पोर्तुगलमा परराष्ट्रको नक्कली छाप प्रयोग गर्ने को हुन् ? अवैतनिक वाणिज्यदूतावासले किन कारबाही गर्दैन उनीहरुलाई ?

Spread the love

योगेन्द्रमिलन छन्त्याल, लिस्बन । पोर्तुगलमा नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा शाखाको नक्कली छाप प्रयोग भएको कुरा सार्वजनिक भएको छ । यो वा त्यो प्रकारले सामाजिक सञ्जालमा यसको विरोध गरिए पनि वास्तविकता भने ढाकछोप गरिएको छ । लिस्बनका लागि अवैतनिक वाणिज्यदूतावासको कार्यालयले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति फेसबुकमा पोष्ट गरेको छ ।

नक्कली छाप लागेको कागजात पोर्तुगीस भाषामा उल्था गर्न वाणिज्यदूतावासमा आएको कुरा कार्यालयका कर्मचारी मोहन थापाले स्वीकारेका छन् । कानूनको बर्खिलाप यस्तो काम गरेको थाहा छँदाछँदै पनि ती व्यक्ति र गिरोहबारे वाणिज्यदूतावासलाई जानकारी छैन ।

अवैतनिक वाणिज्यदूतावासले यस्ता व्यक्तिसँग सोधपुछ गर्ने हो भने यसरी कीर्ते काम गर्ने गिरोह सजिलै पत्ता लगाउन सक्ने थियो । औपचारिकता निभाउनका लागि वाणिज्यदूतावासले ‘पोर्तुगलमा कसैले नेपालको सरकारी छाप कीर्ते गरेको कुनै जानकारी / सूचना भएमा यसको कार्यालय अथवा नेपाली राजदूतावास, पेरिसमा जानकारी गराइ त्यस्ता आपराधिक कार्यलाई निरुत्साहित गर्न तथा कसैले त्यसो गरेको भए त्यस्ता अपराधीलाई सजायको दायरामा ल्याउन सहयोग पुर्‍याउन’ अनुरोध गरेको छ ।

नेपाली जनसम्पर्क समितिका अध्यक्ष बिनोद घिमिरे, प्रवासी नेपाली एकता मञ्चका गोविन्द पौडेल र नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले नेपाली समुदायका लागि घातक हुने भएकाले यसलाई निन्दनीय कार्य भएको बताउदै भ्रर्त्सना गरेका छन् ।

त्यसो त धादिङका एक गुरुङ युवकले वाणिज्य दूतावासमा पोर्तुगीस भाषामा उल्था गर्न पेश गरेको नेपाली सवारी चालक अनुमति पत्रको छायाँकपी नमस्तेनेपालीलाई प्राप्त भएको छ । स्रोतका अनुसार वाणिज्य दूतावासमा रहेकी महिला कर्मचारीले सवारी चालक अनुमति पत्रमा लगाइएको परराष्ट्र मन्त्रालय कन्सुलर सेवा शाखाको छाप नक्कली भएको भन्दै उल्था गर्न नमिल्ने बताएकी थिइन् ।

अचम्मैको कुरो के छ भने सो अनुमति पत्रको सिफारिस र कन्सुलर शाखाको प्रमाणीकरण २४ अगष्ट अर्थात शनिबारका दिन भएको छ । शनिबार नेपालका सबै सरकारी कार्यालयहरू बन्द हुने गर्दछन् ।

नक्कली छापको प्रयोग लिस्बनमै भएको हो वा नेपालबाटै कीर्ते गरी कागजात तयार गरिएको हो भन्ने कुरा अनुसन्धानपछि मात्र टुङ्गो लाग्नेछ । तर लिस्बनमा रहेका साइबर, ट्राभल एजेन्सी र कानून व्यवसायीमाथि पनि शङ्का गर्दै सामाजिक सञ्जालमा आरोपप्रत्यारोप गरिएको छ । पोर्तुगलमा यस्ता अनगिन्ती नक्कली कागजातहरु प्रयोग भइसकेका हुने सम्भावना छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *