भालेको आक्रमणले भाले जुधाउनेको मृत्यु

Spread the love

भारतका विभिन्न स्थानमा कुखुराको भाले जुधाएर मनोरञ्जन लिने गरिन्छ। भाले जुधाइमा बाजी पनि थापिन्छ। सरकारले भाले जुधाइलाई गैरकानुनी करार दिए पनि थुप्रै ठाउँमा भाले जुधाएर भीडले मज्जा लिने गरेको छ।

दक्षिण भारतको आन्ध्र प्रदेश राज्यस्थित प्रगादावरम गाउँका बासिन्दा सारिपाल्ली चानावेंकटेश्वरम, ५०, कुखुराको भाले बोकेर भाले जुधाइ खेलमा भाग लिन कतै गइरहेका थिए। उनी नियमित भाले जुधाइ प्रतियोगितामा भाग लिने मान्छे थिए।

अघिल्लो बुधबार उनी एउटा प्रतियोगितामा भाग लिन घरबाट हिँडेका थिए। बाटोमा उनको भालेले फुत्किन खोज्यो। उनी र भालेबीच संघर्ष भयो। फुत्किने प्रयत्नमा छटपटाउँदा भालेले आफ्नो पञ्जाले सारिपाल्लीको घाँटीमा आक्रमण गर्‍यो। उसको पञ्जामा बाँधिएको ब्लेडले उनको घाँटीमा गहिरो चोट लाग्यो।

तीन बच्चाका बाबु सारिपाल्ली भालेको आक्रमणबाट रगतपच्छे भएका थिए। उनलाई अस्पताल पुर्‍याइयो। त्यहाँ उनको मृत्यु हृदयाघातबाट भयो।

भाले जुधाइ प्रतियोगितामा आफ्नो भालेलाई खुंखार बनाउन भालेधनीहरूले भालेको पञ्जामा ब्लेडजस्ता साना र धारिला हतियार बाँध्ने गर्छन्। सारिपाल्लीले पनि त्यसै गरेका थिए। जसको चर्को मूल्य उनले चुकाउनुपर्‍यो।

सन् १९६० देखि नै भारतमा भाले जुधाइ निषेध गरिएको छ। तर, विभिन्न स्थानमा भाले जुधाइका भयानक प्रतियोगिता हुन्छन्। यसमा हजारौँ रुपैयाँको बाजी लगाइने गरिन्छ।

पिपुल फर एनिमल्स फाउन्डेसनका संरक्षक गौरी मौलेखी भाले जुधाइ प्रतियोगिताका कारण धेरै समस्या आएको बताउँछन्। ‘जिल्ला र राज्यका अधिकारीलाई भाले जुधाइले निम्त्याएका समस्याबारे पटक–पटक अवगत गराइएको छ,’ मौलेखी भन्छिन्, ‘तर, उनीहरू कानमा तेल हालेर बसेका छन्। भाले जुधाइ खेलको संस्कृतिसँग कुनै लेनादेना छैन। यो त पैसाका लागि बाजी खेल्ने प्रतियोगिता हो। यसमा न पन्छीको भलो हुन्छ, न मान्छेको नै।’

मौलेखीका अनुसार भारतका साना शहर र ग्रामीण भेगमा भाले जुधाइ जुवाजस्तै भएको छ। खेलको आवरणमा जुवा चलिरहेको उनको मत छ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *