विप्लवले मोवाइल प्रयोग नगर्दा प्रहरीले खेपेको हैरानी

Spread the love

काठमाडौं । प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पार्टीमा दोस्रो वरियताका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) २३ साउन ०७५ मा दक्षिणकालीबाट पक्राउ परे । हेटौँडाबाट फर्पिङको बाटो हुँदै काठमाडौं आउँदै गर्दा उनी पक्राउ परेका थिए ।

मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ९ चैत ०७५ मा काभ्रे–ललितपुरको सीमाना खानिखोलाबाट पक्राउ परे । वली पार्टीमा तेस्रो वरीयताका नेता हुन् ।

विप्लवपछि पार्टीभित्र दोस्रो र तेस्रो वरियतामा रहेका विश्वकर्मा र वलीलाई प्रहरीले मोवाइल ट्रयाकिङका आधारमा पक्राउ गरेको थियो । कुनै व्यक्तिले मोवाइल फोन प्रयोग गरेको छ भने ‘जिपिएस’ (ग्लोवल पोजिसनिङ सिष्टम) को माध्यमबाट मोवाइल प्रयोगकर्ताको ‘लोकेशन’ सहजै पत्ता लाग्छ । यसै आधारमा विश्वकर्मा र वली लगायत सो समूहका उपल्ला स्तरका नेतालाई प्रहरीले पक्राउ गर्दै आएको छ ।

मोवाइल फोन ट्रयाकिङका आधारमा उपल्ला नेता पक्राउ गरेपनि प्रहरीले अहिलेसम्म विप्लवलाई भने पक्राउ गर्न सकेको छैन् । २८ फागुन ०७५ मा सो समूहमाथि सरकारले प्रतिबन्ध लगाएपनि आखिर विप्लवसम्म प्रहरी किन पुग्न सकेको छैन त ?

मोवाइलबाट टाढा विप्लव

पक्राउ गर्नुपर्ने कुनै व्यक्तिसम्म पुग्न प्रहरीका लागि सबैभन्दा सहज माध्यम बनेको छ, मोवाइल ट्रयाकिङ । विप्लवसम्म पुग्न पनि प्रहरीले यो उपाय नअपनाएको होइन । उनलाई पक्राउ गर्न नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा रहने विशेष व्यूरोले केही समूह नै बनाएको छ । तर, सो समूहमाथि प्रतिबन्ध लागेको एक वर्ष बित्न लाग्दासमेत उनलाई पक्राउ गर्न नसकेर प्रहरी हैरान छ ।

विशेष व्यूरोका एक प्रहरी अधिकृतका अनुसार विप्लवको समीपमा पुग्न नसक्नुको मुख्य कारण उनले मोवाइल प्रयोग नगर्नु हो । उनलाई पक्राउ गर्न मुख्य आधार मोवाइल ट्रयाकिङलाई बनाएको र प्रहरीको यो शैली बुझेका विप्लव र उनको सुरक्षामा रहने सहयोगीहरुले मोवाइल फोन नै प्रयोग नगर्नु ।

प्रहरी मुख्यालय स्रोतको दावी अनुसार, विप्लव पछिल्लो समय पश्चिमी पहाडी जिल्लाका जाजरकोट, कालिकोट, दैलेख, रुकुम, रोल्पा, कपिलवस्तु, दाङ आसपासका जिल्लामा घुमफिर गर्ने गरेको सूचना छ । अन्यको तुलनामा यी जिल्लामा सो समूहको केही प्रभाव छ ।

त्यसअघि उनी पूर्वी पहाडी जिल्लाका भोजपुर, सोलु लगायतका जिल्लामा थिए । भारतीय बाटो प्रयोग गरी पछिल्लो समय पश्चिमी पहाडका जिल्लातिर लागेको हुनसक्ने प्रहरी विश्लेषण छ ।

विप्लवको सक्रियता भएको क्षेत्रबारेको सूचना प्रहरीलाई भएपनि मोवाइल फोनबाट टाढा रहेका कारण उनी नजिक पुग्न असफल हुँदै आएको छ । ‘आफ्नो साथमा रहने र उनलाई भेट्न जानेलाई समेत साथमा मोवाइल फोन बोक्न दिइँदो रहेनछ’ प्रहरी स्रोतले भन्यो, ‘यही कारण मोबाइल फोन ट्रयाकिङको माध्यमबाट उनलाई पक्राउ गर्न सकिने स्थिति छैन ।’

जानकारी अनुसार, विप्लव जहाँ रहन्छन्, त्यो ठाउँको सुरक्षाका लागि सामान्यतया तीन वा चार तहको घेरा रहने गरेको छ । विप्लवको साथमा रहने सुरक्षा–सहयोगी त भइहाले, त्यसबाहेक दुई–तीन तहमा सेन्ट्री राख्ने गरिएको छ ।

२९ असोज (०७६) मा दाङको राजपुर–४ मुंग्रेटाखोला नजिक पक्राउ परेका विप्लवका दाजु चन्द्रबहादुर चन्द (वीरजङ) सहितको टोलीका लागि गरेकोे सुरक्षा व्यवस्थाबाट पनि विप्लवले आफ्नो सुरक्षा प्रवन्ध कसरी गरेका रहेछन् भन्ने अनुमान लगाउन सहज हुन्छ ।

वीरजङसहित पक्राउ परेको २१ जनाको टोली जङ्गलको बीचमा रहेका दुईवटा खालि घरमा बैठकका लागि गएको थियो । सो ठाउँको सुरक्षाका लागि ठाउँ–ठाउँमा सेन्ट्रीको व्यवस्था गरेको थियो । त्यसमध्ये एक सेन्ट्री प्रहरीको सुराकी थिए, तिनैको सूचनाका आधारमा प्रहरीले बैठकस्थल ‘लोकेट’ गर्न सकेको थियो ।

विभिन्न घेरामा सेन्ट्रीको व्यवस्था गरिएकाले प्रहरी कुखुरा बोक्ने गाडी प्रयोग गरी कुखुरा व्यापारीको भेषमा सो क्षेत्रमा पुगेको थियो ।

प्रहरी योजना

मोवाइल फोन ट्रयाकिङकै आधारमा प्रहरीले पार्टीका एकपछि अर्का शीर्ष नेता पक्राउ गर्न थालेपछि विप्लव मोवाइल फोन प्रयोगबाट टाढा छन् । र, परम्परागत सूचना संयन्त्रको भर पर्न थालेका छन् । अर्थात्, उनी सूचना लिने–दिने काम विश्वासिलो व्यक्तिबाट गर्छन् । यसका लागि मौखिक सूचना आदान–प्रदान र चिठीको प्रयोग हुने गरेको छ ।

सूचना आदान–प्रदान गर्ने विप्लवको यो शैलीबाट प्रहरीपनि अनभिज्ञ छैन । त्यसैले, प्रहरीले पनि उनको पक्राउका लागि परम्परागत नीतिमा जोड दिएको छ ।
त्यसमध्ये एक हो, विप्लव समूहमा घुसपैठ । छद्म भेषमा विप्लव भएको क्षेत्र वरपर पुग्ने ।

२९ असोज (०७६) मा दाङमा भएको वीरजङसहित झण्डै दुई दर्जन नेता–कार्यकर्ताको पक्राउ यही शैली प्रयोग गरेर भएको थियो । कतिपयको भनाई त के छ भने, विप्लव छन् भन्ने सूचनाकै आधारमा प्रहरी कुखुरा व्यापारीको भेषमा कुखुरा हालिएका गाडीमा त्यहाँ पुगेको हो । तर, प्रहरीको हातमा विप्लव होइन, दाजु वीरजङ्ग परे ।

खासमा यही घटनापछि विप्लव समूह सुरक्षाप्रति थप सतर्क बन्न पुगेको प्रहरीको विश्लेषण छ । नेता–कार्यकर्ता पक्राउ पर्नुमा प्रहरीको घुसपैठले भूमिका खेलेको जानकारीपछि पार्टीले केही कार्यकर्तालाई नियन्त्रणमा लिएर छानविन गरेको थियो । मोवाइल प्रयोगमा पहिल्यैदेखि सतर्क रहेको सो समूह दाङ घटनापछि गाडी प्रयोगमा समेत सतर्क हुन थालेको बताइन्छ । यही कारण विप्लवसम्म पुग्न जटिलता थपिएको प्रहरी विश्लेषण छ ।

आधुनिक प्रविधि (मोवाइल फोन लगायत) को प्रयोगबाट टाढा हुन थालेपछि प्रहरीलाई अप्ठेरो थपिए पनि सो समूहमाथि प्रतिबन्ध लागेताका चाहिँ विप्लवलाई पक्रन प्रहरीलाई यती गाह्रो थिएन । प्रहरी स्रोतका भनाइमा, २८ फागुनमा जब विप्लवमाथि प्रतिबन्ध लाग्यो, त्यतिबेला विप्लव राजधानीभित्रै थिए । र, मोवाइल ट्रयाकिङका आधारमा निरन्तर उनी रहेको स्थान पत्ता लगाउने गरिएको थियो । तर, सरकार वार्ताको प्रयासमा रहेका कारण उनलाई पक्राउ गरिएको थिएन ।

जब, प्रतिबन्ध लाग्यो, त्यसपछि विप्लवले काठमाडौं छाडे । र, चितवनसम्म पुगे । चितवनबाट भारततर्फ लाग्नसक्ने विश्लेषणका आधारमा पिछा गरेको सो टोलीले प्रहरी मुख्यालयसँग पक्राउको अनुमति माग्यो, मुख्यालयले गृह मन्त्रालयसँग । तर, जनयुद्धका आफ्ना सहकर्मी विप्लवलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा (बादल) ले अनुमति दिएनन् । र, विप्लव जोगिए ।

प्रतिबन्धको केही समयपछि जब सरकार आक्रामक हुँदै गयो, विप्लवले पनि त्यसैअनुसार सतर्कता र सुरक्षा योजना बनाउन थालेको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रहरीले गुप्त रुपमा उनको खोजी त जारी राखेको छ । तर, विप्लवले फोनलगायत आधुनिक प्रविधि प्रयोग गर्न छाडेपछि उनलाई पक्रने प्रहरी प्रयासले सफलता प्राप्त गर्न सकेको छैन । मित्र भण्डारीले नयाँ पत्रिकामा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *