एनआरएनएमा कार्यसमितिको वास्ता छैन, अध्यक्षकै मनोमानी : आलोचनाले गर्दा गैरे टेन्शनमा

Spread the love

योगेन्द्रमिलन छन्त्याल, लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलले १० जना सल्लाहकार चयन गर्ने निर्णय गरेको छ । परिषदले दुईजना मनोनित सदस्यको पनि टुङ्गो लगाइसकेको छ ।

तर एनआरएनए यत्ति अपारदर्शी बन्दैछ कि आफैले गरेका निर्णय पनि सार्वजनिक गर्न सकेको छैन । परिषदले यसअघि अध्यक्ष र अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य बनिसकेकाहरुलाई स्वत: सल्लाहकार बनाउने निर्णय गरेको छ । यसो गरिएमा मकरबहादुर हमाल, रमेश गुरुङ, लक्ष्मी सापकोटा, पूर्णबहादुर हमाल, नरेन्द्रबहादुर हमाल, भीम केसी, पेम्बा शेर्पा, कुबेर कार्की र सूर्यबहादुर हमाल गरी नौजनाको सल्लाहकार बन्ने किनारा लागेको छ ।

अध्यक्ष र आइसीसीको मात्र मापदण्ड बनाउदा शेर्पाबाहेक सबै काँग्रेस र ब्राह्मण क्षेत्री वर्गका परेपछि अध्यक्ष गैरे हच्किएका छन् । एक पदाधिकारीको सल्लाह बमोजिम पूर्व संरक्षक रोबोट लिम्बुलाई पनि सल्लाहकारमा राखिने भएको छ । एनआरएनएनिकट स्रोतका अनुसार गैरेले यसो गरेमा आदिवासी जनजाति र कम्युनिष्ट समर्थकहरु पनि चुप लाग्ने अनुमान गरेका छन् ।

मनोनयनमा परेका दुई सदस्यमा विशाल आचार्य र एकजना जीसी थरका व्यक्ति परेका छन् । आचार्य काँग्रेस समर्थक परेपछि जीसीलाई एक कम्युनिष्टनिकट अगुवाले मनोनयनका लागि गैरेलाई दवाब दिएका थिए । नेपाली समुदायमा खासै परिचित नभएका जीसी कम्युनिष्ट समर्थक व्यक्ति हुन् । स्रोतका अनुसार कम्युनिष्ट समर्थकहरुलाई रिझाउन अमृत रिजाल र राजकुमार थापालाई पनि सदस्यमा मनोनयन गर्ने छलफल चलेको छ ।

गैरेले कानूनी सल्लाहकारमा पोर्तुगीस अधिवक्ता डा. नुनु कोरेइयाका सहयोगी राजन खनाललाई मनोनयन गर्ने योजना बनाएको छ । काँग्रेसनिकट खनाल सामाजिक रुपमा विवादित व्यक्ति हुन् ।

परिषदका यी निर्णयहरुबारे कैयन पदाधिकारी र सदस्यहरुलाई जानकारी नै छैन । प्रस्ताव पनि सीमित व्यक्तिबाट मात्र आउने गरेको गुनासो छचल्किएको छ । एक सदस्यले भने, ‘व्यक्तिगत सम्बन्धको आधारमा सदस्य मनोनयन गरिएको छ ।’

यो भन्दा अगाडि अध्यक्ष तिलक गैरेले सल्लाहकार र प्रवक्तामा पत्रकारै पत्रकार ल्याउने तयारी गरेका थिए । तर नमस्ते नेपालीमा यससम्बन्धी समाचार प्रकाशन भएपछि उनको यो कदम स्थगित भएको छ ।

गैरेले सल्लाहकारको लामो सूचीमा प्रेस सल्लाहकार भन्दै राजकुमार थापा, बासु सत्याल र नारायण अर्यालको नाम समेटेका थिए । प्रवक्तामा यादव देवकोटालाई ल्याउने प्रस्ताव गरेका थिए ।

केही समय पहिले पत्रकारविरुद्ध विज्ञप्ति जारी गर्दै समाचारलाई नै ‘कथा’ संज्ञा दिएर गैरेले समाचार लेख्न सिकाएका थिए । पोर्तुगलमा कृयाशील पत्रकारहरु र नेपाल पत्रकार महासंघ युरोप शाखाले गैरे प्रव्रितिको भ्रर्त्सना गरेका थिए । पत्रकारहरु र शाखाको विज्ञप्तिले गैरे तनावमा परेका थिए । गैरेलाई त्यसको ह्याङले अझै टेन्शनमा छन् । उनले सहज वातावरण बनाइदिन दर्जनौलाई हारगुहार गरेका छन् ।

अर्कोतिर अध्यक्ष गैरेले एनआरएनएको बैठकमै आफ्नाविरुद्ध आएका समाचार र सामाजिक सञ्जालका पोष्टहरुमा लाइक, कमेन्ट र शेयर नगर्न उर्दी जारी गरेका छन् । यसो गरेमा संस्थाबाट निकाल्ने चेतावनी पनि दिएका छन् ।

डिसेम्बर ३ तारिख मङ्गलबारका दिन एनआरएनएलगायतका संस्थाहरुको आयोजनामा भारतीय दूतावासअगाडि प्रदर्शन गरिएको थियो । सीमा अतिक्रमण र भारतीय हस्तक्षेपविरुद्धको प्रदर्शनको क्रममा कार्यक्रममा देखाइएका चारमध्ये एउटा नेपाली झन्डा माथिको तल पारेर (उल्टो) प्रदर्शन गरिएको थियो । यसको व्यापक आलोचना भएको थियो ।

समाजवादी पार्टी नेपालनिकट नेपाली समाज पोर्तुगलले एक विज्ञप्तिमार्फत गैरेलाई तुरुन्त माफी माग्न चेतावनी दिएको थियो । गैरेले वेवास्ता गरे समाज कानूनी उपचारमा जाने विज्ञप्तिमा उल्लेख थियो । गैरेले भने यो विषयमा पनि आँखा चिम्लेका छन् ।

यसैगरी स्वर्गीय नवीनकुमार पाठकको अन्तिम श्रद्धाञ्जली कार्यक्रममै सहयोग रकम सङ्कलन गरेको र कार्यक्रम सञ्चालनमा प्रयोग गर्ने शब्द चयनमा हेक्का पुर्‍याउन नसकेको भन्दै सामाजिक सञ्जालमा गैरेको चर्को आलोचना भएको छ । यसरी हरेक पाइलामा गल्ती कमजोरी दोहोर्‍याउदै तेहर्‍याउदै आएका गैरेको सञ्चारमाध्यममा पनि समाचार आइरहेका छन् ।

गैरेले नेत्रित्व सम्हालेको झन्डै ५ महिना पुग्न लागेको छ । कार्यसमितिले समुदायले चासो रहनेगरी कुनै पनि निर्णय गर्न सकेको छैन । समितिले कुनै कार्ययोजना पनि सार्वजनिक गरेको छैन ।

अघिल्लो कार्यसमितिबाट प्राप्त कोष र आय व्यय विवरणबारे कार्यसमितिकै पदाधिकारीहरु पनि अनविज्ञ छन् । नमूना एनआरएनए बनाउने गैरेको प्रतिवद्धतालाई उनकै व्यवहारले खिसिटिउरी गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *