‘रुसी हस्तक्षेपको रिपोर्ट प्रकाशित नगर्नु लज्जास्पद’

Spread the love

एजेन्सी, वासिङ्टन । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट प्रत्यासी रहेकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले बेलायती राजनीतिमा रुसी हस्तक्षेपबारेको रिपोर्ट अहिलेसम्म पनि सार्वजनिक नगरिनु लज्जाको विषय भएको बताएकी छन् ।

रिपोर्ट सुरक्षित रहने बताइए पनि १२ डिसेम्बरको चुनावसम्म जारी नहुने बताइरहेका बेला क्लिन्टनको यस्तो भनाइ बाहिर आएको हो । उनले भनिन्, ‘यस देशमा मतदान गर्ने हरेक व्यक्ति तपाईंहरूको निर्वाचनअघि रिपोर्ट हेर्ने अधिकार राख्छन् ।’ डाउनिङ स्ट्रिटले रुसी हस्तक्षेपबारेको रिपोर्ट तत्काल बाहिर ल्याउन अस्वीकार गरिरहेको छ ।

संसद्को गुप्तचर एवं सुरक्षा समितिको रिपोर्टमा बेलायती लोकतन्त्रमा रुसी गतिविधिमाथि अनुसन्धान गरिएको उल्लेख गरिएको छ । जसमा जासुसी, तोडफोड र चुनावमा हस्तक्षेपको आरोपसमेत सामेल रहेको छ । यसमा बेलायती गुप्तचर सेवा जीसीएचक्यू, एमआई ५ र एमआई ६ को प्रमाण सामेल छ ।

जुन २०१६ को युरोपेली संघमा रहने÷नरहने बारेको जनमत संग्रह र २०१७ को आमनिर्वाचनको परिणामलाई समेत प्रभावित गर्ने प्रयाससँग सम्बन्धित विषयको छानबिनको निष्कर्ष समेत सामेल छ । मार्चमा रिपोर्टलाई अन्तिम रूप दिएर १७ अक्टोबरमा डाउनिङ स्ट्रिटमा पठाइएको थियो । तर, यसलाई प्रकाशनको अनुमति दिन बाँकी छ । त्यसैले मतदानको दिनसम्ममा यो उपलब्ध हुन असम्भव रहेको छ ।

गुप्तचर समितिका सदस्य सो परिणामबारे अत्यधिक गम्भीर रहेको छ । तर, सरकारले समय असामान्य नरहेको बताउँदै आएको छ । एक पुस्तकको सिलसिलामा बेलायत आएकी हिलारीले बीबीसी रेडियो ४ को एक कार्यक्रममा कुराकानी गर्दै सरकारले यो रिपोर्ट तत्काल जारी नगर्ने सरकारी निर्णयलाई लिएर आफू आश्चर्यमा परेको बताएकी छन् । उनले यो हरेक अवस्थामा जारी हुन आवश्यक रहेको पनि बताइन् ।

हिलारीले भने, ‘यो हरेक अवस्थामा जारी हुन आवश्यक छ किनकि यसमा कुनै सन्देह छैन । रुसी हस्तक्षेपबारे हामीले आफ्नै देशमा देखेका छौं, युरोपमा देखेका छौं, रुसले पश्चिमी लोकतन्त्रको राजनीतिलाई आफूअनुकूल आकार बनाउन कोशिस गर्छ ।’ ‘यो हाम्रो लाभका लागि होइन, उनीहरूका लागि हो,’ उनले भनिन्, ‘म निराशा व्यक्त गर्न सक्दिनँ । तपाईंहरूको सरकारले रुसी हस्तक्षेपबारेको सरकारी रिपोर्ट जारी नगार्नु लज्जाजनक विषय हो ।’

हिलारी क्लिन्टनले सन् २०१६ का निर्वाचनमा अमेरिकामा यस्तै समस्याको सामना गर्नुपरेको समेत स्मरण गरिन् । हिलारी लोकप्रिय मत पाउनुका बाबजुद सन् २०१६ को अमेरिकी राष्ट्रपति पदका लागि भएको निर्वाचनमा डोनाल्ड ट्रम्पसँग पराजित भएकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *