श्रीमतीसँगैको फोटो देखेपछि युवकको हत्या

Spread the love

२९ कार्तिक, राजविराज : श्रीमतीसँगै बसेर फोटो खिचाएका युवकको हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती र गाउँकै एक युवकको फोटो सँगै देखेपछि युवकको हत्या गर्ने अभियुक्तसहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरी थुनामा राखेको हो।

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशले सप्तरीको सुरुङ्गा नगरपालिका–३ विषहरियाका ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनील सदालाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको हो ।

दुई वर्ष पाँच महिनाअघि सोही ठाउँ बस्ने १९ वर्षीय फुल्चनकुमार मण्डललाई विष खुवाइ हत्या गरेको अभियोगमा उनीहरू असोज ३० गते पक्राउ परेका थिए ।
‘श्रीमति र अविवाहित फुल्चनले सँगै खिचेको फोटो फेला पारेपछि उनीहरूबीच प्रेम सम्बन्ध रहेको ठानी वैदेशिक रोजगारबाट फर्किए लगत्तै महेन्द्रले योजना बनाएर हत्या गरेका रहेछन्’ इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले भने।

केशरीका अनुसार रक्सी खान बजारमा बोलाइ विषादी मिसाएको रक्सी खुवाएर सुनियोजित तरिकाले हत्या गरी फरार रहेका महेन्द्र र अनीललाई पक्राउ गरी अदालतमा बुझाइएको हो ।

रक्सीमा विषादी मिसाएर खुवाएपछि फुल्चनले आत्महत्या गरेको हल्ला फिंजाएर आरोपितहरूले घटनालाई ढाकछोप गर्ने प्रयास गरेको जनाउँदै फुल्चनकी आमा हन्सीदेवी मण्डल खत्वेले उजुरी दिएकी थिइन् । सँगै रक्सी खान बोलाएर फुल्चनको रक्सीमा विषादी मिसाएको थाहा पाएपछि हत्याको उजुरी दिएको उनले बताइन्।

प्रहरीका अनुसार रक्सी खान बोलाइ ०७४ असार ७ गते दिउँसो साढे ३ बजे रक्सीमा विषादी चक्की हालेर खान दिएकै कारण फुल्चनको मृत्यु भएको हो । मृतककी आमाको उजुरीका आधारमा आरोपितहरूमाथि कर्तव्य ज्यानको उजुरी दर्ता भए पनि दुई वर्ष चार महिनासम्म कोही पक्राउ परेका थिएनन् । भाइ र आफन्तहरूसँग मिलेर गाउँकै युवकको हत्या गरेर फरार आरोपितहरू महेन्द्र र अनील गाउँमै फेला परेपछि पक्राउ परेका हुन् ।

अन्य आरोपितहरू सोही ठाउँका महेन्द्रका भाइ ४४ वर्षीय जोगेन्द्र सदा, २४ वर्षीय अर्जुन सदा, २३ वर्षीय प्रदिप सदा र २२ वर्षीय अजित सदा फरार छन् । – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *