भिसा सकिएपछि पनि विदेशीहरु किन नेपालमा बस्छन् ?

Spread the love

काठमाडौं : विदेशी नागरिकका गतिविधिमाथि अनुगमन नहुँदा सन् २०१९ मा सबै भन्दा धेरै चिनियाँ नागरिक नेपालमा अवैध रूपमा बसेको खुलेको छ। सोही वर्ष भिसा म्याद सकाएर नेपालमा अवैध रूपमा बस्नेमा अमेरिकी नागरिकको संख्या चिनियाँपछि दोस्रो रह्यो। गत वर्ष ४ सय १५ चिनियाँ नागरिकहरू अवैध रूपमा नेपाल बसेको पाइयो। २३ जना अमेरिकी नागरिक पनि ओभर स्टे रहे।

अमेरिकावाहेकका विदेशी नागरिक एक भिसा वर्षमा १ सय ५० दिन भन्दा बढी नेपालमा बस्न पाउँदैनन्। नेपाल र अमेरिकाबीच भिसामा पारस्पारिकता कायम भएपछि अमेरिकी नागरिकहरू एक भिसा वर्षमा १ सय ८० दिन नेपाल बस्न पाउँछन्।

पर्यटक भिसामा आएका ५ सय ७८ विदेशी नागरिक भिसाको म्याद कटेपछि अवैध र शंकास्पद रूपमा नेपालका विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए। उनीहरू सबै एक भिसा वर्षमा १ सय ५० दिन बढी नेपाल बसेको खुलेको छ।

अध्यागमन विभागको पछिल्लो तथ्यांकअनुसार अंग्रेजी वर्ष २०१९ जनवरी १ देखि २०१९ डिसेम्बर ३१ सम्ममा ५ सय ७८ जना विदेशी ओभर स्टे (प्रवेशाज्ञा बिना) भएका छन्। बिना भिसा नेपाल बसेका विदेशी डिसेम्बर अन्त्यमा आफ्नो मुलुक फर्कन अध्यागमन विभागको सम्पर्कमा आएका थिए। अध्यागमनको सम्पर्कमा नपुगेका ओभर स्टे धेरै विदेशी शंकास्पद गतिविधिमा संलग्न भएको हुनसक्ने आशंका गरिएको छ।

भिसा म्याद सकिएपछि पनि किन विदेशीहरू नेपालमै बसिरहेका छन् भन्ने अनुसन्धानको विषय हो। विकसित मुलुकमा जस्तो न नेपालमा काम पाउन्छ न बढी तबल नै। आखिर भिसा म्याद सकिएपछि पनि किन विदेशी लुकिछिपी नेपालमा बस्न चाहन्छन्।

गृह मन्त्रालयले भिसा बिना बसेका विदेशीका गतिविधि तत्काल अनुसन्धान गर्नुपर्ने देखिन्छ। गृहले डिसेम्बर अन्त्यसम्ममा भिसा म्याद सकाएर शंकास्पद ढंगले बसेका ५ सय ७८ विदेशीलाई निष्काशन गरेको छ।

अध्यागमन विभागको तथ्यांकअनुसार, सन् २०१९ भित्रमा १९ जना दक्षिण कोरियाली, १५ जना बेलायती, श्रीलंका/फिलिपिन्स र पाकिस्तानका ८/८ जना, उज्वेकिस्तान, यमन, मलेसियाका ५/५ जना, भियतनाम, रसिया, जापान, अष्ट्रेलियाका ४/४ जना, स्वीजरल्याण्ड, लेबनन, आइभरी कोस्ट, फ्रान्स, क्यानडा र बंगलादेशका ३/३ जना नागरिक ओभर स्टे थिए।

गृहले शंकास्पद ढंगले बसेका ती सबै विदेशी नागरिकलाई निष्काशन गरेको छ। त्यस्तै स्वीडेन, नर्वे, इजरायल, घाना, जर्मनी र ब्राजिलका २/२ नागरिक निष्काशित भइसकेका छन्।

गृह मन्त्रालयले पोल्याण्ड, प्यालेस्टाइन, नाइजेरिया, नेदरल्याण्ड, म्यान्मा, माली, केन्या, जोर्डन, इटाली, आयरल्याण्ड, हङकङ, जर्जिया, फिनल्याण्ड, डेनमार्क, क्यामरुन युक्रेन, टर्की, ताइवान, दक्षिण अफ्रिका, सिंगापुर, र बेल्जीयमका १/१ जना नागरिकलाई अवैध रुपमा बसेको भन्दै निष्काशन गरिसकेको छ।

गृहले विदेशी नागरिक अनुगमन निर्देशिका प्रभावकारी रूपले कार्यान्वयन नगर्दा संदिग्घ विदेशीको चलखेल बढेको छ। निष्काशित विदेशी नेपालमा रहँदा के कस्ता गतिविधिमा संलग्न थिए भन्ने केही खुलेको छैन। पुस ७ गते अध्यागमन विभागले गरेको विशेष अप्रेसनमा शंकास्पद ढंगले बसेका १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परे।

चीनको पब्लिक सेक्युरिटिज मन्त्रालय र अध्यागमन विभागले अवैध चिनियाँलाई पक्राउ गर्न बनाएको रणनीति बमोजिम प्रहरीले १ सय २२ शंकास्पद चिनियाँलाई पक्राउ गरेको हो। गृहले उनीहरूलाई ४ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ पुस २३ मा निष्काशन गरिसकेको छ। शम्भु कट्टेलले अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *