पोर्तुगलमा नक्कली कागजात र छाप प्रयोग गर्नेहरुलाई कार्बाहीका लागि सिफारिस

Spread the love

योगेन्द्रमिलन छन्त्याल, १३ नोभेम्बर, लिस्बन । पोर्तुगलमा परराष्ट्र मन्त्रालय कन्सुलर सेवा शाखाको नक्कली कागजात र नक्कली छाप प्रयोग गर्नेहरु कार्बाहीमा पर्ने भएका छन् । लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले पछिल्लो समय यस्ता काममा संलग्न आशङ्का लागेकाहरुलाई आवश्यक छानबीन र कारबाही गर्न पेरिस राजदूतावास र परराष्ट्र मन्त्रालयमा अनुरोध गरी पठाइएको बताएका छन् ।

मङ्गलबार म्याग्नेटिक रेष्टुरेन्ट साल्दानियामा भएको सर्वपक्षीय छलफलमा नक्कली कागजात तथा नक्कली छाप काण्ड र सडकमै वास बस्ने नेपालीहरुका विषयमा छलफल भएको छ । छलफलमा सहभागी प्रवासी नेपाली एकता मञ्चका नारायण सुवेदीले फर्जी काम गर्नेहरुलाई निरुत्साहित गर्न सबैले सहयोग आदानप्रदान गर्ने निर्णय भएको जानकारी दिए ।

अर्का सहभागी नेपाली जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष बिनोद घिमिरेले सडकमा वास बस्ने नेपालीहरु नेपाल फर्कन चाहे वा सम्भव भए सबै संघ संस्थाको पहलमा नेपाल पठाउने पहल गरिने बताए । ‘नेपालीहरु सडकमा वास बस्नु नेपाली समुदायकै लागि दु:खको विषय हो’, घिमिरेले दुखेसो पोखे ।

यो पनि पढ्नुहोस् : पोर्तुगलमा परराष्ट्रको नक्कली छाप प्रयोग गर्ने को हुन् ? अवैतनिक वाणिज्यदूतावासले किन कारबाही गर्दैन उनीहरुलाई ?

‘नेपालका कागजातहरु पोर्तुगीसमा उल्था र प्रमाणित गर्न दर्ता गरिसकेपछि तीन दिनमै उपलब्ध गराउने गरिएको छ । परराष्ट्रको कागजात र छाप नै नक्कली बनाउने गरेको समाचार बाहिरिएपछि सबै कागजातलाई सक्दो अध्ययन गर्नुपर्ने आवश्यकता देखिन्छ ।’ अवैतनिक वाणिज्यदूत हमालले प्रस्ताव गरे, ‘यो समय बढाएर १५ दिनसम्म पुर्‍याएमा वाणिज्यदूतावासलाई सजिलो हुने छ ।’

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलका सचिव यामेन्द्र घर्ती मगरले केही व्यक्तिको गल्तीका कारण पोर्तुगलमा रहेका बीसौं हजार नेपालीलाई समस्या पर्ने भएकाले यस्ता अवैध कार्य नगर्न र संलग्नहरुलाई कानूनी दायरामा लिनका लागि सहयोग गर्न सबैसँग अनुरोध गरेका छन् ।

छलफलबाट हाललाई वाणिज्यदूतावासको सेवा अवधि यथावत राखिने भएको छ । गल्ती गरेको आशङ्का गरिएकालाई सचेत गराउदै कानुनी दायरामा ल्याउन पहल गरिने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *