पार्थीव शरीर व्यवस्थापन : तामाङ समाजले हिसाबकिताब सार्वजनिक गर्‍यो, एनआरएन चुपचाप !

Spread the love

योगेन्द्रमिलन छन्त्याल, लिस्बन । पोर्तुगलमा ज्यान गुमाएका दुई दाजुभाइ ५१ वर्षीय कमलबहादुर वाइबा तामाङ र ३४ वर्षीय सुरज वाइबा तामाङको पार्थीव शरीर व्यवस्थापनका लागि सहयोग सङ्कलन अभियानको हिसाबकिताब सार्वजनिक गरिएको छ । तामाङ समाज पोर्तुगलले संस्थामार्फत सङ्कलन भएको रकमको हिसाबकिताब सार्वजनिक गरेको हो ।

समाजले पार्थीव शरीर व्यवस्थापनमा खर्च गरेपछि बचत हुन आएको रकम दुई परिवारलाई आधा आधा पठाउने जानकारी दिएको छ । अहिलेसम्म सार्वजनिक हिसाबकिताबमा १५ हजार ५६२ युरो १९ सेन्ट सङ्कलन भएको देखिन्छ । यद्यपि एनआरएनएबाट केही रकम सार्वजनिक नभएको हुनसक्ने अनुमान गरिएको छ ।

समाजले सार्वजनिक गरेको हिसाबकिताब अनुसार समाजमार्फत ११ हजार ३२३ युरो १९ सेन्ट सङ्कलन भएको छ । समाजको पहलमा चार हजार ४७१ युरो ३० सेन्ट, ब्रिल्यान्त हिमालय एशोसियशन (युरोप चौतारी) पोर्तुगलको पहलमा दुई हजार ५१० युरो, शेर्पा किदुक पोर्तुगलको पहलमा एक हजार ८१३ युरो २३ सेन्ट, नेपाली समाज पोर्तुगलमार्फत ६०४ युरो र जनप्रगतिशील मोर्चा पोर्तुगलमार्फत ५४५ युरो सहयोग सङ्कलन भएको छ ।

नर्वेबाट ४९३ युरो ६६ सेन्ट, किराँत राई सोसाइटी पोर्तुगलको पहलमा ४३० युरो, किराँत याक्थुङ चुम्लुङ पोर्तुगलमार्फत १८६, उत्पीडित जातिय समाज पोर्तुगलमार्फत १५०, आदिवासी जनजाति महासंघ पोर्तुगलको पहलमा १२० युरो गरी समाजलाई अन्य संघ संस्थामार्फत छ हजार ८५१ युरो ८९ सेन्ट प्राप्त हुन आएको उल्लेख छ ।

समाजमार्फत सङ्कलन भएको रकममध्ये गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगललाई शव व्यवस्थापनका लागि एक हजार ४४० युरो बुझाएको समाजकी कोषाध्यक्ष जानकी दोङ तामाङले जानकारी दिएकी छन् । उनका अनुसार समाजमा बचत हुन आएको ९ हजार ८८३ युरो १९ सेन्ट दुई परिवारलाई पठाइने छ ।

एनआरएनएले हिसाबकिताब सार्वजनिक गर्न सकेन

एनआरएनएले पार्थीव शरीर व्यवस्थापनका लागि सहयोग सङ्कलनको अभियान स्थगित गरेको ४ दिनसम्म हिसाबकिताब सार्वजनिक गर्न सकेको छैन । यसअघि जनवरी २० तारिख सोमबारका दिन एनआरएनए कार्यालयमा राखिएको बैठकमा पार्थीव शरीर व्यवस्थापनका लागि सङ्कलित रकमको हिसाबकिताबबारे छलफल हुँदा जनसम्पर्क समिति पोर्तुगलमार्फत ८१७ युरो, व्यवस्थापनको नेत्रित्व लिएको एनआरएनए पोर्तुगलमार्फत ४३६ युरो, एनआरएनए आइसीसी सदस्य रवीन अधिकारीको पहलमा ४१६ युरो, मगर समाज पोर्तुगलमार्फत ३१५ युरो र अर्का आइसीसी सदस्य नारायणकाजी मगरमार्फत ३०१ युरो सङ्कलन भएको थियो ।

एनआरएनएमा तमु समाज पोर्तुगलमार्फत २७० युरो, चितवन समाज पोर्तुगलमार्फत २६५, गुल्मी समाज पोर्तुगलमार्फत २५२ युरो र अवैतनिक वाणिज्यदूतावास लिस्बनबाट २०२ मात्र सहयोग गरेको एनआरएनएले जानकारी दिएको थियो ।

यसैगरी ठकुरी समाज पोर्तुगलमार्फत १९१, महिला समाज पोर्तुगलमार्फत १८५, तनहुँँ समाज पोर्तुगलमार्फत १२१, प्रवासी नेपाली एकता मञ्च पोर्तुगलमार्फत १२०, नारी समाज पोर्तुगलमार्फत ११२, नवलपुर समाज, पोर्तुगलमार्फत ११० र मदन भन्डारी स्पोर्टस् एकेडेमी पोर्तुगलमार्फत ७५ युरो र गणेश ज्ञवालीले ५१ युरो आर्थिक सहयोग सङ्कलन गरेर शव व्यवस्थापनका लागि सहयोग पुर्‍याइएको छ । तत्पश्चात संस्था वा व्यक्तिगत सहयोग प्राप्त भएको छ वा छैन एनआरएनए मौन छ ।

शव व्यवस्थापनमा पनि एनआरएनएको कोषबाट पैसा खर्च !

पोर्तुगलमा विगत १३ वर्षको इतिहासमा गैरे नेत्रित्वको एनआरएनए नेपाली समुदायबाट सबैभन्दा असहयोगको फन्दामा फसेको छ । विगतमा शव व्यवस्थापनका लागि सहयोग सङ्कलनबाटै आवश्यकताभन्दा धेरै रकम सङ्कलन हुने गरेका थिए । गैरेले चुनावताका विश्वकै नमूना एनआरएनए बनाउने हाँस्यास्पद भाषण गर्दा पोर्तुगलको एनआरएनए यत्तिको दलदलमा फस्ने अनुमान कसैले पनि गरेका थिएनन् । गैरेको कार्यकाल शुरु हुँदै गर्दा शव व्यवस्थापनका लागिसमेत मौजुद कोषबाट पैसा खर्चिइएको छ । डिसेम्बर महिनामा शव व्यवस्थापनकै लागि ७०० युरो खर्च गरिएको कुरा एनआरएनए स्रोतले नमस्ते नेपालीलाई जानकारी दिएको छ ।

तामाङ दाजुभाइको शव व्यवस्थापनमा पनि नेपाली समुदायले एनआरएनएलाई रकम उपलब्ध गराउन नपत्याएपछि सम्भवत केही रकम अपुग भएको हुनुपर्छ । शव नेपाल पुगेर अन्तिम दाह संस्कार गरिसकिएको छ । तर एनआरएनएले चार-चार दिनसम्म हिसाबकिताब पनि सार्वजनिक गर्न सकेको छैन ।

पारदर्शी किन बन्दैन एनआरएनए पोर्तुगल ?

एनआरएनए पोर्तुगलको कोषमा कति रकम बचत छ भन्ने कुरा कार्यसमितिलाई नै थाहा छैन । सबै हिसाबकिताब पारदर्शी देखाउन अझै कत्ति समय लाग्ने हो, पाँच महिना पूरा हुँदासम्म समिति कुहिरोको कागजस्तै अनिर्णयको बन्दी बनेको छ । एनआरएनएमा कार्यसमितिको वास्ता हुँदैन अध्यक्षकै मनोमानी चल्छ एक पदाधिकारीले नमस्ते नेपालीलाई भने । गैरेले एनआरएनएको बैठकमै आफ्नाविरुद्ध आएका समाचार र सामाजिक सञ्जालका पोष्टहरुमा लाइक, कमेन्ट र शेयर नगर्न उर्दी जारी गरेका छन् । यसो गरेमा संस्थाबाट निकाल्ने चेतावनी पनि दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *