै उनलाई आक्रमण गर्ने थापाको उक्त नीच कार्यप्रति खेद प्रकट गर्दै कडा शब्दमा भ्रर्त्सना गर्दछौ । ‘बेथिती र विसंगतिहरुको विरुद्ध कलम चलाउन पत्रकारहरुको नैसर्गिक अधिकार हो । यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ पोर्तुगलभित्र देखिएका विकृति र विसंगतिहरुको विरुद्धमा विभिन्न संचार माध्यममा समाचारहरू सम्प्रेषण भईरहेको सार्वजनिक अवगतकै विषय हो, र सो समाचारहरु प्रकाशित हुनुमा स्रोत बनेको र सूचना चुहावट गरेको भन्दै संचारकर्मी भएकै आधारमा आशंका गरेर उनीमाथि गुण्डागर्दीको शैलीमा सांधातिक आक्रमण हुनुले गैरआवासीय नेपाली संघ पोर्तुगल यतिबेला कुन हैसियतमा उभिरहेको छ भन्ने कुरा प्रष्ट हुन्छ । सबै गैरआवासीय नेपालीहरुको साझा सामाजिक संस्था हो भनेर दावी गर्ने उक्त संस्थाको नेतृत्व तहमै रहेको व्यक्तिबाट नै यो प्रकारका कायरतापूर्ण व्यवहार प्रकट हनु वास्तवमै संस्थाको लागि शुभसंकेत होइन । तसर्थ गैरआवासीय नेपाली संघ पोर्तुगललाई सबै पोर्तुगबासी नेपालीहरुको साझा र स्वच्छ सामाजिक संस्था बनाउने हो भने यस प्रकारको गतिविधिमा उद्धत भई धेरै व्यक्तिहरुलाई धम्काउने र भौतिक आक्रमण समेत गर्ने नजीर बोकेको व्यक्ति कुनै पनि हालतमा उक्त संस्थाको कार्यवाहक अध्यक्ष हुने वरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय पदको लायक हुनै सक्दैन र हामी किमार्थ स्वीकार गर्न सक्दैनौ । त्यसैले उनलाई अविलम्ब बर्खास्त गरी कार्वाही गर्नका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त, यूरोप संयोजक नारायण आचार्य साथै राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरे समेतलाई हार्दिकतापूर्वक अनुरोध गर्दछौं ।

१० फेब्रुवरी , २०२०

केजिन राई

अध्यक्ष

०१:२३, ११ फेब्रुअरी २०२० ।

प्रवासी नेपाली एकता मञ्च र नेपाली समाज पोर्तुगलको प्रेस विज्ञप्ति :

गैरआवासीय नेपाली संघ पोर्तुगलका कार्यवाहक अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले गत फेब्रुअरी ९ तारिखका दिन पोर्तुगलको लिस्बनमा आयोजित एक कार्यक्रममा संचारकर्मी तथा संघकै कार्यसमिति सदस्य समेत रहेका सविन ( प्रविण ) धितालमाथि गरिएको दुर्व्यवहारप्रति घोर आपत्ति प्रकट गर्दै कडा शब्दमा निन्दा गर्दछौं । गैरआवासीय नेपाली संघ आफैमा एउटा सम्मानित सामाजिक संस्था हो । त्यस संस्थाको वरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय पदमा आसिन व्यक्तिले मान्छे कुटपीटको तहसम्म गिरेर प्रस्तुत हुनु संस्थाको गरिमा र पदीय जिम्मेवारीसँग मेल खाने कुरा पक्कै पनि होईन । पीडित भनिएका सबिन धितालको आरोप मात्रै नभइ उक्त कार्यक्रममा उपस्थित धेरैले समेत सो कुटपिटको घटनालाई प्रत्यक्ष देखेको सन्दर्भमा आफूले गरेको गल्तीलाई स्वीकार गरी आत्मालोचना गर्नुको सट्टा स्वयं भिमसेन थापाले ११ फेब्रुअरीका दिन एक फेसबुक विज्ञप्ति जारी गर्दै सो घटनाबारे अतिरञ्जित ढङ्गले सामान्यीकरण गर्न खोज्नु र त्यस अतिरञ्जित कुरालाई जनसम्पर्क समिति जस्तो जिम्मेवार संस्थाकै जिम्मेवार व्यक्तिहरुले नै पक्षपोषण गरी समर्थन गर्नु झन गम्भीर विषय हो । यस प्रकारको गतिविधिले पोर्तुगलका नेपाली समाजहरुबीचको सम्बन्ध र एकतालाई कुन दिशातिर लैजान्छ भन्ने विषयमा सरोकारवाला सबै गम्भीर हुन जरुरी छ । त्यसैले अन्तमा, पोर्तुगलका सबै नेपाली समाजलाई एकताबद्ध गर्दै लैजाने मुल जिम्मेवारीमा रहेको गैरआवासीय नेपाली संघ पोर्तुगललाई स्वच्छ सामाजिक संस्थाको रुपमा विकास गर्ने हो भने यो प्रकारको भौतिक आक्रमण गर्ने तहको शैलीलाई पूर्ण रुपमा निरुत्साहित गर्न जरुरी छ । जस्तोसुकै पेचिलो विषयहरु पनि सबै वार्ता र संवादको माध्यमबाट हल हुने बाटो हुँदाहुँदै मान्छेलाई भौतिक आक्रमण गरेर सबैको साझा संस्था मानिएको गैरआवासीय नेपाली संघ पोर्तुगलप्रति आम जनमासमा वितृष्णा जगाउने र संस्थाको गरिमालाई गिराउन त्यस्तो कार्य गर्ने व्यक्तिलाई अविलम्ब बर्खास्त गर्न हामी जोडदार माग गर्दछौं । अन्यथा गैरआवासीय नेपाली संघ पोर्तुगल सबैको साझा मानिएको गरिमामय संस्था होईन भन्ने कुरा बुझ्न हामी बाध्य हने कुरा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषद पोर्तुगललाई हार्दिकताकासाथ अनुरोध गर्न चाहन्छौं । धन्यवाद ।

डोलराज भन्डारी

सचिव

प्रवासी नेपाली एकता मञ्च पोर्तुगल

सोम शेर्पा

अध्यक्ष

नेपाली समाज पोर्तुगल

समावेशी गठवन्धन पोर्तुगल

२०:५३, १२ फेब्रुअरी २०२०

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *