पोखरीबाटै हात हातै बिक्छन् माछा

Spread the love

दमौली । म्याग्दे गाउँपालिका–६ मनहरीका विष्णुकुमार मल्लले सोही ठाउँको भुलभुले चिसापानीमा १० वटा पोखरीमा माछा पालन गर्नु भएको छ । बुधबार उहाँले ठुला माछा छानेर पोखरीबाट निकालेर बिक्रीको लागि सदरमुकाम दमौलीमा ल्याउने योजना बनाउनु भए अनुसार करिब ७० किलो माछा निकाल्नु भएको थियो तर सबै माछा एकै छिनमा पोखरीबाट नै बिक्री भयो ।

दमौलीमा केही साथीभाईको माग अनुसार माछा निकालेर दमौली लैजाने योजना बनाउनु भएका उहाँले एक पटक निकालेको माछा पोखरीमै सकिएपछि पुनः अर्काे पटक निकालेर दमौली ल्याई साथीभाईलाई बिक्री गर्नुभयो । पोखरीबाटै जिउँदो माछा प्रति किलो चार सय रुपैयाँमा विक्री हुने उहाँले जानकारी दिनुभयो । एउटा माछा तीन सय ग्राम तौलको भएपछि माछा बिक्री गर्ने गरेको मल्लले जानकारी दिनुभयो । यो जाडोको समय माछाको तौल खासै नबढ्ने हुँदा यो समय बिक्रीको लागि उत्तम भएको उहाँको भनाई छ ।

कसैलाई पनि खबर नगरी पोखरीबाट माछा निकाले पनि एकै छिनमा पोखरीमा नै माछा सकिने मल्लले बताउनु भयो । पृथ्वी राजमार्गसँगै जोडिएको पोखरीबाट माछा निकाल्दा राजमार्गमा यात्रा गर्ने यात्रुहरु र स्थानीय बासिन्दाले देखेर खरिदकोलागि पोखरीमा नै आउने गरेको उहाँले बताउनुभयो । ‘खैरेनीटार र दुलेगौंडाका साथीहरुले माछा मगाउनु भएको धेरै भयो’ उहाँले भन्नुभयो तर ‘पोखरीमै माग धेरै भएर त्यहाँसम्म पनि लैजान सकिएको छैन ।’ त्यसबाहेक दमौली र त्यस वरपर हुने विवाह भोजकोलागि माछाको धेरै माग हुने गरेकोले त्यसकोलागि समेत पु-याउन निकै गाह्रो भईरहेको उहाँको भनाई छ ।

१० वटा पोखरीमा कमन कार्प र ग्रास कार्प जातीका १० हजार माछापालन गर्नु भएका मल्लले माछा बिक्रीमा कुनै समस्या नरहेको बताउनुभयो । अधिकांश पटक पोखरीबाट नै माछा विक्री भईसक्ने उहाँले जानकारी दिनु भयो । आफ्नै १० रोपनी जग्गामा माछा पालन गर्नु भएका उहाँले अहिलेसम्म करिब ३५ लाख रुपैयाँ लगानी गरिसकेको बताउनुभयो । पोखरीमा माछा किन्न आउनु भएका शेराका बुद्धि श्रेष्ठले कमन कार्प र ग्रास कार्प जातीको माछाको स्वाद निकै मिठो हुने हुँदा आफुहरु त्यसमा आकर्षित भएको बताउनुभयो ।

तनहुँ उद्योग वाणिज्य संघको दमौली बजार इकाई समितिका पूर्व अध्यक्ष समेत रहनु भएका मल्ल फेन्सी व्यवसाय छोडेर माछा पालनमा लाग्नु भएको हो । सुरुको केही समय उहाँलाई इन्जिनियर छोरा प्रदिप मल्लले सहयोग गर्नु भएको थियो । आईटी इन्जिनियर रहनु भएका छोरालाई आफ्नै पेशामा फर्काएर बुबा विष्णुकुमार मल्लले नै माछा पालन सम्हाल्नु भएको छ ।

आफै दिनभर पोखरीमा नै व्यस्त रही माछाको हेरचाह गर्ने उहाँले बताउनुभयो । माछा पालनमा उहाँले नयाँ प्रविधि भित्र्याउनु भएको छ । चरा तथा सर्पले सानैमा माछालाई खाएरै सक्ने हुँदा त्यसबाट बचाउन पोखरीमाथी चराहरु छिर्न नसक्ने मसिनो जाली लगाउनु भएकोछ । यो प्रविधिले माछा चराको शिकार हुनबाट धेरै जोगिएको उहाँले बताउनुभयो ।

माछा पालनबाट आफु सन्तुष्ट रहेको भन्दै उहाँले स्वदेशमा रोजगारको अभाव भन्दै विदेश जाने युवालाई गाउँघरमै खेर गएको जमिनको सदुपयोग गरि माछा पालन या अन्य कुनै व्यवसायीक पशु पालन तथा कृषिमा लाग्न सुझाब दिनुभयो । माछा पालनको बारेमा कसैले आफुसँग सल्लाह लिन आएमा सहयोग गर्न तयार रहेको भन्दै मल्लले जे गर्न सकिन्छ, त्यसैमा रमाउन पनि सक्नु पर्ने बताउनुभयो । प्रकाशचन्द्र भट्टराईले गोरखा पत्रमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *