प्रहरी बढुवामा सर्वाेच्चको आदेश अवज्ञा

Spread the love

काठमाडौं : सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक (डिआइजी)को पद रिक्त भएको एक महिना नबित्दै बढुवा भइसकेको छ । नेपाल प्रहरीमा भने वरिष्ठ अधिकृत तहका दर्जनौँ पद रिक्त भएको महिनौँ बित्दा पनि बढुवा हुन सकेको छैन । सर्वाेच्च अदालतले पद रिक्त भएको तीन महिनाभित्र बढुवा गरिसक्न सरकारलाई दुई वर्षअघि निर्देशन दिएको थियो । तत्कालीन एसएसपी यादवराज खनालले दायर गरेको रिटमा सर्वाेच्चले यस्तो आदेश गरेको थियो । तर, सो आदेशको गृह मन्त्रालयले अवज्ञा गरेको छ ।

हाल नेपाल प्रहरीमा एक डिआइजी, नौ एसएसपी, १५ एसपीको तथा ४५ डिएसपीको पद रिक्त छन् । महिनौँदेखि रिक्त रहेका पदमा बढुवा नहुँदा एकातर्फ प्रहरीको कामकारबाही प्रभावित भएको छ भने अर्काेतर्फ प्रहरी अधिकारीहरूको करिअरमा समेत असर पुगेको छ । यसले संगठनमै नैराश्यता बढाएको प्रहरी अधिकारीहरू बताउँछन् ।

रिक्त भएको तीन महिनाभित्र बढुवा हुनुपर्ने प्रावधान भए पनि एसएसपीको दरबन्दी १० महिनादेखि रिक्त छ । विश्वराज पोखरेललाई सरकारले गत वैशाखमा डिआइजीमा बढुवा गरेको थियो । रिक्त पदमा बढुवा हुन सकेको छैन । क–कसलाई बढुवा गर्ने भन्ने विवादका कारण बढुवा सिफारिस हुन नसकेको हो । प्रहरीको बढुवामा अत्यधिक चलखेल हुने भएकाले नियमित रूपमा बढुवा हुने गरेको छैन ।

आइजिपीको म्याद थप्न अस्वीकार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकाल एक साता मात्र बाँकी रहँदा नयाँ नेतृत्वबारे निर्णय गर्न नसक्दा अस्वस्थ प्रतिस्पर्धा बढेको छ । एकातर्फ महानिरीक्षक खनाल आफ्नो कार्यकाल थपको लबिङमा लागेका छन् भने डिआइजीहरूको पनि दौडधूप बढेको छ । खनाललाई म्याद थपको प्रस्ताव भने असफल भएको छ ।

प्रधानमन्त्रीनिकट केही व्यक्तिले सोमबारको मन्त्रिपरिषद् बैठकबाट खनालको कार्यकाल थप गर्ने निर्णय गराउन खोजेका थिए । तर, प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको स्रोत बताउँछ । अबको आइजिपी पाँच महिनाको छोटो अवधि हुने र संगठनमा त्यसको नकारात्मक असर पर्ने भन्दै खनाल म्याद थपको लबिङमा लागेका थिए । तर, सर्वाेच्च अदालतले अवकाशसम्बन्धी प्रावधान नियमावलीमार्फत हेरफेर नगरी ऐनमै व्यवस्था गर्न निर्देशन दिएको थियो । त्यसकारण पनि कार्यकाल थप गर्न नमिल्ने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । महानिरीक्षक खनालको कार्यशैलीप्रति प्रधानमन्त्री ओली असन्तुष्ट रहेकाले पनि कार्यकाल थपमा उनले चासो नदिएको स्रोत बताउँछ ।

प्रहरीको सेवाहदसम्बन्धी प्रावधान नियमावली रहेको र मन्त्रिपरिषद्बाट नियमावली संशोधन हुने भएकाले अवकाश पाउने वेलामा आइजिपीले कार्यकाल थपका लागि लबिङ गर्छन् । सरकारले समयमै नयाँ नेतृत्व चयन गर्न नसक्दा त्यसबाट प्रहरी संगठन कमजोर बन्ने पूर्वएआइजी नवराज ढकालको भनाइ छ । ‘यति विशाल संगठनमा सरकारले एक साताअघिसम्म नयाँ नेतृत्व चयन गर्न नसक्नु दुःखद हो,’ उनले भने, ‘केही समयअघि नै सरकारले लिडरसिप ट्रान्सफर गर्नुपर्छ, नत्र नयाँ आइजिपीलाई बुझ्दैमा र टिम बनाउँदैमा लामो समय लाग्छ, जसको असर पर्फर्मेन्समा पर्छ ।’

सेवाहद तथा अवकाशसम्बन्धी प्रावधान राखिएको संघीय प्रहरी ऐनको मस्यौदा गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । सबै निकायबाट सहमति प्राप्त भइसकेकाले मन्त्रालयले अन्तिम मस्यौदाका लागि कानुन मन्त्रालय पठाएको हो । कानुनबाट आएलगत्तै मन्त्रिपरिषद्मा पेस गर्न लागिएको छ । नयाँ ऐन आएपछि प्रदेश प्रहरी गठनको बाटो खुल्नेछ ।

चितवनमा नान्तिराज गुरुङ, पर्सामा गंगा पन्त

प्रहरी प्रधान कार्यालयले तीन जिल्लाका एसपी हेरफेर गरेको छ । पर्सामा गंगा पन्त, चितवनमा नान्तिराज गुरुङ र बारामा कृष्ण पंगेनीको सरुवा भएको छ । दुई महिनाअघि एसपी गंगा पन्तलाई चितवन सरुवा गरिएको थियो, तर विवादपछि प्रहरी प्रधान कार्यालयले उनलाई रमाना दिएको थिएन । उनको सरुवा संशोधन गरी पर्सा पठाइएको छ । पर्साका एसपी सोमेन्द्रसिंह राठौरलाई महानगरीय प्रहरी परिसर काठमाडौं तथा काठमाडौं परिसरका एसपी अशोक सिंहलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ । बाराका एसपी विकाराज खनालको दंगा नियन्त्रण गण सुनवलमा सरुवा भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *