महिला भलिबल टोली : ऐतिहासिक उपलब्धि नजिक

Spread the love

ढाका । फाइनल खेल्ने प्रतिद्वन्द्वी माल्दिभ्सलाई प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा बुधबार सोझो सेटमा पराजित गर्दै नेपाली राष्ट्रिय महिला भलिबल टोली ऐतिहासिक स्वर्णपदक नजिक पुगेको छ । बिहीबार माल्दिभ्सविरुद्ध नेपालले जित हात पारे नेपाली महिला भलिबल टोलीले भलिबल इतिहासमै ठूलो सफलता हात पार्नेछ ।

नेपाली महिला भलिबल टोलीले हालसम्म स्वर्णपदक जित्न सकेको छैन । २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक नै नेपाली भलिबलको सबैभन्दा ठूलो पदक हो । यो समाचार आजको राजधानी दैनिकमा दिल तामाङले लेखेका छन् ।

त्यस्तै, नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा तीन कांस्यपदक जितेको छ । बिहीबार यो सफलता हात पारे नेपाली टोलीले ऐतिहासिक सफलता हात पार्नेछ । फाइनल खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेपछि हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि घरेलु टोली बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन लिगको अन्तिम खेलमा पाएको सफलताले नेपाली टोली बिहीबार उच्च मनोबलसाथ मैदान उत्रनेछ । यस्तोमा नेपाली टोलीलाई रजतपदकभन्दा माथि स्वर्ण जित्ने ऐतिहासिक अवसर छ ।

ढाका मिरपुरस्थित शहीद सुरवार्दी इन्डोर हलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित हात पार्दै अपराजित रहँदै फाइनलमा पुग्न सफल भएको हो । यसअघि नै फाइनलमा स्थान बनाएको नेपालले लिगको अन्तिम खेलमा माल्दिभ्समाथि सबै तीन सेटमा सोझो सेटमा जित निकालेको हो ।

जितसँगै नेपाल लिगको चार खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । पराजित माल्दिभ्सले ४ खेलबाट ८ अंक जोड्यो । पहिलो सेटको सुरुमा माल्दिभ्सले बलियो चुनौती पेस गरे पनि नेपालको उच्च प्रदर्शनलाई रोक्न सकेन । ५–५ अंकको बराबरीबाट अघि बढेको नेपाल २५–१४ ले विजयी रहन सफल भयो । दोस्रो सेटमा नेपालले खेलको सुरुवातदेखि नै अग्रता लिँदै २५–५ को सहज जित निकाल्यो । ५–३ को अवस्थाबाट नेपालले लगातार १६ अंक जोडेपछि फराकिलो अग्रतासहित जित हात पा¥यो । तेस्रो सेटमा पनि नेपालले अफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिँदै २५–१३ को जित निकाल्दै आफ्नो अपराजित यात्रलाई कायमै राख्यो ।

नेपालको जितमा प्रतिभा मालीले सर्वाधिक १८ अंक जोडिन् । उनले स्पाइकबाट १५ र ब्लकबाट १ अंक जोडिन् । यस्तै, सरस्वती चौधरीले स्पाइकबाट १० र ब्लकबाट १ सहित १३ अंक जोडिन् । मिडल ब्लकर साफिया पुनले स्पाइकबाट ६, ब्लकबाट १ र सर्भिसबाट २ सहित ९ अंक जोडिन् । रेश्मा भण्डारीले सर्भिसबाट ८ अंक जोडिन् ।

माल्दिभ्सविरुद्ध मुख्य प्रशिक्षक जगदिश भट्टले यसअघिका तीन खेलमा उच्च प्रदर्शन गरेकी मिडल ब्लकर सुनिता खड्कालाई विश्राम दिएको थियो । उनको स्थानमा उषाकुमारी विष्टले मौका पाएको थियो ।

माल्दिभ्समाथिको सहज जितसँगै नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले बिहीबार पनि राम्रो प्रदर्शन गर्दै ऐतिहासिक स्वर्णपदक जित्ने बताएका छन् ।

‘हाम्रो लक्ष्य सेन्ट्रल जोनमा स्वर्णपदक नै थियो । यसबाहेक हामी घरमै आयोजना हुने १३औं सागमा कसरी राम्रो खेल पस्कने भन्नेमा केन्द्रित छौं । सेन्ट्रल जोनलाई हामीले सागको तयारीका रूपमा हेरेका छौं । हामी ऐतिहासिक स्वर्णपदक नजिक छौं,’ खेलपछि प्रशिक्षक भट्टले भने, ‘खेलाडीहरूले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । तर, आजको खेलमा म त्यति सन्तुष्ट छैन । अझै मेरा खेलाडीले सोचेअनुरूपको खेल्न सकेको छैन । कमजोर प्रतिद्वन्द्वी भएर पनि हुन सक्छ । फाइनलमा योभन्दा राम्रो प्रदर्शन हुनेछ । हामी माल्दिभ्सलाई अझै कम स्कोरमा रोक्न खेल्नेछौं ।’

बुधबार लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशले किर्गिस्तानमाथि ३–२ को पुनरागमन जित निकालेको छ । बंगलादेशले सुुरुवाती दुई सेट गुमाएर उत्कृष्ट पुनरागमनसहित जित निकालेको हो । पहिलो सेट ९–२५ र दोस्रो सेट १५–२५ ले गुमााएको बंगलादेशले त्यसपछिको तीनै सेटमा २५–२१, २५–१७ र १५–११ को जित निकाल्यो ।

सरस्वती ‘प्लेयर अफ दि म्याच’

नेपाली राष्ट्रिय टोलीकी भरपर्दी ओपन स्पाइकर सरस्वती चौधरीले माल्दिभ्सविरुद्धको खेलमा ‘प्लेयर अफ दि म्याच’ को अवार्ड पाएकी छन् । चोटका कारण प्रतियोगिताको पहिलो खेलमा विश्राम लिएकी सरस्वती त्यसपछि बाँकी दुई खेलमा एक–एक सेटमा माल्दिभ्सविरुद्ध पुरै सेट कोर्टमा बिताएकी थिइन् । उत्कृष्ट प्रदर्शन गरेकी प्लेयर अफ दि म्याच सरस्वतीले एक थान मोबाइल हात पारिन् । यसअघि प्रतिभा माली र सुनिता खड्काले यो अवार्ड हात पारेका थिए ।

अवार्ड हात पारेपछि सरस्वतीले अब खेल्न कुनै समस्या नरहेको बताइन् । ‘अहिले खेल्दा दुखाइको अनुभव भएको छैन । अब पूर्ण रूपमा खेल्न सक्छु । हामीले फाइनलमा प्रतिद्वन्द्वीलाई सोझो सेटमा हराएका छौं । अहिले नै च्याम्पियनकै फिल आइरहेको छ,’ सरस्वतीले भनिन्, ‘भोली झन् थप पावर र इनर्जी लगाएर खेल्नेछौं । सेन्ट्रल जोनमा प्लेयर अफ द म्याच हुन पाउँदा खुसी छु ।’

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *