लागूऔषध नखान भन्दा पत्रकार मार्ने दुईजनालाई ३९ वर्षको जेल सजाय

Spread the love

मकवानपुर : पत्रकार मनोहर ढकालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत मकवानपुरले दोषी ठहर गर्दै ३९ वर्षको कैद सजाय सुनाएको छ । पत्रकार ढकालको हत्यामा संलग्न हेटौँडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौँडा १२ का १९ वर्षीय प्रविण वाइबालाई ३९ वर्षको कैद सजाय सुनाएको जिल्ला अदालत मकवानपुरले जनाइएको छ । उनीहरुलाई जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको आजको इजलासले दोषी ठहर गरेको हो ।

एक वर्ष अघि विसं २०७५ पुस २५ गते साँझ हेटौँडा–१ को भैरवडाँडा नजिक गम्भीर घाइते अवस्थामा फेला परेका पत्रकार ढकालको उपचारका लागि हेटौँडा अस्पताल पु¥याएको केही बेरमा अस्पतालले मृत घोषित गरेको थियो । शुरुमा मोटरसाइकल दुर्घटनामा ढकालको मृत्युभएको भनिएको भए पनि घटनास्थलको प्रकृति र मोटरसाइकलको अवस्था आदिका कारण प्रहरीले घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गरेको थियो ।

पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरका सङ्घसंस्थाले घटना सामान्य दुर्घटना नभई गम्भीर हत्या भएको भन्दै हत्यामा संलग्नलाई तुरुन्त पक्राउ गरी कडाभन्दा कडा कारवाहीको माग गरी रहेको अवस्थामा सात दिनपछि प्रहरीले हत्यामा संलग्न भन्दै दुई जना र घटनापछि हराएको मृतक ढकालको औँठी र मोबाइल फोन खरिद गर्ने दुई जना गरी चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

पत्रकार सम्मेलनमा हत्यामा संलग्न भनिएका दुवै जनाले पत्रकार ढकालले आफूहरुलाई लागुऔषध नखान भनेकाले रिस उठेको र हातको औँठी देख्दा लोभ लागेर मोटरसाइकलबाट धकेलेर ढुङ्गामा लडाएको र ढुङ्गाले हानेर औँठी, मोबाइल फोन र झोला लिएर भागेको बताएका थिए । अदालतले उनीहरुलाई हत्या अभियोगमा जन्मकैद र डकैतीमा १४ वर्ष गरी कूल ३९ वर्ष कैद फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार केशवराज कैसिकले जानकारी दिए । रासस

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *