चीनबाट भित्र्याइयो ‘मेसिन रिडेबल’ तास, व्यवसायिक जुवाडेले जितेको जित्यै गर्न सक्छन् ! (भिडियो)

Spread the love

गृष्मा राजभण्डारी र राममान डंगोल, काठमाडौं, कात्तिक २५ । प्रहरीले काठमाडौंबाट तास चिन्ने ‘सेन्सर’जडित जुवा सामग्री बरामद गरेको छ । यो तास अरु तासजस्तो सामान्य होइन ।

यसलाई सेन्सरले सजिलै चिन्नसक्ने र यस्ता सामग्रीसहित जुवा खेल्दा जुवाडेले जितेको जित्यै गर्नसक्छ ।

बर्दीमा रहेको प्रहरीले तास फिटेको दृश्य देख्दा अनौठो लाग्नसक्छ । सर्लाही, बरहथवा निवासी निरबहादुर कार्कीले चीनबाट भित्र्याएको तास हो यो ।

काठमाडौंको स्यूचाटारबाट तास बरामद गरिएको हो । यो अन्य सामान्यजस्तो तास होइन । ‘मेसिन रिडेबल’ हो ।

निरबहादुरलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ । उनको साथबाट ताससँगै ३२ ओटा उपकरण पनि प्रहरीले बरामद गरेको छ । जसको मूल्य झन्डै ५० लाख रुपैयाँ बराबरको छ ।

यो कुनै चानचुने तास होइन । अत्याधुनिक प्रविधियुक्त यो तास खेल्ने बेलामा जुवाडेले आ–आफ्नो मोबाइलमा ‘डिभाइस’ जडान गरी तास खेल्न सक्छन् । खेलाडीको संख्या ‘रिमोट’मा ‘फिक्स’ गरेपछि तास बाँडिन्छ ।

बाँडिएको तासमा कुन खेलाडीले जित्छ भन्ने कुरा कानमा, आँखाको लेन्समा, कपडा, चस्मा, घडी, पर्समा जडान गरिएको डिभाइसले पत्ता लगाउने गरेको कालिमाटी वृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए ।

त्यतिमात्र होइन, पैसाको बीचमासमेत डिभाइसलाई घुसाउन सकिन्छ ।

पक्राउ परेका व्यक्तिले नेपाली बजारमा बेच्नकै लागि मेसिन रिडेबल ताससहित त्यसमा जडान गरिने उपकरण ल्याएका हुन् ।

मेसिन रिडेबल तास बजारमा भित्रिएको जानकारी प्राप्त भएपछि नेपालमा सन्चालनमा रहेका क्यासिनोका प्रतिनिधिले ‘क्यासिनोमा खेलाइने गरेको तास पनि मेसिन रिडेबल त होइन ?’ भनी डराएर प्रमाणीकरणका लागि लिएर प्रहरीसमक्ष आएका थिए ।

कार्कीले ल्याएको तासमा ‘युभी लाइट’ ल्याइ परीक्षण गर्दा भने केहीपनि देखिँदैन ।

पछिल्लो समय चीनका ‘ह्याकर’हरुले नेपालका ‘एटीएम’बाट करोडौं रकम ‘ह्याक’ गरेको समाचार सेलाउन नपाउँदै चीनबाटै आयात भएका यस्ता प्रविधियुक्त सामग्रीले हाम्रो सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *