कोरोनाका कारण नाका बन्द भएपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट

Spread the love

ताप्लेजुङ : चीनले किमाथांका र ओलाङचुङगोला नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट भएको छ। चिनियाँ बजारमा आ िश्रत संखुवासभा भोटखोला गाउँपालिकास्थित किमाथांकामा दैनिक उपभोग्य वस्तु अभाव देखिएको छ। दुई दिनभित्र वैकल्पिक व्यवस्था नभए हाहाकारै हुने वडाध्यक्ष तेन्छेवी शेर्पा बताउँछन्।

‘कोरोना भाइरसको कारण देखाउँदै चीनले माघ ५ गतेदेखि नाका ठप्प पारेको छ’, शेर्पाले टेलिफोनमा अन्नपूर्णसँग भने, ‘अहिलेसम्म स्टकले धान्यौं, अब यहाँका १ सय २० घर भोकभोकै बस्नुपर्ने अवस्था आयो।’ चामल, नुन र तेल अभाव भएको उनले सुनाए।

उनका अनुसार किमाथांका र चीनको चाँगा बजार बीचमा पर्ने कामु खोला पुलमा रहेको गेटमा ताला लगाएर चिनियाँ सुरक्षाकर्मी बसेका छन्। खाद्यान्न खरिदका लागि खोलिदिन प्रस्ताव गर्दा अस्वीकार गरेको उनले सुनाए।

किमाथांका जिल्ला सदरमुकाम खाँदबारीबाट ३० कोस टाढा पर्छ। स्थानीयवासी दैनिक उपभोग्य वस्तुका लागि तिब्बतको चाँगा बजारमा निर्भर छन्। सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट, प्रहरी चौकी, स्वास्थ्य चौकीलगायत कार्यालयका कर्मचारीलाई पनि समस्या भएको गाउँपालिका उपाध्यक्ष पान्जम भोटेले बताइन्। नाकासँगै चीनले चाँगा, रिउ, ल्हासालगायत बजार पसलसमेत बन्द गरेको छ। त्यहाँ चिनियाँ नागरिकलाई नै हिँडडुलमा रोक लगाएको जनाइएको छ।

भोटखोलासम्म सडक पुगेको छ। त्यहाँसम्म ट्र्याक्टरबाट ढुवानी गर्न सकिने भए पनि त्यसभन्दा माथि लैजान सक्ने अवस्था छैन। बीचको अग्लो पहाडमा हिमपात हुने भएकाले मंसिरदेखि वैशाखसम्म आवतजावत ठप्प हुन्छ। ‘त्यसैले आइतबार वडा समिति र सार्वदलीय बैठक बसी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई हेलिकोप्टरबाट खाद्यान्न ढुवानीका लागि अनुरोध गरेका छौं’, वडाध्यक्ष शेर्पाले भने।

२ हजार २ सय ४८ मिटर उचाइमा रहेको किमाथांकामा कोदो र मकैबाहेक खाद्यान्न उत्पादन हुँदैन। अधिकांश स्थानीय चिनियाँ बजारमा मजदुरी गरेरै पेट पाल्छन्। नाका खुला रहँदा दैनिक ५०–६० जना नियमित काम गर्न पारि जाने गरेको उपाध्यक्ष पान्जमले सुनाइन्। ‘यहाँ रोजगारी छैन, स्थानीय उत्पादनले एक महिना धान्दैन’, उनले भनिन्, ‘लेबर कामका लागि भए पनि चीन नगई उपाय छैन।’

गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले किमाथांकावासीलाई खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताए। ‘प्रत्येक घरलाई एक महिनासम्म पुग्ने खाद्यान्न ढुवानीमा पहल गर्ने निर्णय गरेका छौं’, अध्यक्ष भोटेले भने, ‘अब हेलिकप्टरको प्रबन्ध मिलाइदिन प्रशासनमा अनुरोध गर्छौं।’

ताप्लेजुङको ओलाङचुङगोला नाका पनि बन्द छ। ओलाङचुङगोलामा जनवरी ३० मा पत्र आएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले सुनाए। ‘ओलाङलुङगोलामा नेपालतर्फ सडक खन्न आएका आफ्ना नागरिक फर्किएपछि चीनबाट अनिश्चितकालसम्म नाका बन्द भएको पत्र आयो’, प्रवक्ता वालुङले भने। नाका बन्द भए पनि ओलाङचुङगोला र याङ्मामा केही दिन खाद्यान्न अभाव नहुने वडाध्यक्ष छेतेन भोटेको भनाइ छ।

चीनमै रोकिए १४ नेपाली

चाँगा बजारमा काम गर्न गएका १४ नेपाली उतै रोकिएका छन्। वडाध्यक्ष शेर्पाका अनुसार १२ जना संखुवासभाका र २ जना ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–५ पापुङका छन्। ‘चार जना पसल गर्ने र १० जना होटलमा काम गर्ने मजदुर हुन्। ताप्लेजुङका दुवै महिला हुन्’, उनले भने, ‘काठमाडौंमा राम्रो काम नपाएपछि तिब्बत पुगेका रहेछन्।’ उनीहरूलाई नेपाल फर्काउन पहल भइरहेको उनले सुनाए।

चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि सचेतना अपनाइएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बाले बताए। ‘अहिले नै डराउनुपर्ने अवस्था छैन तर स्वास्थ्य चौकीका कर्मचारीसँग कुरा गरेका छौं, नागरिकलाई सचेत रहन अनुरोध गर्छौं’, उनले भने, ‘तिब्बतमा पनि भाइरस फैलियो भने चाहिँ डराउनै पर्ने अवस्था हुन्छ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा ताप्लेजुङ्गबाट सीताराम गुरागाईंले समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *