अमेरिकातर्फ हिँडेका २ हजार व्यक्ति पक्राउ

Spread the love

मेक्सिको सिटी : ग्वाटेमालाबाट सीमा पार गरी मेक्सिकोतर्फ प्रवेश गरेका २ हजारभन्दा बढी व्यक्तिलाई उद्धार गरिएको मेक्सिकोले जनाएको छ। नेशनल इन्स्टिच्यूट अफ माइग्रेसन (आईएनएम) का अधिकारीहरूका अनुसार पक्राउमा परेका व्यक्तिमा एक साताअगाडि होन्डुरस छाडेका व्यक्तिसहित अन्य ठाउँबाट देशभित्र प्रवेश गरेका धेरै व्यक्ति रहेका छन्। यी व्यक्ति मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने योजनामा थिए।

आईएनएमले करिब १ हजार ३ सय व्यक्तिलाई ताबास्को र ८ सयजनालाई चियापास क्षेत्रमा पक्राउ गरिएको जनाएको छ। मेक्सिकोका दुई दक्षिणी राज्यबाट सरकारी हवाई जहाज र बसमार्फत ४६० जना होन्डुरसका नागरिकलाई उनीहरूकै देश फिर्ता पठाइएको मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ।

ग्वाटेमालाको तेकुन उमान हुँदै क्याराभानमा संलग्न सयौं व्यक्तिले सोमवार बिहान सीमावर्ती सुसिएत नदी पार गर्ने प्रयास गरेका थिए। उनीहरूले मेक्सिकोका अधिकारीसमक्ष अमेरिका प्रवेशका लागि यात्रा अनुमतिको माग गरेका थिए।

मेक्सिकोका अधिकारीले जवाफ नदिएपछि उनीहरू जबरजस्ती नदी तर्न थालेका थिए। यो मौसममा नदीमा धेरै पानी छैन। उनीहरूले नदी पार गर्न लाग्दा मेक्सिकोको सेनाले एक्कासी उनीहरूमाथि तितरबितर बनाउन र फिर्ता गर्न अ श्रुग्याँस प्रहार गरेको थियो।

सेनाको कारबाहीका बाबजुद करिब ५ सय व्यक्ति अवैधानिक रूपमा मेक्सिको प्रवेश गर्न सफल भएका थिए। यद्यपि तीमध्ये करिब ४ सयलाई पछि पक्राउ गरिएको थियो। मध्य अमेरिकी राष्ट्रहरू एल साल्भाडोर, ग्वाटेमाला र होन्डुरसमा व्याप्त गरिबी र हिंसाका कारण भागेका हजारौं व्यक्ति सुरक्षित भविष्यको खोजीमा मेक्सिको पार गर्दै अमेरिकातिर लागेका हुन्।

मेक्सिकोको सेनाले निरुत्साहित गरेका कारण ग्वाटेमालाका व्यक्तिहरू स्वदेश फर्कन राजी भएका छन्। आप्रवासीको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै गत वर्ष निर्वाचित मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेस ओब्रादोरले प्रवासीहरू दक्षिणी मेक्सिकोमा रहन चाहेमा ४ हजारजनालाई रोजगारी दिने प्रस्ताव गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा कडाइ गर्न निरन्तर दबाब दिएपछि मेक्सिकोले आप्रवासीका सम्बन्धमा कडा कदम चाल्न थालेको हो। अमेरिकाले आफ्नो देशतर्फ अनधिकृत रूपमा प्रवेश गर्न चाहनेमाथि कडा कदम नचाले मेक्सिकोविरुद्ध व्यापार शुल्क बढाउने धम्की दिएको थियो। अमेरिकाको आग्रहमा राष्ट्रपति ओब्रादोरले देशको सिमानामा करिब २६ हजार सैनिक खटाएका छन् । – एएफपी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *