बैंकहरुको नाफा घट्दो क्रममा, कुन बैंकले कति कमाए ?

Spread the love

काठमाडौं । देशको अर्थतन्त्रको अवस्था खराव हुँदा पनि आकर्षक कमाई गरिरहेका बैैंकहरुको नाफा घट्न थालेको छ। नेपाल राष्ट्र बैंकले गरेका विभिन्न बाध्यकारी व्यवस्थाका साथै लगानी योग्य पूँजि अभावका कारण नाफा खुम्चीन थालेको हो।

बैंकहरुले प्रकाशित गरेका चालु आर्थिक वर्षको ६ महिनासम्मको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा बृद्धिदरमा कम आएको छ। बुधबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये नेपाल बैंक, सिटिजन्स, सिद्धार्थको नाफा घटेको छ। यसैगरी अन्य बैंकको भने नाफा बृद्धिदरमा कमी आएको छ।

बुधबारसम्म १५ वटा बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन्। त्यसमध्ये सबैभन्दा बढी नाफा एनआइसी एसिया बैंकको र सबैभन्दा कम सिटिजन्स बैंकको छ। नेपाल बैंक, सिद्धार्थ र सिटिजन्सको नाफा घटेको छ भने अन्यको सामान्य मात्र बृद्धि देखिएको छ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहाल बैंकहरुको लागत बढ्दै गएकाले नाफाको बृद्धिदर खुम्चीएको बताउछन्। उनका अनुसार स्थानीय तहमा खोलिएका शाखाका कारण लागत बढेको र राष्ट्र बैंकले स्प्रेडदर घटाएपछि नाफा खुम्चिएको छ। यसैगरी बैंकहरुले माग अनुसार कर्जा विस्तार गर्न नसक्दा समेत नाफामा असर परेको उनको भनाई छ।

कुन बैंकले कति कमाए ?

एनआईसी एशिया बैंक

चालु आर्थिक वर्षको पुससम्ममा एनआईसी एशिया बैंकले दुई अर्ब एक करोड नाफा गरेको छ। यो अघिल्लो वर्षको सोही समयमा कमाएको नाफाभन्दा करिब ३३ प्रतिशत बढी हो। अघिल्लो वर्ष सो बैंकको नाफा करिब डेढ अर्ब थियो। यस अवधिमा बैंकले १ खर्व ८६ अर्ब निक्षेप संकलन गरी १ खर्व ६५ अर्ब रुपैंया कर्जा लगानी गरेको छ।

हिमालयन बैंक

हिमालयन बैंकले पुससम्ममा एक अर्ब ७४ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्षको यहि अवधिको तुलनामा २७ प्रतिशतले बढेको हो। गत आवको पुस मसान्तमा १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको छ।

कृषि विकास बैंक

चालु आवको पुससम्ममा कृषि विकास बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा २२.८ प्रतिशत नाफा वृद्धि भएको हो।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा डेढ अर्ब नाफा कमाएको छ। गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा ५.५९ प्रतिशतले बढेको हो।

प्राइम कमर्सियल बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकले एक अर्ब ३० करोड सात लाख ८७ हजार खुद नाफा गरेको छ। बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.६१ प्रतिशतले बढेको हो।

नेपाल बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंकको नाफा १८.६ प्रतिशतले घटेको छ। पुष मसान्तसम्ममा बैंकले एक अर्ब ३५ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी घटेपछि नाफामा असर गरेको देखिएको छ।

सानिमा बैंक

सानिमा बैंकले चालु आर्थिक वर्षको पुससम्ममा एक अर्ब १४ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८४ प्रतिशतले बढेको हो।

प्रभु बैंक

प्रभु बैंकले चालु आर्थिक वर्षको पुससम्ममा खुद नाफा १ अर्ब ८ करोड रुपैयाँ गरेको छ। गत आवको तुलनामा ४.२१ प्रतिशत नाफा बढेको हो। बैंकले १ खर्ब १५ अर्ब निक्षेप संकलन गरी ९४ अर्ब ७१ करोड लगानी गरेको छ।

सिद्धार्थ बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको नाफा चार करोडले घटेको छ। बैंकले एक अर्ब दुई करोड ६५ लाख खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक यहि अवधिमा बैंकले १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो।

सनराइज बैंक

सनराइज बैंकले चालू आर्थिक वर्षको पहिलो छ महिनामा ९४ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ करोडले बढी हो।

लक्ष्मी बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मी बैंकले ९० करोड ३० लाख २९ हजार खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको नाफा २४.७६ प्रतिशतले बढेको हो।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले ६ महिनामा ८२ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले गत आर्थिक वर्षको सोही अवधीमा ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

एनबी बैंक

बैंकले दोस्रो त्रैमासिक अवधिमा ८० करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा ७९ करोड ३३ लाख रुपैयाँ थियो।

कुमारी बैंक

कुमारी बैैंकको नाफा २१.२१ प्रतिशतले वृद्धि भएको छ। बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा ८० करोड ३० लाख नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले ६६ करोड ६८ लाख रुपैयाँ नाफा गरेको थियो।

सिटिजन्स बैंक

पुससम्ममा सिटिजन्स बैंकको नाफामा भने गिरावट आएको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा करिव १० करोडले घटेर ६८ करोड ७७ लाख एक हजार रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७७ करोड रुपैयाँ नाफा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *