आस्था प्रकरण : सोर्सफोर्सको प्रभुत्व शिष्टताको अपहरण

Spread the love

नयाँ शैलीयुक्त सुमधुर स्वरकी धनी युवा गायिका आस्था राउत र ‘राम्रो व्यवहारका कारण’ विमानस्थलजस्तो संवेदनशील ठाउँको सुरक्षा जाँचमा खटाइएकी प्रहरी जवान रमिला श्रेष्ठको व्यवहारले सिर्जना गरेको ‘चिया–कपको आँधी’ को निष्कर्ष हो ‘सोर्सफोर्सको प्रभुत्व शिष्टताको अपहरण।’

प्रहरीले सार्वजनिक गरेको सीसीटिभीको मुकचित्रले प्रमाणित गर्छ– दुवै पात्रले शिष्टता गुमाएका छन्। त्यसपछि आस्थाले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेर त्यसलाई निरन्तरता दिइन् भने प्रहरीले आफैं आत्मसमर्पणमा आएकी व्यक्तिलाई हिरासतमा राखेर कारबाही चलाउने ‘बहादुरी’ देखायो।

तर, कानुनले हिरासतमै राखेर कारबाही गर्ने हदको दोष देखाउँथ्यो भने सोर्सफोर्सको भरमा उनलाई भोलिपल्ट, मंगलबार नै किन मुक्त गरियो? प्रश्न अनुत्तरित छ।

अभद्र व्यवहारको मुद्दामा आफैं प्रहरीको सम्पर्कमा गएकी गायिका आस्था राउत जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशले अनुसन्धानका लागि भन्दै चार दिन हिरासतमा रहने गरी सोमबार प्रहरी नियन्त्रणमा परिन् र जनस्तरदेखि नेकपाका नेताहरूसम्मको चर्को दबाब र विरोधपछि चार हजार रुपियाँ धरौटीमा रिहा भइन्।

केही दिनअघि भारतको सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन भद्रपुर जाने सिलसिलामा काठमाडौं विमानस्थलमा प्रहरी जवान श्रेष्ठले चेकजाँच गर्ने क्रममा ‘तँ भन्दै दुव्र्यवहार गरेको’ आरोप लगाउँदै गायिका राउतले फेसबुक लाइभमा प्रहरी संगठनलाई समेत गालीगलौज गरेपछि उनी प्रहरीको निशानामा परिन्।

एकातिर उनले फेसबुक लाइभमा व्यक्त गरेको भनाइप्रति कतिपयले समर्थन गरे भने कतिपयले उल्टै आस्थाको आलोचनासमेत गरे।
खास गरी कलाकारहरूबाटै आस्थाले सोचेजस्तो समर्थन पाइनन्। अर्कोतिर एउटी प्रहरी जवान र आस्थाबीच भएको विवादलाई लिएर प्रहरीले विमानस्थलमा भएको चेकजाँचको सीसीटिभी फुटेज नै बाहिर ल्यायो।

विमानस्थलमा लुकाई–छिपाई भित्रयाइएको ३३ केजी सुन हराउँदा होस् वा बाह्य उडानका यात्रुको लगेजका सामान हराउँदा होस्, त्यसको अनुसन्धानका लागि सबैभन्दा सहायकसिद्ध हुन सक्ने सीसी फुटेज लुकाउने प्रहरीले एउटी यात्रु र सुरक्षाकर्मीका बीच भएको विवादको भिडियो किन तत्काल सार्वजनिक गर्यो।

यात्रुको गोपनीयताको हकलाई लत्याउँदै फुटेज कसरी एकाएक बाहिरियो ? सीसीटिभीको फुटेज नै नियाल्ने हो भने पनि के त्यसमा केवल आस्थाकै मात्र गल्ती देखिन्छ त ?

बोर्डिङ पास लिइसकेकी आस्था कफी पिएर बाहिरै बसिरहिन्, आफ्नो नाम उद्घोषण भएपछि हतार–हतार भित्रतिर लागिन्, सुरक्षा जाँचका समयमा झर्कोफर्को गरिन्, पक्कै पनि त्यो उनको गल्ती हो।

हुन सक्छ म कलाकार हुँ भन्ने अहम् पनि उनले देखाइन् होला। तर, सुरक्षा जाँचमा खटिएकी प्रहरी जवानको व्यवहारचाहिँ कस्तो थियो भन्ने कुरा पनि ख्याल गर्नैपर्छ।

ध्वनिरहित भिडियो फुटेजमा आस्था गायिका हुन् भन्ने कुरा एकछिनलाई बिर्सिदिउँ। तर, सामान्य यात्रुलाई नै पनि झ्यांगलझुंगुल पार्ने अधिकार ड्युटीमा खटिएकी प्रहरीलाई छ कि छैन ?

हो, सबै प्रहरीको व्यवहार नराम्रो छैन। तर, यो पनि सत्य हो कि सबै प्रहरीको व्यवहार पनि राम्रो छैन। यो विषय प्रहरी संगठनलाई पनि राम्रैसँग थाहा छ। सबैभन्दा आश्चर्यको विषय त प्रहरीले इष्र्यालु मानिसको स्तरमा गएर आस्थाप्रति प्रतिशोध साँध्ने कार्य गर्यो।

उनले फेसबुक लाइभमा बोल्ने क्रममा कतिपय खराब शब्द चयन गरिन्। यो नै उनको गल्ती थियो। तर, त्यसको आलोचना भएपछि उनले फेरि फेसबुक लाइभमै आएर माफीसमेत मागिन्।

सिक्किमको कार्यक्रममा प्रस्तुत भइरहँदा काठमाडौं प्रहरीलाई सघाउने बचनसमेत दिइन्। प्रहरीकहाँ गएर आत्मसमर्पण पनि गरिन्। तर प्रहरीले भने हिरासतमा हालिदियो।

उनले के त्यति ठूलो अपराध गरेकी थिइन्, जसको अनुसन्धान हिरासतबिना हुन सक्दैन थियो ? भलै आस्थाले अस्वस्थताका कारण हिरासतमा रात काट्नुपरेन, अस्पताल भर्ना भइन्।

एकातिर डन सांसद धरौटीमा रिहा हुने, अर्कातिर आस्थाले अनुसन्धानका लागि चार दिनसम्म हिरासतमा बस्नुपर्ने ? गुलेली देखाए पुग्ने ठाउँमा तोप पड्काउने

? जनस्तरदेखि राजनीतिज्ञहरूसम्मबाट आस्थालाई रिहाई गर्न यति ठूलो विरोध र दबाब नभएको भए आस्था कति दिन, कति रात हिरासतमा बस्थिन्– नागरिकहरू सूचनाको हक खोजिरहेका छन् । यो खबर विदुर गिरीले आजको नेपाल समाचारपत्र दैनिकमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *