जहाँ चिच्याएर वर मागिन्छ (भिडियोसहित)

Spread the love

भगवती पाण्डे, बुटवल, कात्तिक ३०, वरिपरि बाँस र पातीका लिंगा गाडिएका छन्। हजारौं भक्तजनको भीड चिच्याउँदै र भाकल गर्दै जंगलको बीचमा रहेको तालको परिक्रममा गरिरहेको छ।

तपाईंमध्ये कोही जानु भएको छ भने ठम्याइसक्नु भयो होला, कुन ठाउँ हो त्यो भनेर। हो हामी कुरा गर्दैछौं, पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ४ सत्यवती तालको ।

बुटवल–पाल्पा सडकखण्डको केराबारी र झुम्साबाट उकालो चढेपछि २ देखि ३ घण्टाको पैदल हिँडेपछि सत्यवती तालमा पुगिन्छ ।

जुन ताललाई वरिपरि घना जंगलले घेरिएको छ। यस क्षेत्रमा दुइटा मन्दिर छन्, बाजे र बजै ।

जहाँ वर्षको एक पटक तीन दिनसम्म ठूलो मेला लाग्ने गर्छ ।

सत्यवती ताल क्षेत्रमा बाजेबजै दुवैको मन्दिर रहे पनि विशेषगरी बजैको पूजा गरिन्छ र उनीसँगै वर मागिन्छ। किन ?

किनकी बज्यैसँग मागेको वर पूरा हुने धार्मिक विश्वास छ। सोही विश्वासका साथ वर्षेनी तीन दिन लाग्ने धार्मिक मेलामा लाखौं दर्शनार्थी घना जंगल र उकालो बाटो चढ्दै सत्यवती पुग्ने गर्दछन् ।

न थकान न हिँडाइको कष्ट । आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ यहाँ दर्शनार्थीको भीड लाग्ने गर्छ ।

तपाईं कुनै मन्दिरमा जानु भयो भने कसरी आफ्नो मनको वर माग्नु हुन्छ ?

पक्कै पनि मनमनै। जो भगवानले बाहेक कसैले नसुनोस् भन्ने तपाईं चाहनु हुन्छ। र हामी सबैले पहिलादेखि नै त्यही नै गर्दै आइरहेका छौं। धार्मिक आस्थाका साथमा ।

तर यहाँ भने चिच्याएर माग्नुपर्ने अनौठो परम्परा छ ।

चिच्याएरै मात्र आखिर किन वर माग्नुपर्ने ?

सत्यवती बज्यै कान सुन्न सक्दिनन् र उनले सुन्ने गरी चिच्याएर मागेको वर भने पूरा गरिदिन्छिन् भन्ने जनविश्वासका कारण यहाँ चिच्चाएरै वर माग्नुपर्ने परम्परा कायम रहेको सत्यवती ताल विकास समितिका अध्यक्ष तीलबहादुर गाहा बताउँछन् ।

वर माग्न र सत्यवती बज्यैको दर्शन गर्न जानेले बाँस र पातीको लिङ्गो सँगै लिएर जाने गर्छन् । सोही लिङ्गोलाई राति तालको छेउमा गाडेर पूजा गर्ने र बिहान आफूले गाडेको लिङ्गोलाई पहिचान गरी चिच्याएर मागेको वर पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ ।

यस वर्ष पनि कात्तिक २४ गतेदेखि २६ गतेसम्म सत्यवतीमा धार्मिक मेला लाग्यो। सोही मेलालाई मध्यनजर गरी तिनाउ गाउँपालिकाले २६ गते सार्वजनिक बिदा समेत दियो ।

सत्यवतीमा पूजाअर्चना गर्दा मागेको वर पूरा हुने विश्वास जनमानसमा रहेपछि यहाँ बली चढाउने क्रम पनि बढेको छ ।

अघिल्लो वर्ष चिच्याएर मागेको वर पूरा भएपछि दर्शनार्थीहरू अर्को वर्ष भाकल पूरा गर्न फेरि सत्यवती पुग्ने गर्छन् । यसवर्ष २६ गते कात्तिक पूर्णिमा योग परेको कारण दर्शनार्थीको धेरै भीड लागेको थियो ।

४/५ वर्ष अघि यहाँ रातिमात्र पूजा हुने गर्दर्थ्यो । तर पछिल्ला वर्ष भने दिउँसोमा पनि पूर्जा गर्न थालिएको छ। दर्शनार्थीहरूको सजिलोको लागि त्यसो गरिएको मन्दिरका एक पूजारी बताउँछन् ।

कोही परीक्षा सफल होस्, राम्रो जोडी पाइओस्, विदेश जाने भिसा लागोस्, व्यापार व्यवसाय फस्टाओस् भनेर आफ्नो मनको इच्छा पूरा होस् भनेर वर माग्छन् भने कोही सन्तानको शिक्षादिक्षा राम्रो होस्, जागिर पाइयोस्, कुनै रोगव्याधी लागेको भए निको होस् भन्ने जस्ता वर चिच्याएर नै माग्ने गर्छन् ।

अरु मन्दिर भन्दा सत्यवती मन्दिरको यस्तो अनौठो परम्पराकै कारण यहाँ आउने दर्शनार्थीको संख्या हरेक वर्ष बढ्दै गएको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगर बताउँछन् ।

यस वर्ष सत्यवती बजैको दर्शन तथा पूजाआजा गर्न विशेष साइत जुरेको कारण ३ लाख दर्शनार्थी सत्यवती पुगेको अध्यक्ष घर्तीमगरले दाबी गरे ।

कात्तिक महिनामा बाला चतुर्दशी र पूर्णिमा पर्ने वर्ष सत्यवती बज्यैको दर्शन गर्ने उत्तम समय रहेको बुढापाका तथा मन्दिरका पूजारीहरूको भनाइ छ ।

विगतका वर्षहरूमा कात्तिक चतुर्दशीका दिन भक्तजनहरू सत्यवती बज्यैको मन्दिरमा बास बस्ने र पूजा पाठ गर्ने बिहानपख देवीसँग चिच्याएर वर मागी झिसमिसेमै बाटो लाग्ने चलनचल्ती आजकल भने फेरिएको छ ।

केही वर्षदेखि कात्तिक शुक्लपक्षको त्रियादशीको दिनदेखि पूर्णिमासम्म रात दिन सत्यवती बज्यैको पूजापाठ गरी चिच्याएर वर माग्ने परम्परा सुरू भएको छ।

मातृसत्ताको समयदेखि नै सत्यवती बज्यैको पूजापाठ सुरू भएको चिच्याएर वर माग्ने प्रचलन आजसम्म कायम रहेको छ।

मेलाकै कारण त्यहाँका बासिन्दालाई केही दिन भने मात्रै पनि आम्दानीको बाटो खुल्ने गरेको छ।

सत्यवती मन्दिर र ताल क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके स्थानीयको आम्दानीको स्रोत बन्नेमा दुईमत छैन। त्यसैले आफूले योजना अगाडि बढाउनेतर्फ लागि परेको बताउँछन् गाउँपालिका अध्यक्ष घर्तीमगर।

त्यसैले, भम्रण वर्ष २०२० लाई सफल पार्न यतातिर पनि ध्यान दिने कि ! – सेतोपाटीबाट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *