विदेशीको उच्चस्तरीय भ्रमण प्रभावकारी

Spread the love

काठमाडौं : लग्जेम्बर्गका विदेशमन्त्री एवं युरोपेली मुलुकका डिन जिन एसलवर्नको नेपाल भ्रमण लग्जेम्बर्गका सञ्चारमाध्यममा ठूला समाचार बन्यो। नेपालमा सुरु भएको ‘भ्रमण वर्र्ष’ बारे गत वर्ष युरोपभर सञ्चालित दर्जनौं अभियानभन्दा एसलवर्नको भ्रमणमा बढी महत्त्व पायो।

यही कारणले होला नेपालबाट उच्च तहको भ्रमण मित्र मुलुकमा गर्नु भन्दा ती मुलुकबाट नेपालतर्फ भ्रमण गराउँदा प्रभावकारी हुने सुझाव केही नेपाली राजदूतले दिएका छन्।

नेपालबाट राष्ट्र एवं सरकार प्रमुखको राजकीय वा औपचारिक भ्रमण केही प्रभावकारी भए पनि अन्य तहमा हुने भ्रमणको प्रभाव न्यून हुने गरेको सुझाव राजदूतहरूको छ। यहाँबाट माथिल्लो स्तरको भ्रमण हुँदा पनि विदेशी मिडियामा भने हल्लाखल्ला हुँदैन।

नेपालबाट ती मुलुकमा हुने उच्चस्तरीय भ्रमणको सञ्चारमाध्यममा हुने ‘कभरेज’ लाई मानक बनाउँदा उनीहरूका उच्च अधिकारी आउँदा प्रभावकारी रहने ठहर परराष्ट्र अधिकारीहरूको छ।

पछिल्लो समय युरोपेली मुलुकका राजनीतिज्ञहरूले नेपाल भ्रमणमा जोड दिइरहेका छन्। जर्मनीकी फस्ट लेडी इलेक बुडेनबेन्डर शनिबार काठमाडौं आउँदै छिन्। उनी युनिसेफको कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेकी हुन्। राष्ट्रपति पत्नी एवम् पूर्वन्यायाधीशसमेत रहेकी इलेक साताव्यापी भ्रमणमा रहँदा पूर्वी र पश्चिम नेपालका विभिन्न सहरमा जाने कार्यक्रम छ। यस्तै उनले दुई दिन जनकपुरमा बिताउनेछिन्। जर्मन सञ्चारमाध्यममा उनको नेपाल भ्रमणबारे समाचार आउन थालिसकेको छ।

उनी आउनु दुई दिनअघि युरोपेली मुलुक लग्जेम्बर्गका विदेशमन्त्री एसलवर्नले साझा हितका लागि नेपालसँग सहकार्य गर्न आफू तयार रहेको बताएर फर्केका छन्। उनको नेपाल भ्रमणबारे त्यहाँका सञ्चारमाध्यममा दुई दिनमा १७ समाचार प्रकाशित भएको ब्रसेल्सस्थित नेपाली दूतावासका अधिकारीले बताए। उनी लग्जेम्बर्गका उपप्रधानमन्त्रीसमेत भइसकेका राजनीतिज्ञ हुन्।

उनले नेपाली अधिकारीहरूको भेटमा नेपाल राजनीतिक स्थायित्व कायम गर्दै विकास प्रक्रियामा अघि बढेकोमा खुसी व्यक्त गरेका थिए। नेपालको विकासमा आफ्नो मुलुक र युरोपेली महासंघमार्फत सहयोग निरन्तर रहने प्रतिबद्धता पनि उनले गरे। दुई देशका अधिकारीबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलगायतको सहयोगबारे छलफल भएको थियो।

‘उनको भ्रमणको समाचारलाई लग्जेम्बर्गका छापा र टेलिभिजनले निकै महŒव दिएका छन्,’ युरोपेली युनियनका लागि नेपाली राजदूत लोकबहादुर थापाले अन्नपूर्णसँग भने, ‘नेपालतर्फ भ्रमण गराउँदा प्रभावकारी हुँदो रहेछ।’ दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाभएयता लग्जेम्बर्गबाट पहिलोपटक यो स्तरको भ्रमण भएको हो।

त्यसअघि बेल्जियमकी युवराज्ञी एस्ट्रिड र युवराज लोरेन्जसहित १२ जनाको टोलीले नेपाल भ्रमण गरेको थियो। राजदूत थापाले आफ्नो एकल पहलभन्दा पनि सबै प्रकारको सहकार्यमा यस्तो भ्रमण हुने गरेको बताए। ‘म त नेपालमा जतिसक्दो धेरै उच्च राजनीतिक भ्रमण गराउन चाहन्छु। अर्थपूर्ण भ्रमणले दुईपक्षीय सहकार्य बढाउँछ,’ राजदूत थापाले भने, ‘यसमा हामी चुक्न हुँदैन। यहाँ भ्रमण गराउँदा नेपालको प्रचार त्यो मुलुकमा हुन्छ।’

नेपालबाट पनि युरोपमा भ्रमण नभएको होइन। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दुईपटक युरोपेली युनियनको मुख्यालय पुगे। दुईपक्षीय तथा बहुपक्षीय वार्ता गरे। तर त्यसको प्रचार हुन सकेन। डा. प्रकाशशरण महत परराष्ट्रमन्त्री रहँदा पनि त्यहाँ पुगेका थिए। त्यति बेला भएका वार्ताका समाचारै आएनन्।

प्रधानमन्त्री केपी ओलीले नेपालमा राजनीतिक स्थायित्व कायम भएकाले व्यापार र लगानी गर्न आह्वान गर्दै आएका छन्। ओलीले दिगो विकासको लक्ष्य हासिल गर्ने, अतिकम विकसित मुलुकबाट स्तरोन्नतिलगायत नेपालका आगामी कार्यदिशाबारे पनि जानकारी दिने गरेका छन्।

हवाई सुरक्षामा कुरा अघि बढ्दै

नेपाली हवाईजहाज युरोपेली आकाशमा प्रतिबन्धित छ। निरन्तर पहल हुँदा पनि खुला हुन सकेको छैन। हवाई सुरक्षाको विषयलाई युरोपले यति बेला सकारात्मक लिँदै सुधार कार्य अघि बढाएको छ। क्षेत्रगत भ्रमणले त्यसमा सकारात्मक प्रभाव पारेको दाबी अधिकारीहरूको छ। उडान सेवा र टर्मिनल सेवालाई फरक बनाएर त्यसको जानकारी ईयूलाई दिएपछि नेपालमाथि लागेको प्रतिबन्ध हट्ने विश्वास सरकारको छ। यस सम्बन्धमा सरकारले ऐन नै बनाउने भएको छ । चन्द्रशेखर अधिकारीले आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *