म तीन वर्षै प्रधानमन्त्री चलाउँछु : ओली

Spread the love

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले छिट्टै मिर्गौला प्रत्यारोपण गरी बाँकी तीन वर्ष आफैं निरन्तर सरकार चलाउने बताएका छन्। ‘अब तीन वर्षसम्म म प्रधानमन्त्री रहने हो। म छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्छु’, प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पादकहरूसँग ओलीले भने, ‘अलि–अलि किड्नीमा समस्या छ। किन अलि–अलि समस्या राख्ने आजको जमानामा पनि ? ’

एउटा मिर्गौला थप्नु ठूलो कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘किन किड्नी राख्न खोजेको हो भने तीन वर्ष बेस्सरी काम गर्न सजिलो होस्। अहिले भन्दा सजिलोसँग बढी काम गर्न सकियोस् भन्ने हो।’

एमाले र माओवादी एकीकरण हुँदाका बखत दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्री चलाउने ‘सहमति’ भएको थियो। तर अब बाँकी तीन वर्ष पनि एक्लै चलाउने विषयमा पार्टीमा कुनै विमति नरहेको दाबी प्रधानमन्त्रीको थियो। ओलीले भने, ‘पहिला त मैले प्रचण्डजीलाई भनेको थिएँ, के भयो र आलोपालो गरौंला ? आधा म चलाउँला, आधा तपाईं चलाउनुहोला। उहाँले अस्ति भर्खर भन्नुभयो कि यो त अस्थिर हुन्छ। उहाँकै प्रस्तावमा यो आलोपालो हटाइदियौं। अब निरन्तर म बाँकी अवधि मैले लाने भन्ने विधिवत् निर्णय गर्‍यांै। अब अझ सुदृढ एकतासाथ अघि बढ्छौं।’

प्रधानमन्त्री ओली पार्टीभित्रको आन्तरिक जटिलता पनि ‘स्वाभाविक’ ठान्छन्। उनले भने, ‘के छ भने पचासौं वर्ष राजनीति गरेका खली खाएका छन्। एउटाले भनेको अर्काेले मान्ने तहको छैन। एकखालको व्यक्तित्व भनांै न, म भन्दाअघि प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेकाहरू छन्। अनि यसो गरांै भनी आदेश दिन त मिल्दैन। यस्ता अलि–अलि जटिलता पार्टीमा हुन्छ नै ? ’

‘तपार्इंहरू कल्पना गर्न सक्नुहुन्छ’, उनले भने, ‘एमाले कहाँ थियो ? माओवादी कहाँ थियो ? वल्लो डाँडा र पल्लो डाँडाबाट तोप हानाहान गर्थे धुमधामसँग। म त झन् सारो तोपका गोलाका गोला ठोक्थें। त्यस्तो अवस्थामा हामी एकतामा आइपुगेका छौं। बाइचान्स यस्तो मौकाले भेट भए जस्तो होइन। सचेत अवस्थाबाट गरिएको एकता हो।’

बलिङपछिको ब्याटिङ मात्रै

केही समयअघि सरकारका राम्रा कामबारे लेख्न सम्पादकहरूसँग ‘मुटु नभएको’ भन्ने टिप्पणी प्रधानमन्त्रीबाट आएको थियो। त्यसपछि प्रधानमन्त्रीसँग मंगलबार सम्पादकहरूको पहिलो सामूहिक भेट थियो। सम्पादकहरूका मन्तव्य र प्रश्न सुनेपछि प्रधानमन्त्रीले एक घण्टा दुई मिनेट बोलेका थिए। ‘म तपार्इंहरूको आलोचनाप्रति असहिष्णु भएको होइन’, ओलीले भने, ‘तपाईंहरुले गोदिरहेपछि अलि–अलि जवाफ त हामीले पनि दिनुपर्‍यो। तपार्इंहरूले बलिङ गरेपछि हामीले पनि अलि–अलि ब्याटिङ गर्नुपर्‍यो नि। तपाईंहरूले बलिङ गरेको गर्‍यै गर्र्ने ? अनि मैले एक ब्याटिङ दिएपछि प्रेसचाहिँ शत्रु भयो भनी रिसाउनु पनि त भएन।’

ओलीले सम्पादकहरूलाई ‘अलि बढ्तै भएको’ टिप्पणी पनि गरे। उनले भने, ‘बढ्ता हुनु स्वाभाविक पनि हो किनभने तपाईंहरूले पनि लडेर ल्याएको लोकतन्त्र हो। त्यसरी ल्याएको स्वतन्त्रता भएपछि अलि–अलि ‘इन्ज्वाय’ गरिहाल्छ।’

ओलीले आफ्ना काम मन नपरे गाली गर्न आग्रह गर्दै भने, ‘तर यस्तो नहोस् कि देशको अहित हुने र अन्योलमा पर्ने खालको कुरा नजाओस्। जनताको मनोबल टुट्ने खालको नजाओस्। जनता निराश भए भने देश बर्बाद हुन्छ। जनतालाई निराशावादी हुन नदिऔं, आशावादी बनाउनुपर्छ।’

जेलबाट छुटेपछि आफू स्वतन्त्रताको उपभोग गर्न गोसाइँकुण्ड पुग्दा झन्डै मरेको भन्ने घटना पनि प्रधानमन्त्रीले सम्पादकहरुलाई सुनाए। उनले भने, ‘म चौध वर्ष जेल बसेको मान्छे। जेलबाट छुट्नेबित्तिकै स्वतन्त्रता ‘इन्ज्वाय’ गर्न गोसाइँकुण्ड जाँदा झन्डै मरेको ? चौध वर्ष जेल बसेर कुज्जिएको मान्छे गोसाइँकुण्ड लागेपछि झन्डै अमरसिंह थापाको हालत भएको ? ’

सरकारले प्रेस स्वतन्त्रता र मौलिक हक कुण्ठित पार्ने विधेयक प्रस्तुत गरेको विषयमा सम्पादकहरूले सरकारको चर्काे आलोचना गरेका थिए। त्यो आलोचना प्रधानमन्त्रीले धैर्यपूर्वक सुनेका थिए। आफ्नो मन्तव्यको सुरुमै ओलीले भने, ‘म पूर्ण रूपमा आश्वस्त पार्न चाहन्छु कि किञ्न्चित पनि बन्देज हुन्न। मौलिक हक र स्वतन्त्रता सीमित पार्ने या कुण्ठित पार्ने काम हुँदैन।’

आफू ५५ वर्षसम्म स्वतन्त्रताकै निम्ति लडेको, स्वतन्त्रताको अभावमा कस्तो अवस्था हुन्छ भनी भोगेको हुँदा नियन्त्रित हुन्छ भन्ने चिन्ता नलिन प्रधानमन्त्रीले आग्रह गरेका थिए। ओलीले भने, ‘आफ्नो स्वतन्त्रता उपभोग गर्दा अरूको स्वतन्त्रता हनन गर्न हुन दिनुहुन्न। सभ्य समाजका निम्ति कानुन आवश्यक हुन्छ।’

‘एमसीसी पारित हुन्छ’

प्रधानमन्त्री ओलीले सत्तारूढ दलभित्रै बहुविवादित ‘मिलेनियम च्यालेन्ज कर्पाेरेसन’ (एमीसीसी) सम्झौता संसद्बाट छिट्टै पारित गर्ने दृढता व्यक्त गरे। उनले भने, ‘यो अनुमोदन गर्नुपर्छ, अनुमोदन हुनुपर्छ। यसै अधिवेशनबाट र छिट्टै पारित हुन्छ र पारित गरिन्छ।’

आफ्नै पार्टीभित्र ‘केही भ्रम’ देखिएको हुँदा त्यसबारे स्पष्ट हुन कार्यदल बनाएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले प्रतिवेदन आएपछि पारित गर्ने प्रक्रियामा जाने बताए। संसद्बाट सम्झौता अनुमोदन भएपछि अमेरिकाले ५० करोड अमेरिकी डलर (करिब ५५ अर्ब रुपैयाँ) अनुदान नेपाललाई उपलब्ध गराउनेछ। त्यसमा नोपलले १४ अर्ब रुपैयाँ काउन्टर फन्ड विनियोजिन गर्नुपर्नेछ। त्यो रकम ट्रान्समिसन लाइन र सडकमा खर्च गर्ने योजना छ।

अमेरिकाले सुशासन, लोकतान्त्रिक प्रणाली हुनुपर्ने, आर्थिक स्वतन्त्रता हुनुपर्छ भनी राखेको सर्तमा नकारात्मक हुनुपर्ने कारणसमेत नभएको ओलीले बताए। ओलीले भने, ‘अमेरिकाले तानाशाहीलाई सहयोग गर्न सकिँदैन भनेको छ। सैन्य प्रयोजनका निम्ति खर्च पाइन्न भनेको छ। ट्रान्समिसन लाइन र सडकमा मात्र खर्च गर्नुपर्छ भनेको छ। यसमा नकारात्मक हुनुपर्ने कारण छैन।’

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा ऊर्जामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वासिङ्टनमा यो सम्झौता गरेका हुन्। ओलीले भने, ‘मलाई हटाएर बनेको सरकारले सम्झौता गरेको हो। ठिक सम्झौतालाई ठिक भन्नुपर्छ। मैले त्यसबेला ठिक छ भनेको हुँ र अहिले पनि ठिक छ भन्छु। हाम्रो नेपालको चलन कस्तो छ भने हामी पहिला सम्झौता सिध्याउँछौं। अन्तिममा अनुमोदन गर्ने बेलामा बहस सुरु गर्छाैं।’

सम्झौताको सर्त भनेको पाँच वर्षभित्र काम सिध्याउनैपर्छ। अवधि सकिएपछि काम नसकिएको पैसा फिर्ता जानेछ। प्रधानमन्त्री ओलीले भने, ‘हामीले हतारहतारमा काम गर्नुपर्छ। जलस्रोतको धनी देश हामीलाई ट्रान्समिसन लाइन चाहिन्छ।’

सम्झौतामा उल्लिखित धेरैजसो सर्त नेपालले पूरा गरिसकेको छ। संसदीय अनुमोदनसँगै कार्यक्रम अघि बढ्नेछ। संसद्बाट अनुमोदन नभएका कारण त्यसमा खर्च भइसकेको रकमको सोधभर्ना समेत नेपालले पाउन सकेको छैन। एमसीसीका आलोचकहरूले ‘भारतसँग किन सम्बन्धित भयो ? ’ भनी प्रश्न उठाइरहेका छन्। प्रधानमन्त्री ओलीले भने, ‘भारतमा बिजुली निर्यात गर्न ट्रान्समिसन लाइन बन्ने हो। सुनौली–गोरखपुर लाइनको सम्झौता भइसकेको छ।’ आजको अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *