गच्छदारको चिन्ता ! ‘मसँग पैसा छैन, ९ करोड कहाँबाट ल्याउने ?’

Spread the love

काठमाडौं : ललितानिवास प्रकरणमा मुछिएका कांग्रेस उपसभापति एवम् पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले अख्तियारले माग गरेको बिगो तिर्ने रकम आफूसँग नभएको बताएका छन्। संसदीय दलको शुक्रबार बसेको बैठकमा बोल्दै उपसभापति गच्छदारले ललिता निवास प्रकरणमा आफू निर्दोष रहेको बताएका हुन्।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै अख्तियारले माग दाबी गरेको बिगो तिर्न सक्ने अवस्थामा नरहेको बताए। ‘९ करोड रुपैयाँ कहाँबाट ल्याउने ? मसँग पैसा छैन ? ,’ दलको बैठकमा उनले भने, ‘३० वर्ष सांसद बनें। कुनै दोष लागेन। अहिले मेरो राजनीति सिध्याउन सुनियोजित रूपमा मुद्दा दायर भयो।’

गच्छदारले आफूविरुद्धको मुद्दा पार्टीमाथिको आक्रमण भएको बताए। ‘यो पार्टीको विषय हो। पार्टीको विषय भए पनि ममाथि आक्रमण भएकाले मलाई बढी पीडा हुनु स्वाभाविक हो’, उनले भने, ‘मैले भ्रष्टाचार गरेको छैन। ललिता निवास प्रकरणमा भौतिक मन्त्रालय सरोकारवाला मन्त्रालय पनि होइन। यो राजनीतिक पूर्वाग्रहबाट भएको निर्णय हो।’

उनले ललिता निवास प्रकरणलाई आफूले चर्काे रूपमा उठाएपछि सरकारले प्रतिशोध साँध्न अख्तियारलाई प्रभावित पारेको जिकिर गरे। ‘ललिता निवासबाट कुनै लाभ लिएको भए म जस्तोसुकै सजाय भोग्न तयार छु। यो ममाथिको प्रहार हो,’ गच्छदारले भने।

बैठकमा सांसदहरूले अख्तियारको भूमिका निष्पक्ष नभएको भन्दै आपत्ति जनाएका थिए। नेकपा महासचिव विष्णु पौडेल, चीनका लागि नेपाली राजदूत लीलामणि पोखरेल, पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई बचाएर कांग्रेस नेताहरूलाई मात्र दोषी देख्ने अख्तियारको भूमिकामाथि कांग्रेसले प्रश्न उठाएको छ।

नेवि संघको विरोध प्रदर्शन

नेपाल विद्यार्थी संघको अगुवाइमा शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन भएको छ। अख्तियारले पूर्वाग्रही भएर कसैलाई काखा र कसैलाई पाखा गरेको भन्दै नेवि संघका कार्यकर्ता सडकमा उत्रिएका हुन्। नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आफूहरू नेताको बचाउमा आन्दोलनमा नआएको प्रस्ट पारे।

उनले भने, ‘कसैलाई काखा कसैलाई पाखा गर्ने अख्तियारको कदमको विरोध गर्न आएका हौं। निर्णय गर्ने प्रधानमन्त्री माधव नेपाल निर्दोष हुने अनि प्रस्ताव लैजाने मन्त्री गच्छदारलाई कारबाही कसरी ? ’ उनले तत्कालीन मुख्यसचिवदेखि पार्टीका महासचिव विष्णु पौडेललाई बचाउने अख्तियारको निर्णय दोषी रहेको दाबी गरे।

नेवि संघका अध्यक्ष राजीव ढुंगानाले पनि सरकार र अख्तियारको गलत निर्णयविरुद्ध आन्दोलनमा उत्रिएको बताए। शनिबार तरुण दलको नेतृत्वमा देशभर विरोध कार्यक्रम हुने कांग्रेसले जनाएको छ। आजको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *