वुहानबाट प्रधानमन्त्रीलाई पत्र : ‘तपाईँले मुरली बजाउँदा हामी रोइरहेका छौं’

Spread the love

काठमाडौं । कोरोना भाइरसको उद्यम स्थल मानिएको चीनको वुहानमा रहेकी एक नेपाली विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्लापत्र पठाएकी छिन् ।

वुहानमा अध्यनरत प्रमिला देवकोटाले आफूहरु कोठामा थुनिएर बसेको यतिका दिन वितिसक्दा पनि आफ्नो देशको सरकारले उद्धार नगरेकोमा वुहानमा रहेका नेपाली विद्यार्थीहरुको तर्फबाट प्रधानमन्त्रीलाई पत्र लेखेको फेसबुकमार्फत बताएकी छिन्।

उनले सामाजिक संजाल फेसबुकमा ‘ प्रधामन्त्रीलाई पत्र, आशा छ कसैले यसलाई पुर्याउन सहयोग गर्नैछ’ भनेर यस्तो पोस्ट गरेकी छिन् ।

देवकोटाको पत्रः

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,

तपाइहरुलाई हिजो राम्रो निन्द्रा पर्यो होला। हामी यहाँ चीनको हुवेइमा भएका विद्यार्थीहरु भने रातभर तपाई लगायतका नेताहरुले बजाइरहेको मुरली हेरेर आफैलाई चिथोरीरह्यौं।

हामीले अझै पनि घर फर्कने समयको केही खबर पाएनौं। हामी यहाँ हरेक मिनेट नेपालका समाचार हेरेर विताइरहेका छौं, हाम्रो घर फर्कने समाचारको आसमा।

त्यो समाचार त पाएनौं तर तपाईहरुले बाजा बजाइरहको तस्वीर भने पायौं। हामी तपाईँ रोम जल्दा मुरली बजाउने नीरो हो त भन्दैनौ। तपाईँका विगतका काम हेर्दा हामीलाई लाग्दैन तपाईँको मुटु त्यति कठोर छ। तर तपाईँले पक्कै मान्नुपर्छ हामी अत्यासिएका छोराछोरी जस्ताको मनमा अझै आस नदेखाएर तपाईँले आफूमा सम्वेदना भने नभएको पुष्टी गर्नुभएको छ।

हामी अहिले नेपाल सरकारलाई किन बोझ भयौ भनेर छलफल गरिरहेका छौं। हाम्रा नजिकैका भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका जनताभन्दा हामी किन फरक भयो भनेर सोच्यौं। यहाँ डाक्टर पढेका देशमा काम गरेका वा अन्य पेशामा लागेका र अगाडि पढ्न आएका युवायुवती छन्। उनीहरु सोच्दछन् देश बन्न त भूगोल मात्रै काफी हुन्न। देश भूगोलमा बस्ने जनताले बनाउँछ।

अत्यास कस्तो हुन्छ, जीवन गुमाउने डर कस्तो हुन्छ, भन्ने हाम्रो प्रधानमन्त्रीले जति कसले बुझ्नुभएको होला। तर तपाईलाई नै हाम्रो अत्यास मेटाउने हतारो किन नगर्नु भएको भनेर पनि छलफल गर्यौं।

देशमा स्रोत छैन्, ठीक हो नहुनु आफैमा दोष होइन। तर स्रोत जुटाउन नसक्नु त्यो दोष हो। जनता मगन्ते मात्रै मानिरहने र राज्य भएको महसुस नै नहुने कस्तो देश बनाउनुभयो तपाईँहरुलेर ? हामी यहाँ सोच्दैछौ कुनै दाता तपाईँ कहाँ हामीलाई १४ दिन लगिदिने प्रस्ताव लिएर किन आइदिएन ?

त्यो सहरमा हामी अट्ने ठाउँ खोज्न तपाईहरुले चीनले अस्पताल बनाउँने भन्दा बढी समय लगाउनुभयो। तपाईँहरुलाई काम गर्न नपर्ने र राज्य चलाउन पाइरहने किन बनायौँ हामीले ? त्यो सोचेर पनि आफैलाई चिथोर्न मन लाग्छ।

कुन समय आउँछ नागरिकको जीवनमा जब उसलाई लाग्छ, यस्तो देशमा किन जन्मिए ? हामीलाई पहिलोपटक यस्तै लागेको छ। आस छ, हामी यहाँ सकुशल हुँदै हाम्रा बा जस्तो प्रधानमन्त्रीले बुझेछन् र घर आइयो भन्न पाइयोस् र हाम्रा अर्का रातहरु आसमा अत्यासिएर बाच्न नपरोस्।

– हामी वुहानमा अत्यासिएका नेपाली

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *