सांसदलाई डेढ करोडका ल्यापटप

Spread the love

जनकपुरधाम : प्रदेशसभालाई पेपरलेस बनाउ प्रदेश सांसदहरूका लागि महँगो ल्यापटप खरिद गरिएको छ। प्रदेश २ सरकारले १०७ सांसदसहित केही कर्मचारीहरूका लागि डेढ करोड खर्चेर ११८ वटा ल्यापटप खरिद गरेको हो।

डेल कम्पनीको ३३९० मोडेलको ‘टू इन वन, स्क्रिन टच’ ल्यापटप प्रतिथान एक लाख ३४ हजार ७४५ रुपैयाँ पर्ने गरी जम्मा एक करोड ५९ लाख प्रदेशसभा सचिवालयले खर्चेको छ। दुई वर्ष वारेन्टी दिइएका ल्यापटपसँगै एकथान सर्भर पनि खरिद गरेको संसद् सचिवालयका आइटी विभाग प्रमुख धवेन्द्र कर्णले बताए।

ल्यापटप खरिद गर्न सचिवालयले गत आर्थिक वर्षमै टेन्डर गरे पनि खरिद हुन सकेको थिएन। त्यसबेला ल्यापटप र सर्भर हालकै दररेटमा आपूर्ति गर्ने भन्दै विराटनगरको मेगाटेक प्रालिले टेन्डर फारम भरे पनि पछि सम्झौता गर्न आएन। कम्पनीले जम्मा गरेको धरौटी पनि सचिवालयले जफत गरेको थियो। पछि काठमाडौंको म्याक्स इन्टरनेसनल प्रालिले स्वीकृत दररेटमा सम्झौता गरी ल्यापटप उपलब्ध गराएको हो।

पहिलो चरणमा माघ २१ गते प्रदेशसभाको वार्षिकोत्सवको उपलक्ष्यमा केही थान संसदीय दलका नेताहरूलाई वितरण गरिए पनि अन्य सचिवालयको स्टोर रुममै राखिएको छ। मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई ल्यापटप हस्तान्तरण गरिएको छ।

ल्यापटपमा केही सफ्टवेयरहरू अपडेट गर्न बाँकी रहेको हुँदा काम सकिएलगत्तै सबै सांसदहरूलाई दिइने सचिवालयले जनाएको छ। ‘यो ल्यापटप चलाउनु मोबाइल चलाउनु झैं सजिलो छ,’ आईटी प्रमुख कर्ण भन्छन्,‘चलाउन सिख्न चाहने माननियज्यूहरूले इच्छा व्यक्त गर्नु भो भने तालिमको पनि व्यवस्था गरिन्छ।’

‘प्रदेशसभामा विभिन्न विधेयकहरू फोटोकपी गरेर वितरण गर्न निकै खर्चिलो हुन्छ,’ प्रदेशसभा सचिवालयका सचिव रंजित यादव भन्छन्, ‘ल्यापटप दिएपछि कागजको खर्च घट्छ र माननियज्यूहरू पनि प्रविधिमैत्री बन्नुहुन्छ।’ मनिका झाले अन्नपूर्ण पोष्टमा समाचार लेखेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *