माछालाई लगाएको करेन्टले बालकको मृत्यु : परिवारका सदस्य र आफन्त प्रहरीको निगरानीमा

Spread the love

कार्तिक २९, मोरङ / माछा मार्न खोलामा प्रवाह गरिएको करेन्ट लागेर मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा शुक्रबार दिउँसो एक बालकको मृत्यु भएको छ । आफन्त मिलेर स्थानीय बूढी खोलामा माछा मार्न लगाएको करेन्टले विकाश मगरका छोरा ९ वर्षीय रोहन मगरको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनकाअनुसार रोहन बुवा विकाससँग माछा मार्न भनेर खोला गएको खुलेको छ । करेन्टले मरेका माछा टिप्न खोलामा पसेका बालक करेन्ट लागेर घाइते भएको खिँउजुको भनाइ छ । घाइते बालकको उपचारका लागि विराटनगरतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जानकारी उनले दिए ।

शव पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ । खोलामा माछा मार्नका लागि करेन्ट प्रवहा गर्ने व्यक्तिहरुका बारेमा पहिचान भइनसकेको र घटनाका अनुसन्धानका क्रममा रहेको भन्दै प्रहरीले धेरै कुरा खुलाउन मानेन ।

एसपी खिँउजुकाअनुसार माछा मार्न खोलामा करेन्ट प्रवाह गरिनु पनि अवैध काम हो । करेन्ट लगाएर खोलामा माछा मार्न कानुनले प्रतिबन्ध लगाएको काम गर्ने क्रममा बालकको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ । करेन्ट लागेर बालक घाइते भएपछि आफन्त र परिवारका सदस्यले प्रहरीलाई थाहा नदिइकन उपचारका लागि भनेर विराटनगरतर्फ ल्याएका थिए । पछि घटनास्थलमा पुगेको प्रहरीलाई आफन्तले पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको भनेर ढाँटेका थिए ।

तर पोस्टमार्टमबाट सबै यथार्थ बाहिर आउने भनेर थाहा पाएपछि मात्रै परिवारका सदस्यले करेन्ट लागेर बालकको मृत्यु भन्दै घटनाको वास्तविकता बाहिर ल्याएको जानकारी डीएसपी खिँउजुले दिए । मृतक बालकका बुवा विकाशले जिल्ला प्रहरी कार्यालय मोरङमा करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा छोराको मृत्यु भएको भन्दै जाहेरी दिएका छन् । जाहेरीमा पनि माछा मार्न खोलामा करेन्ट प्रवाह गर्नेहरुको कुनै पहिचान खुलाइएको छैन ।

खोलामा करेन्ट लगाएर अरुले माछा मारिरहेका बेला बुवा–छोरा पुगेको र त्यही बेला पौडी खेल्नलाई जान्छु भनेर हतारमा खोलामा हामफाल्दा छोरालाई करेन्ट लागेको विकाशको भनाइ छ । उनले खोलामा करेन्ट लगाउनेहरुका बारेमा थाहा नभएको बताए । तत्काल उपचारका लागि ल्याइए पनि बाटैमा मृत्यु भएको विकाशले बताए ।

डीएसपी खिँउजुले घटना गम्भीर प्रकृतिको रहेको भन्दै भन्दै गहन ढंगले अनुसन्धान थालेर बालकका परिवारका केही सदस्य र आफन्तलाई निगरानीमा राखिएको जानकारी दिए । तर प्रहरीले शुक्रबार साँझसम्म घटना अनुसन्धानका लागि भनेर कोही कसैलाई पक्राउ भने गरेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *